मोबाइलकाे लत: बालबालिका कमजोर र उदासीन बनाउने कारक

मोबाइलकाे लत: बालबालिका कमजोर र उदासीन बनाउने कारक

निर्जला कक्षपति  |  दृष्टिकोण  |  पुष ८, २०७६

बालबालिकाको जाडो छुट्टीको सुरुवात भइसकेको अवस्था छ । छुट्टीसँगै बच्चाको हैरानी खेप्नुपर्ने भएका कारण आमाबाबुको समेत टाउको दुखाइ सुरु भइसकेको छ ।

एक महिना लामो मीनपचासको छुट्टीलाई कसरी सदुपयोग गराउने भन्ने कुरामा बाबुआमा चिन्तित  हुनु पनि स्वाभाविक हो । हिजोआजका बच्चा, टोल, आँगनमा साथीभाइहरू जम्मा भएर खेल खेल्ने गरेको पाइँदैन । यसो हुनुमा शहरी क्षेत्रमा खेल्ने ठाउँको अभाव प्रमुख जिम्मेवार त छँदै छ, कतिपय अभिभावकहरूले बच्चालाई घरबाहिर खेल्न पठाउँदा असुरक्षा महसुस गरेर पनि नपठाउने गरिएको छ ।

त्यसैले हिजोआजका बच्चा मोवाइल, टेलिभिजन र ल्यापटप २४सै घण्टा झुण्डिएर बस्ने लत, रहर वा बाध्यताले दिन बिताउने गरेका छन् ।  

पहिले पहिले महिना दिन हुने यो मीनपचासको छुट्टीको बेग्लै महत्त्व र केटाकेटीहरूका लागि पनि निकै रमाइलो मानिन्थ्यो । चिसो मौसम भए पनि टोलटोलमा गोटी खेलिन्थ्यो, रबरको झुप्पोको चुङ्गी खेलिन्थ्यो । खल्तीभरी भुटेको मकै हालेर खेल्दै गर्दाको मज्जा बेग्लै हुन्थ्यो अनि महिना दिनभरलाई पुग्ने गरी दिइएको गृहकार््य सक्न हामीलाई हम्मेहम्मे पर्थ्यो । तर धेरै विद्यार्थीले गृहकार््य सकेरै विद्यालय जाने गर्थे ।

हिजोआजका बच्चा न खेल्न बाहिर जान्छन्, न त बाबुआमाले भनेको नै मान्छन् । २४सै घण्टा मोवाइलमा झुण्डिन पाए न भोक, न तिर्खा ! घोप्टो परेर मोवाइल हेरेको हेरेकै । मोरवाइलको ब्याट्री सकिएपछि टेलिभिजन । टेलिभिजन हेर्न मन नलागेपछि ल्यापटप । एकपछि अर्को गर्दै वैकल्पिक साधनहरूमा  आजकलका बच्चाहरूको दिनचर्या बित्ने गरेको छ । 
कामकाजी अभिभावकहरूले आफ्ना बच्चालाई समय दिन नसकेका कारण बच्चाको व्यवहार थाहा नहुन पनि सक्छ । बच्चाले मोवाइल हेरेर बसिदिएपछि सहयोगीहरूलाई सजिलो हुने भएका कारण बच्चाले गर्ने गरेको व्यवहार कतिपय सहयोगीहरूले सेयर गर्दैनन् । कतिपयको भने दुवै कामकाजी भएका कारण बच्चालाई अफिसमा डोहोर्‍याउँदै लानुको विकल्प हुँदैन । अफिसमा पनि बच्चा चल्ला, यता जाला, उता जाला भनेर हातमा मोबाइल थमाइदिनुबाहेक अभिभावक त्यसमा पनि आमासँग विकल्प हुँदैन ।

छुटीको समयमा काम गर्न सिक्नु पनि राम्रो कुरा हो । अहिले बच्चा सिन्को भाँच्न मन गदैनन् । घरको कामलाई त यसरी हेला गरिएको छ कि यो काम गरेर हुनेवाला केही छैन भन्नेमा अहिलेका बच्चाहरू छन् । हामीले काम जान्यौँ भने हाम्रो जीवनयापन सजिलो बन्छ, कोही नहुँदा पनि हामी आफू भोको रहनुपर्दैन भन्ने सम्झाउन सकिरहेका छैनौँँ ।

सँगसँगै बच्चा डोहोर्‍याएर कार्यालय पुग्दा साहुले केही भन्ने हो कि, साथीभाइले केही भन्लान् कि भन्ने डर पनि उत्तिकै हुने गर्छ ।
के हामीसँग बच्चालाई यो मीनपचासको छुट्टीको सदुपयोग गराउने उपाय नै नभएका हुन् त ? उपाय छन् तर बच्चाको ध्यान केही सिक्नमा र कहीँ जानमा भन्दा मोवाइल चलाउनमा नै हुने गरेको छ ।

मोवाइलले बच्चाको ध्यान किन यसरी तानिरहेको छ त ? कोही अभिभावक भन्ने गर्छन्- एक महिना त हो नि, हेरोस् मोवाइल । हेरोस् टेलिभिजन । तर, यही हेरोस् भन्ने भनाइले बालबालिकाको सोच्न सक्ने क्षमतालाई विस्तारै क्षति पुर्‍याउँदै छ भन्ने कुरा अभिभावकले बुझ्न ढिलो भइसकेको अवस्था छ । अध्ययनले के देखाएको छ भने धेरै घण्टा मोवाइल हेरेर बस्ने बालबालिकाको पढाइमा अवरोध पुर्‍याउने गर्छ । पढ्ने बेलामा मोबाइलमा हेरिएका कुराहरूको नै धेरै याद आउने हुँदा धेरै समय मोवाइल, टेलिभिजन हेर्ने बालबालिकाले पढाइमा ध्यान केन्द्रित गर्न सक्दैनन् ।

