सैनामैनामा ज्येष्ठ नागरिकलाई घरमै भत्ता

सैनामैनामा ज्येष्ठ नागरिकलाई घरमै भत्ता

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १०, २०७५

रूपन्देही । सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । 

८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरी बैंकसँग सम्झौता गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो । अशक्त ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्न पनि गाह्रो भएकाले घरमै वितरणको व्यवस्था गरिने उहाँको भनाइ छ । ‘नगरको शिक्षा, स्वास्थ्य र सामाजिक सरोकारका विषयलाई प्राथमिकता दिनेगरी काम अगाडि बढेको छ,’ उहाँले भन्नुभयो, ‘विपन्न र ज्येष्ठ नागरिकको सेवामा विशेष हेक्का राखेका छौं ।’ 

सैनामैना नगरका पाँच हजार ९२४ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । तीमध्ये तीन हजार १२९ जना ज्येष्ठ नागरिकले भत्ता लिँदै रहेको नगरका उपप्रमुख बिना रानाले जानकारी दिनुभयो । 

नगरपालिकामा एकल महिला भत्ता बुझ्नेको सङ्ख्या दुई हजार चार छ भने १८ जना लोपोन्मुख आदिवासी, ३२० जना पूर्ण अपाङ्गता भएका, ४५३ जना दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता लिँदै आएको नगरका सामाजिक सुरक्षा शाखाका केशव अर्यालले जानकारी दिनुभएको खबर राससमा छ ।