कुखुराको मासु र अण्डाको मूल्य आकाशियाे

कुखुराको मासु र अण्डाको मूल्य आकाशियाे

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ९, २०७६

काठमाडौँ । व्यवसायीहरुले चल्ला मार्ने र अण्डा फुटाउने गरेपछि कुखुराको मासु र अण्डाको मूल्य आकाशिएको छ ।

आन्दोलित कुखुरा व्यवसायीले ४० लाख चल्ला र लाखौंको संख्यामा अण्डा नष्ट गरेपछि बजारमा आपूर्ति कम भएको भन्दै मूल्य बढाइएको हो ।

पछिल्लो एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्यवृद्धि भइको छ । नेपाल अण्डा उत्पादक संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ ।

पर्याप्त मात्रामा बजारमा कुखुरा नरहेको कारण र माग पनि बढेपछि मूल्य वृद्धि हुनु स्वाभाविक रहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको भनाइ छ । 

चार दिनअघि प्रतिकिलो ब्रोइलर कुखुराको मूल्य २५० रुपैयाँ थियो भने खुद्रा बजारमा भने प्रतिकिलो २६० रुपैयाँमा बिक्री भएको थियो ।

आन्दोलनलगत्तै संघले प्रतिकिलो २७० रुपैयाँ निर्धारण गरेको थियो । बजारमा भने २८० रुपैयाँमा बिक्री भएको थियो । संघले अहिले पुनः प्रतिकिलो १५ रुपैयाँ बढाउने निर्णय गरेको छ ।

आज बाट कुखुराको मासुको मूल्य प्रतिकिलो २८५ रुपैयाँ निर्धारण गरिएको छ । मागअनुसार आपूर्ति कम भए मूल्य थप वृद्धि हुने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसी बताउँछन् ।

माघमा बिहेको सिजन सुरु भए पछि कुखुरा मासुको माग बढ्छ । तर, ह्याचरी उद्यमीले चल्ला नष्ट गरेकै कारण मासुको मूल्य बढ्न सक्ने सम्भावना उच्च रहेको संघको दाबी छ ।

अण्डा व्यवसायी पनि मूल्य बढाएका छन् । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय समितिका अध्यक्ष शिवराम केसीका अनुसार मंगलबारदेखि अण्डाको मूल्य बढेको छ । ठूलो अण्डामा प्रतिक्रेट १५ र मध्यम अण्डामा २० रुपैयाँ बढाइएको छ ।

सोमबारसम्म ठूलो अण्डा प्रतिक्रेट २७५ रुपैयाँ थियो । मंगलबारदेखि २९० रुपैयाँ लागू भएको छ । मध्यम अण्डा प्रतिक्रेट २५५ रुपैयाँ थियो । अहिले २७५ रुपैयाँ पुगेको छ ।