चञ्चल मनलाई कसरी नियन्त्रण गर्ने ?

चञ्चल मनलाई कसरी नियन्त्रण गर्ने ?

बी.एच ज्ञवाली  |  जीवनशैली  |  पुष ११, २०७६

मानव मन अत्यन्त चञ्चल छ, कर्कलाको पातमा रहेको पानी जस्तै । जबसम्म मानिसले आफ्नो मनलाई नियन्त्रणमा लिन सक्दैन ऊ आफ्नो निश्चित लक्ष्यसम्म कदापि पुग्न सक्दैन । मनलाई चञ्चल बनाई राख्ने उसका भावना तथा विचार हुन्छन् । यी भावना तथा विचार स्थिर भएपछि मात्र मानिसको अन्तर मनले काम गर्न थाल्छ । 

मनलाई अस्थिर राख्न उत्प्रेरित गर्ने कारक तत्त्वहरू मध्ये मुख्य जड तत्त्व उसको इच्छा हो । यसले विचार तथा भावनाहरूलाई विचलित गरिदिन्छ र मन स्थिर रहन दिदैंन । त्यस कारण मानिसले पहिला इच्छालाई नियन्त्रणमा लिने उपायबारे सोच्नु आवश्यक हुन्छ । 

मनको चञ्चलता मानिसको स्वभाव जन्य गुण हो, यसलाई स्थिर राख्न सक्नु उसको दिव्य स्वभाव हो । आफूभित्र त्यस दिव्यताको अनुभूति गर्न सबैभन्दा पहिले मानिसले वाधा अड्चन फुकाउनु पर्छ जसले उसको मनलाई स्थिर हुनुबाट रोकिराखेका छन् । मनलाई स्थिर हुन नदिने मुख्य कारक तत्त्व इच्छा जसलाई कामना पनि भनिन्छ त्यसको पूर्ति कहिल्यै हुन सक्दैन । एक कामना पूर्ण हुन्छ अर्को थपिदैं जान्छ ।

धन सम्पत्तिको इच्छा भयो, आफूले चाहे जति प्राप्त भयो, त्यस धनबाट गरिने कार्यको विस्तार हुदैं जान्छ अनि उसको अधिक धन कमाउने चाहना हुन्छ । धन जस्तै समाजमा रहेर मान प्रतिष्ठा प्राप्त गर्ने चाहना हुन्छ, सम्पत्ति अनुसार भौतिक सुख सुविधा प्राप्त गर्ने साधनहरू जुटाउने चाहना बढ्दै जान्छ । उसको यो चाहना असत् विषय सम्बन्धी हो, त्यसको पूर्ति भएपछि अरू अधिक थप्ने इच्छा प्रारम्भ हुन्छ । यसरी केवल आपूर्ति मात्र बाँकी रहन्छ जसको आवश्यकता उसलाई हुदैंन । मानव जीवनको उद्देश्य भौतिक आवश्यकताको पूर्ति मात्र नभएर परमात्मासँगको सान्निध्य प्राप्ति पनि हो । यसलाई प्राप्त गरेपछि अरू सबै स्वतः प्राप्त हुन्छन् । 

मनलाई आत्ममा राम्ररी स्थापना गरेर अरू कुनै कुराको चिन्तन गर्नुहुन्न । जबसम्म यस भौतिक शरीरको अस्तित्व रहन्छ तबसम्म मनुष्यको पदार्थसँगको सम्बन्ध रहिरहन्छ । परन्तु उसले इन्द्रियहरूको तृप्तिका लागि मात्र सोच्नु हुँदैन । यदि मनले कुनै इन्द्रियका विषयमा, कुनै व्यक्ति, वस्तु, घटना, परिस्थितिका बारेमा चिन्तन गर्न थाल्यो भने तुरुन्त ती विषयहरूबाट मनलाई हटाएर आराध्य देव परमेश्वरमा लगाई हाल्नु पर्छ । बाहिरका दृश्यलाई आखाँ झिमिक्क गरेर जसरी हटाउन सकिन्छ त्यसरी नै मनभित्रका सङ्कल्प विकल्पलाई पनि हटाउन सकिन्छ ।

