पीपीएल: काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन फाईनलमा

पीपीएल: काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन फाईनलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ८, २०७६

काठमाडौं ।  पोखरामा जारी पीपीएलमा चितवन राइनोज फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन उपाधि भिडन्तमा पुगेको हो । चितवन लिग चरणका खेलमा पाँच खेलमा १० अंक जोडदै फाइनल प्रवेश गरेको हो ।

पराजित काठमाडौंको प्लेअफ पुग्ने सम्भावना भने जिवित नै छ । काठमाडौंले अब लिग चरण अन्तर्गत बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स बीच हुने अन्तिम खेलको नतिजा कुर्नुपर्ने छ। उक्त खेलमा विराटनगर पराजित भएमा वा विराटनगरले ठूलो रनरेटमा बुटवललाई पराजित गर्न नसकेमा काठमाडौं प्लेअफमा पुग्नेछ। 
चितवन फाइनल प्रवेश गरिसक्दा दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नेछ। इलिमिनेटरमा बुटवलसँग कसले खेल्ने हो त्यसको टु्ङ्गो भने बुधबारको खेलपछि मात्रै लाग्नेछ। तर विराटनगरको भन्दा काठमाडौंको रनरेट राम्रो रहेकोले काठमाडौंको सम्भावना नै बलियो देखिन्छ।

मंगलबार सम्पन्न खेलमा टस हार्दै पहिले ब्याटिङ गरेको चितवनले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७ रन मात्र जोड्न सक्यो। काठमाडौंका कप्तान ज्ञानेन्द्रले मल्लले ४० रन बनाएपनि काठमाडौंले जित्न सकेन । १८ रन जोड्दा तीन विकेट गुमाइसकेको काठमाडौंलाई मल्लले सम्हाल्ने प्रयास गरेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा काठमाडौं पराजित हुन पुग्यो । काठमाडौंका पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन र अन्यले भने दोहोरो अंकसमेत जोड्न सकेनन् । चितवनका सन्नी पटेलले तीन तथा रोहन मुस्तफाले दुई विकेट लिन सफल भएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६७ रन बनायो। चितवनका लागि बाबर हयात र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले। बाबरले ७० तथा रोहनले अविजित ५९ रन बनाए। यस्तै आरिफ शेख र सन्नी पटेलले १५र१५ रन बनाए। काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले १र१ विकेट लिए।