यसैगरी डब्लुएचओका अनुसार धेरै समय मोवाइल हेर्ने बालबालिकामा मोवाइलबाट उत्पन्न हुने रेडिएसनका कारण शरीरमा समेत गम्भीर प्रकृतिका रोगहरू देखिन सक्छन् । यति मात्र होइन, धेरै समय मोबाइल हेर्ने बालबालिकाहरू आफ्ना परिवार, साथीभाइ र समाजबाटै टाढिन्छन् । परिवारभित्र के भइरहेको छ, कसलाई के समस्या परेको छ भन्ने कुरा मोबाइलमा झुण्डिने बालबालिकालाई केही थाहा हुँदैन । अरू बेला एक्लै घर बस्न डर मान्ने बच्चाहरू ३-४ घण्टासम्म एक्लै मोवाइल हेरेर बस्ने गर्छन् ।

अभिभावकले कतिवटा कुरा भनिसकेको हुन्छ, बच्चाले केही थाहा पाइरहेका हुँदैनन् । कतिपय बालबालिकालाई मोवाइल हेरेको बेला खाजा खान दियो भने खाजा खान दिएको छ भन्नेसमेत थाहा पाउँदैनन् । मोबाइलले यसरी हाम्रा बालबालिकालाई बिगारिसकेको छ कि पछि बानी सुधार्नै गाह्ररो पर्ने हो कि भन्ने डर पनि उत्तिकै छ ।

कति अभिभावकको मोवाइल फोन त आफूसँग नै रहँदैन । आफ्ना बच्चाले नै मोबाइल जतिबेला पनि लिने भएका कारण मोवाइलविहीन हुनुपरेको गुनासो अभिभावकको हुन्छ । केटाकेटीसँग जित्न नसकिने र बच्चाको मन दुखाउन नसकेका कारण धेरै अभिभावकहरूले लौ त जे त गर भनेर छाडिदिने पनि गरेका छन् ।

यो मीनपचासको छुट्टीको सदुपयोग गर्ने उपाय नभएको भन्ने होइन । पहिलेभन्दा अवसरहरू र केही सिकौँ भन्यो भने आफूलाई मन लागेको कुरा सिक्ने ठाउँहरू पनि प्रशस्त छन् । तर, सबभन्दा ठूलो कुरा भनेको इच्छाशक्ति हुनुपर्छ । बच्चामा सिक्ने चाहना नै छैन भने अभिभावक कराएर मात्र के गर्नु र ? अहिलेको बच्चामा सिक्ने चाहना भनेको सबै मोवाइलले नै सखाप पारिदिएको छ ।

केही सिक्ने मन पनि नगर्नु अनि कहीँ जान पनि बच्चाले मन नगरेपछि कसको के लाग्छ र ? अभिभावकलाई भने यस्तो अवस्थामा निकै समस्या पर्ने गर्छ । बच्चालाई एक्लै छाडेर कहीँ जान पनि भएन अनि दिनभर बच्चासँग कराएर बस्ने  शिवाय अर्को काम हुँदैन । 

अर्को कुरा भनेको यो मीनपचासको जाडोमा बच्चाले दोहोर्‍याई तेहेर्‍याई पढोस् भन्ने उद्देश्यले धेरै गृृृृृहकार्य दिने चलन हुन्थ्यो । अहिले भने बच्चालाई भारी हुन्छ भनेर पनि धेरै नदिने चलन छ । यसै त पढ्न मन नगर्ने अनि २४सै घण्टा मोवाइलमा झुण्डिन पाए हुने थियो भन्ने बच्चाहरूका लागि गृहकार्य नै नभएपछि टण्टै साप । छुट्टीमा जाँचका लागि तयारी गर्नुपर्छ भन्ने त हुने नै भएन ।

छुटीको समयमा काम गर्न सिक्नु पनि राम्रो कुरा हो । अहिले बच्चा सिन्को भाँच्न मन गदैनन् । घरको कामलाई त यसरी हेला गरिएको छ कि यो काम गरेर हुनेवाला केही छैन भन्नेमा अहिलेका बच्चाहरू छन् । हामीले काम जान्यौँ भने हाम्रो जीवनयापन सजिलो बन्छ, कोही नहुँदा पनि हामी आफू भोको रहनुपर्दैन भन्ने सम्झाउन सकिरहेका छैनौँँ ।

खाउन्जेल पनि मोवाइल हेर्न हतार, कहीँ कतै गयो, फर्केर मोवाइल नै हेर्न हतार, घरमा चोर आएर सबै उठाएर लगे पनि मतलब छैन । मोवाइल हेर्न पाएन भने बालबालिबालाई छट्पटी सुरु हुन्छ  

यसरी मोवाइलमा आश्रित हुने हाम्रा बालबालिकाहरूको भविष्य के हुने होला ? मोवाइलको लत कसरी छुटाउने भनेर अभिभावक गम्भीर हुन ढिला भएन र ?