भगवानले मानिसलाई आफ्नो कल्याण आफैँ गरोस् भन्ने स्वतन्त्रता दिएर भविष्य निर्माण गर्ने मौका दिनु भएको छ । यस मानव जन्मको सदुपयोग गर्ने उसको कर्तव्य हो । सांसारिक विषय भोगतिर मात्र नलागेर आफ्नो अमूल्य जीवन नष्ट हुनुबाट बचाउन पुरुषार्थ गर्नका लागि श्रीमद्भागवतमा भनिएको छ –

लब्ध्वा सुदुर्लभमिदं बहु सम्भवान्ते
मानुष्यमर्थदमनित्यंमपीह धीरः ।।

तूर्णं यतेत न पतेदनुमृत्यु यावत्
निः श्रेयसाथ विषयः खुल सर्बतः स्यात् ।।
        (११/९/२९)
अनेक जन्महरू पछि यस परम पुरुषार्थको साधन स्वरूप मनुष्य शरीर जुन अनित्य भएर पनि अत्यन्त दुर्लभ छ त्यसलाई पाएर बुद्धिमान पुरुषले शीघ्रतिशीघ्र मृत्यु हुनु भन्दा पहिले नै आफ्नो कल्याणको लागि प्रयत्न गर्नुपर्छ । विषय भोग त अरू योनिहरूमा पनि प्राप्त हुन सक्छन् । त्यस कारण सङ्ग्रह र उपभोग गर्न पट्टि मात्र लागेर यस अमूल्य जीवनलाई नष्ट हुन दिनु हुदैंन । मनलाई सदा अस्थिर बनाई राख्ने इच्छाद्वारा उत्पन्न भावनाहरू जुन मानिसको चेतनामा प्रवेश  गरेर रिस, राग, भय, ईर्ष्या, घृणा, लोभ, चिन्ता आदि हानिकारक अवगुण उत्पन्न गरी दिन्छन्, यी अवगुणहरूले मानिसको चेतना क्षुब्ध र अशान्त बनाइदिन्छन् । त्यसैले यी अवगुण तुरुन्त हटाउने प्रयत्न गर्नु पर्छ । गीतामा भगवान् श्रीकृष्णले भन्नु भएको छ –

क्रोधाम्दवति सम्मोह सम्मोहात् स्मृति विभ्रम
स्मृति भ्रंशात् बुद्धिनाशो वुद्धिनाशात् प्रणश्यति

        (२ /६३)

अर्थात् विषयासक्त मनुष्यको कामनाबाट क्रोध उत्पन्न हुन्छ, क्रोधबाट मोह, मोहबाट स्मरण शक्ति भ्रमित हुन्छ, यसले बुद्धि नाश हुन्छ र बुद्धि नाश भएपछि मनुष्यको आध्यात्मिक जीवन नष्ट हुन्छ । 

आध्यात्मिक जीवनलाई नष्ट हुनबाट बचाउने एकमात्र उपाय ध्यान हो, यो लक्ष्य र लक्षितको समन्वित स्वरूप हो, आत्मालाई परमात्मासँग पुनर्मिलन गराउने क्रिया हो । गीतामा भनिएको छ–

आत्मसंस्थमन:कृत्वा नकिञ्चिदपि चिन्तमेत् । (६/२५)

अर्थात् मनलाई आत्ममा राम्ररी स्थापना गरेर अरू कुनै कुराको चिन्तन गर्नुहुन्न । जबसम्म यस भौतिक शरीरको अस्तित्व रहन्छ तबसम्म मनुष्यको पदार्थसँगको सम्बन्ध रहिरहन्छ । परन्तु उसले इन्द्रियहरूको तृप्तिका लागि मात्र सोच्नु हुँदैन । यदि मनले कुनै इन्द्रियका विषयमा, कुनै व्यक्ति, वस्तु, घटना, परिस्थितिका बारेमा चिन्तन गर्न थाल्यो भने तुरुन्त ती विषयहरूबाट मनलाई हटाएर आराध्य देव परमेश्वरमा लगाई हाल्नु पर्छ । बाहिरका दृश्यलाई आखाँ झिमिक्क गरेर जसरी हटाउन सकिन्छ त्यसरी नै मनभित्रका सङ्कल्प विकल्पलाई पनि हटाउन सकिन्छ । 

यसका लागि निरन्तर ध्यान योगको अभ्यासले मात्र सहजरुपमा मनको चंचलतालाई नियन्त्रण गरेर परमेश्वरको सानिध्यता प्राप्त गर्न सकिन्छ ।