१ सय ५ जनाको दाँत फुकालियो, ९५८ निःशुल्क स्वास्थ्य परीक्षण

१ सय ५ जनाको दाँत फुकालियो, ९५८ निःशुल्क स्वास्थ्य परीक्षण

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष ८, २०७६

 काठमाडौँ  । काठमाडौँ स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, पी. एन. पन्त फाउन्डेसन नेपाल तथा तराईमा कार्यरत  गैरसरकारी संस्था आसमानको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको औरहि नैनीगौरी गाउँमा  भएको निःशुल्क डेण्टल एवं साधारण स्वास्थ्य परीक्षणको शिविर २०७६ पौष ४ र ५ गते सम्पन्न गरेको  काठमाडौँ मेडिकल कलेजले जानकारी दिएको छ ।   

दुई दिनसम्म सञ्चालित उक्त शिविरमा ९५८ जनाको  निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गरिएको कलेजकी कार्यकारी प्रमुख तथा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. चन्दा कार्कीले जानकारी दिनु भएको  छ । 

प्रा.डा.कार्कीका अनुसार १सय ५ जनाको दाँतमा समस्या भएको बिरामीको दाँत निकाल्ने सेवा प्रदान गरिएको थियो भने ७७ जना बालबालिकाको उपचार भएको थियो । त्यसै गरी ७० जना स्त्रीरोग, १सय ५ जना नाक, कान  र घाँटीका बिरामीको परीक्षण गरिएको थियो । 

स्वास्थ्य शिविरमा ६ सय जनाको सामान्य चिकित्सा अन्तर्गत परीक्षण गरिएको थियो भने ५० जनाको इसजी  र २ सय जनालाई प्याथोलोजी सेवा उपलब्ध गराइएको थियो । प्रा.डा.कार्कीले दिएको जानकारी अनुसार ९सय जनाभन्दा बढी बिरामीहरूलाई निःशुल्क औषधी उपलब्ध समेत गराइएको थियो ।    

उक्त शिविरमा प्रा.डा. कार्की  लगायत काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत १२ जना विशेषज्ञ चिकित्सकहरू सहित २० जना चिकित्सकहरू तथा वरिष्ठ नर्सहरूको टोली सहभागिता रहेको छ ।