पेप्सीकोला–सल्लाघारी सडक विस्तार : दुई वर्षमा दस प्रतिशत मात्रै

पेप्सीकोला–सल्लाघारी सडक विस्तार : दुई वर्षमा दस प्रतिशत मात्रै
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १०, २०७५

काठमाडौं । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ । 

मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउनुपर्ने भए पनि खाली गराउन सकेको छैन । 
स्थानीयवासीले घरको मात्रै नभएर जग्गाकोसमेत मुआब्जा ण्माग गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जग्गाको मुआब्जा दिने व्यवस्था नहुँदा काम अघि बढ्न सकेको छैन ।’ 

अवरुद्ध सडक निर्माण अघि बढाउन जनप्रतिनिधिले पहल गरे पनि प्रगति नभएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्थानीयले संगठित रूपमा मुआब्जाको माग गरिरहेकाले स्थानीय तहले चाहेर पनि केही गर्न सकेका छैनन् । 

४ दशमलव पाँच किलोमिटर लम्बाइको यो सडकको ठेक्का सम्झौता २०७४ असारमा भएको थियो । सडकको ठेक्का सम्झौता अवधि आगामी वर्ष सकिँदैछ । यो सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभिले लिएको थियो । 

काठमाडौँ उपत्यकामा आयोजनाले ११ वटा सडक विस्तार सुरु गरे पनि कामले गति लिनसकेको छैन । काठमाडौँ र ललितपुर जिल्लाका पाँच/पाँच र भक्तपुर जिल्लाको एउटा आयोजना सुरु भए पनि भौतिक प्रगति कम भएको खबर राससमा छ ।