कुम्लो बोकी ठिमीतिर लागिरहेका हामी

कुम्लो बोकी ठिमीतिर लागिरहेका हामी

अनुरोध शर्मा  |  दृष्टिकोण  |  पुष ९, २०७६

नेपालीमा प्रचलित उखान छ, ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ।’

यो उखान साँच्चै उपयुक्त छ हाम्रो सन्र्भमा । हामी यस्ता भइसकेका छौँ कि हामीलाई हाम्रो मूल काम र दायित्व के हो, हाम्रो खास जिम्मेवारी के हो, हामीले के गर्नुपथ्र्यो, के गर्दै छौँ भन्नेसमेत थाहा छैन ।

वास्तवमा हामी आजका मितिमा अर्काको अनावश्यक चियोचर्चो, बद्खवाइँ, अपमान आदि गरेर अमूल्य समय बिताइरहेका छौँ । कामका नाममा सिन्को भाँच्न जाँगर छैन तर चिया पसल वा रक्सी भट्टीमा बसेर घण्टौँ अर्काको कुरा काट्न भने उल्कै जाँगर लाग्छ हामीलाई ।

अहिले देश लामो समयसम्मको हिंसा, द्वन्द्व र अस्थिरताबाट तङ्ग्रिने प्रयासम छ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम पूरा भएकै छैन । हिजोका हिंसा र द्वन्द्वपीडितले अझैसम्म राहत पाएका छैनन्, न्याय पाएका छैनन् ।

द्वन्द्वका क्रममा ध्वस्त बनाइएका देशका भौतिक संरचनाको पुनर्निर्माण त छँदै छ, विनाशकारी भूकम्पले निम्त्याएको विनाशबाट त्राण दिने काम पनि बाँकी नै छ ।

अर्कातर्फ राजनीतिक स्थिरताका लागि एउटा आधार दुई तिहाई बहुमतको सरकार बनेको त छ तर आपसी खिचातानीक कारण गठन, पुनर्गठन, साना दलको बाहिरिने र भित्रिने क्रम पनि उस्तै छ । बिरामी प्रधानमन्त्री आफ्नै मन्त्रिपरिषद् र सल्लाहकारबाट पटक पटक आजित भइरहनुपरेको छ ।

उता, देश विकासका कार्यहरू स्वाभाविक गतिमा अगाडि बढ्न सकिरहेका छैनन् । राष्ट्रिय गौरवका आयोजना घोषणा भएका आयोजनाहरूको त कुरै छाडौँ, सामान्य र लामो समयदेखि चलिरहेका योजना र आयोजनासमेत समयमा सकिने छाँट छैन ।

शान्ति सुरक्षाको अवस्था त कतिसम्म दयनीय छ भने, शहरको बीचमा कसैले हत्या गरेर हिँडे पनि सहजै भाग्न सफल हुने अवस्था छ । केही दिनअघि मात्र नेपालमा बसेर अपराध गर्दै आएका १२२ चीनका नागरिक पक्राउ भए । नेपालभित्रैका र खुला सीमा भएको भारतबाट आएर नेपालमा अपराध गर्नेहरूको संख्या पनि कम छैन ।

दिनहुँजसो कुनै न कुनै गम्भीर अपराध र हिंसाका घटना भइरहेकै छन् । यसको नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्र, सुरक्षा निकाय सफल हुन सकेको छैन ।

अर्कातर्फ नयाँ संविधान जारी भएपश्चात् तीनै तहको निर्वाचन भई तीनै तहमा सरकार बनेर काम सुरु भएको छ । काम सुरु हुनु र सरकार निर्माण हुनु महत्त्वपूर्ण होइन, खास कुरा त ती सरकारले प्रभावकारी काम गर्नु हो । यस्तो हुन तीनै तहमा सकेको छैन । आन्तरिक र बाह्य अवरोधका सिकार तीनै तह भइरहेका प्रस्ट छ ।

हामी त सरकार कमजोर हुँदै गएमा त्यसलाई अझ कमजोर कसरी बनाउने भन्नेतिर सोच्न थाल्छौँ, न कि कसरी अझ सशक्त बनाउने भन्नेतिर ध्यान जान्छ । अनि कमजोर सरकारबाट गतिला र सशक्त काम कारबाहीको अपेक्षा गर्न भने छाड्दैनौँ ।

यस्तो अवस्थामा हामी जिम्मेवार भनिएका नागरिक अर्थात् कर्तव्यनिष्ठ र इमान्दा बनेर मुलुकलाई संक्रमण र अनेक बाधा अनि जंजालबाट मुक्त गर्न लाग्नुपर्ने जनता यस्ता तथ्यबाट बेखबर बनिरहेका छौँ वा आँखामा पट्टी लगाएर राजनीतिक रङ देखाउन अघि सरिरहेका छौँ ।

किनभने यस्तो बेलामा संसारका संक्रमणबाट गुज्रिएका मुलुकका जनताले देश र जनताका हितका निम्ति त्याग गरेका, एकजुट भएर देशको हितमा लागेका, वैमनश्य र तीक्ततालाई थाती राखेर हातेमालो गरेका प्रशस्त उदाहरण छन् । हामीकहाँ भने यस्तो अवस्था देखिएन ।

हामी त सरकार कमजोर हुँदै गएमा त्यसलाई अझ कमजोर कसरी बनाउने भन्नेतिर सोच्न थाल्छौँ, न कि कसरी अझ सशक्त बनाउने भन्नेतिर ध्यान जान्छ । अनि कमजोर सरकारबाट गतिला र सशक्त काम कारबाहीको अपेक्षा गर्न भने छाड्दैनौँ ।

अर्को कुरा, हाम्रो नागरिकस्तरको दायित्वमा हामी पटक पटक चुकेका छौँ । हामीमा लगाइएको विभिन्न रङको राजनीतिक, जातीय, क्षेत्रीय, वर्गीय र लिंगीय चस्माले हामीलाई अन्य रङ र अन्य समस्या देख्न नै दिँदैन । यसले गर्दा हामी हाम्रा आफ्नै खुट्टामा बञ्चरो हान्न तयार तर देशको हितमा, जनताको हितमा सरकारलाई सहयोग गर्न पछि हट्ने भएका छौँ ।

आखिर जुन सरकारले, जुन पार्टीले, जुन व्यक्तिले गरे पनि विकासका कामको फाइदा त सबै राजनीतिक दलका कार्यकर्ता, नेता, सबै क्षेत्रका मानिस, सबै वर्ग, लिंग र जातका मानिसलाई नै हुने हो । तर, हामी यस तथ्यलाई स्वीकार्न तयार छैनौँ ।

यही भएर त हामीसँग घण्टौँ अनावश्यक टिप्पणी गर्ने, रक्सी र चिया पिएर कुरा काट्ने, आलोचना गर्ने समय प्रशस्त छ तर देश र जनताको हित, देशको विकासका बारेमा सोच्ने र बहस गर्ने समय भने छैन । अनि फुर्सदको समय केही बेर भए पनि देशको विकासका निम्ति स्वयंसेवी रूपमा दिन तयार छु भन्ने त सायदै कसैको सोचम आउला ।

यसैलाई त भनिएको होला, ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ।’