बाटो बन्यो, पुल बनेन

बाटो बन्यो, पुल बनेन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १०, २०७५

जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम–जाजरकोट सडक निर्माण भए पनि पुल निर्माण नहुँदा दैनिक समस्या हुँदै आएको छ । 

जाजरकोट खण्डको भाग कालोपत्रे गर्न सुरु गरे पनि पुल निर्माण भने अलपत्र परेको छ । भेरी नदीमा पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्ग अधुरो भएको छ । 

भेरी नदीमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यले चौरजहारी–दारेगौरा बीचमा पुल निर्माण थालिए पनि ६ वर्ष बितिसकेको तर पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्ग यात्रा गर्ने यात्रुलाई सास्ती हुँदै आएको छ ।रुकुम पश्चिमका नेकपाका नेता तथा पूर्व गृहमन्त्री जर्नादन शर्मा र जाजरकोटका नेता तथा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पुल निर्माणका लागि स्थानीयले पटक÷पटक ज्ञापनपत्र बुझाए पनि पुल निर्माणले गति लिनसकेको छैन । 

वाइपी कन्ट्रक्सन प्रालि ललितपुरले १३ करोड ४७ लाख रूपैयाँमा पुल निर्माण गर्ने जिम्मा लिएको थियो । ठेक्का सम्झौता भएको ६ वर्ष बित्दा पनि पुलको मुख्य पिलरको जग खन्ने काम पनि पूरा हुन सकेको छैन । जसका कारण पुल निर्माण कहिले सकिने भन्नेबारे अझै यकिन हुन नसकेको स्थानीयवासी बताउँछन् । प्रालिका निर्माण व्यवसायी राजुप्रसाद श्रेष्ठ सम्पकविहीन हुँदा पुल निर्माण अलपत्र परेको छ । चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले भन्नुभयो, ‘मैले भन्ने ठाउँमा भनि सकेँ । तर, कसैले सुनेन्न, स्थानीयवासी पुल निर्माण नहुँदा आक्रोशित भएका छन् ।’ \

नयाँ सहरको काममा बाधा 

पुल निर्माण नहुँदा रुकुमको चोरजहारीमा रहेको अस्पतालमा बिरामी लिनेदेखि नयाँ सहर निर्माणको काममा बाधा पुगेको छ । वर्षाै पुरानो झोलुङ्गे पुलको सहारामा यहाँका स्थानीयवासी काम गरिरहेका छन् । पुल निर्माणकै ढिलाइले कुदु र चौरजहारीको व्यापार घाटा बढेको व्यापारी मोहन विष्टले बताउनुभयो । 

पुल निर्माणका विषयमा सडक विभाग र निर्माण व्यवसायीले एकले अर्कालाई आरोप–प्रत्यारोपमै दिन बिताउँदा काम अलपत्र छ । यता निर्माण कम्पनीले सडक विभागको डिजाइनअनुसार कार्यस्थलमा कार्य गर्ने वातावरण नहुँदा पुल निर्माणमा ढिलाई भएको जनाएको छ । पुरानो डिजाइनअनुसार पिलर तथा स्टिलपार्ट भएको पुल निर्माण गर्नुपर्ने थियो । 

पुल निर्माणका लागि कम्पनीलाई ताकेता गरिरहेको र अब केही समयभित्र पुल निर्माण सुरु हुने निर्माण परियोजनाका निर्देशक उद्धव खत्रीले बताउनुभयो । 

यस सडक खण्डको सडक खन्ने काम पूरा भए पनि ठाउँ–ठाउँमा पुल निर्माण नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । यस खण्डको छेडागाड नगरपालिकाको थलह लगायतका ठाउँमा पुल निर्माण अझै सुरु हुन नसकेको खबर राससमा छ ।