शेखर ढुङ्गेल | साहित्य | पुष ११, २०७६
एउटा गाउँमा उहिले एउटा नामुद गफाडी थियो । उसले भनेको कसैले पनि पत्याउँदैनन् भनेर ऊ स्वयंलाई थाहा थियो । तैपनि ऊ जहिले पनि कहीँ न कहीँ केही बोल्ने मौकाको खोजीमा हुन्थ्यो ।
बूढाहरूलाई भेट्यो भने ‘म पनि तपाईंहरू जस्तै पाको हुन पाए कति खुसी हुन्थेँ’ भन्थ्यो ।
पँधेरामा पुगेर आइमाईसित भन्थ्यो, ‘म पनि अर्को जुनीमा आइमाई भएर जन्मन पाऊँ भनी भगवानसित प्रार्थना गर्ने गरेको छु ।’
गाउँका फटाहा तोरी लाउरेहरूलाई भेट्यो भने भन्थ्यो, ‘बाबू हो, यही हो खा’को, ला’को, पा’को हुने उमेर । म तिमीहरूको साथमा छु, नडराओ ।’
एक दिनको कुरो हो, गाउँको चिया खाने चौतारीको पसलमा साहित्यमा चासो राख्ने मानिस चिया, पाउरोटी, पुष्टकारी खाँदै गफ गर्दै थिए ।
गाउँको त्यो गफाडी पनि आइपुग्यो । ‘ताई न तुई हातमा लाग्यो दुई’ भनेजस्तो गफ निकाल्न थालिहाल्यो ।
ऊ स्वयंले भन्न थाल्यो, ‘गफ पनि के गर्नु हो गाउँले हो । तिमीहरूसित जति सद्धे कुरो गरे पनि तिमीहरूले पत्याउने होइनौ ।’
रामे, सुन्दर, हरि, हर्के, बिर्खेहरू अग्रज साहित्यकार र उनीहरूका कृतिका बारेमा छलफल गर्दै थिए । उनीहरूले हाँस्दै एकै स्वरमा भने, ‘पत्याउने, हुने कुरो गर न हामी पत्याइहाल्छौँ नि !’
उसले अफ्ना बारेमा अनेक कुरो गर्यो । आफ्नो गुण अनि खुबीका बारेमा भन्यो । म यस्तो म उस्तो आदिआदि । गाउँलेहरूले निर्विवाद उसको कुरो सुनिरहे । देश विदेशका अनेक खबर भन्यो ।
कोहीको चिया सर्केर अर्कोको जीउभरी, कसैको पाउरोटी मुखबाट उछिट्टिएर अर्कोको गालामा, अर्कोको भर्खरै मुखमा हालेको पुष्टकारी फुत्किएर शिवको ज्वारी कोटको बगलीमा ।
अन्त्यमा भन्यो, ‘त्यति मात्र हो र ! म त साहित्यप्रेमी पनि त हुँ नि ! तिमीहरूले मलाई चिनेकै छैनौ । मैले आज मात्र कस्तो खतरा कविता लेखेको छु ।’
‘ए, हो र ! कहिले सुनाएको भए पो त थाहा पाउनु त !’, गाउँलेहरूले उसको कुरोमा सही थापे ।
बिर्खेले भन्यो, ‘सुनाऊ न त तिम्रो कविता हामी पनि सुनौँ !’
उसले भन्यो, ‘सुनाऊँ त ?’
सबैले एकै स्वरमा भने, ‘सुनाऊ, सुनाऊ ।’
उसले सुरु गर्यो-
उहु उहु !
‘औँसीको रात टहटह जून’
...बाँकी के बोल्न आँटेको थियो । वरिपरि बसेर सुन्नेहरू खित ...खित... खित... खुत... खुत... खुत, उहु ... उहु... हा ... हा... हा... हा... हि... हि... हि... गर्न थाले ।
कोहीको चिया सर्केर अर्कोको जीउभरी, कसैको पाउरोटी मुखबाट उछिट्टिएर अर्कोको गालामा, अर्कोको भर्खरै मुखमा हालेको पुष्टकारी फुत्किएर शिवको ज्वारी कोटको बगलीमा ।
न त गफाडीले उसको कविता वाचन अगाडि बढाउन सक्यो, न अरू कसैले अरू अगाडि के छ भनेर सोध्न नै सके ।
ऊ रातो मुख लगाएर सुइँकुच्चा ठोक्यो ।
यता गाउँलेहरू पनि ‘औँसीको रात टहटह जून’ भन्दै हाँस्दै बाटो लागे ।
समय बित्दै गयो, को कहाँ पुगे, को के भए ।
गाउँलेलाई देख्दा गफाडी कर्के आँखाले हेर्थ्यो । सम्भव भए बाटो काटेर अर्कैतर्फबाट हिँड्न थालेको थियो ।
अहिले त ऊ हाम्रो गाउँको मुखिया भएको छ रे !
‘कस्तो होला अब त्यो गाउँ अहिले ?’ भनेर विदेशबाट एउटाले सोधेको थियो ।
बिर्खेले भनिदियो, ‘उही त हो, औँसीको रातमा टहटह जून ! झिँगापुरमाथि सिंगापुरको खोल ।’
खित... खित... खित... खुत... खुत... खुत... हि... हि... हि... हा... हा... हा... ।