विकासको जग

विकासको जग

अश्रु सिन्धुलीय  |  साहित्य  |  पुष १२, २०७६

१. विकास केलाई भन्नुहुन्छ ?
बाटोलाई, बिजुलीलाई, सञ्चारलाई
या, मानव सूचकांकको अधिकतम अवस्थालाई ?

२. विकास कहाँबाट पलाउँछ ? विकास के हो ?
विकास चाउचाउ हो ? या बिस्कुट ?
या, मोबाइल फोन हो कि फेसबुक च्याट ?

३. मान्छेलाई चाहिएको विकासले
संसार मात्र होइन, ब्रह्माण्डलाई प्रभाव पार्छ
विकास धाकधक्कुका  लागि चाहिने हतियार हो त ?
या त सैनिकको अत्यधिक संख्या हो ?
या, जनसंख्याको अत्यधिक चाप हो ?
या, जनसंख्याको न्यूनतम संख्या ?

४. जीव र जगतको खोजी हो कि विकासको मानक ?
इा, मानवीय आस्था र संवेदनाको मानक बनाएर
त्यसैमा सबैलाई शान्तिको पाठ पढाउने विद्या हो विकास ?
इा, सम्पूर्ण चराचरको ज्ञानलाई समष्टिमा समेटेर
नयाँनयाँ ज्ञानको आविष्कारसँगै
ब्रह्माण्डको रक्षार्थ खटिनु विकास हो ?

५. विकासको नयाँ परिभाषा चाहियो
अब विकासले नयाँ नाउँ पनि खोजेको छ
नयाँ बाटो पनि चाहेको छ
के हो त विकास ? कसको परिभाषामा अल्झिने ?
कसको कुरालाई पत्याउने त ?
आफैँमा नयाँ आविष्कार चाहेको छ विकासले ।

६. सँगै बाँचौँ, सँगै बसौँ र सँगै सबैको कल्याण होस्
विश्वको एउटा भागमा पनि कतै अन्याय नहोस्
न्याय र अन्यायको पनि नयाँ मानक तयार गरौँ
भौतिकता र अध्यात्मिकताको संयोजनले
जीवन र जगतको परिचालन गर्ने नीति
विकासको लक्ष्य हुनुपर्ने होइन र ?

६. यो विकासे समय हो भनेर
नयाँनयाँ जे पनि विकास हुने हो र ?
र, पनि विकासको खोजीमा हामी
फनफन घुमेका छौँ विश्वभर
आफूलाई बिर्सेर र छोडेर
छैन अर्को कुनै विकासको धारा
आफूमा समेटिएर आफैँलाई खोज्नुबाहेक ।

७. आफूलाई खोज्ने र पत्ता लगाउनेभन्दा ठूलो दर्शन
कहिले थियो र हुनेछ ?
विकासको दर्शन पनि कल्याणमय हुनुपर्छ
सबै विकासमा जुटौँ तर आत्मिक र भौतिक दुवै
सँगै जोडेर योगको चर्चा गरौँ
योग एउटा जोड हो– ब्रह्माण्डसँग यो पृथ्वीको
हामी पृथ्वीका प्राणी हौँ, जसले मात्र ब्रह्माण्डका बारेमा
सोच्न जान्दछ, विनाशका बारेमा या विकासका बारेमा
आऊ नयाँ विकासको परिभाषा बनाऔँ
र, संसारको विकासका लागि लागौँ ।