शीतलहरले सिराहा नगरपालिकाका सबै विद्यालय बन्द

शीतलहरले  सिराहा नगरपालिकाका सबै विद्यालय बन्द

लोकसंवाद संवाददाता  |  शिक्षा  |  पुष १३, २०७६

सिरहा । गएकाे केही दिन देखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिराहा नगरपालिकाका सबै विद्यालयमा बिदा हुने भएको छ । 

नगरपालिकाको शिक्षा शाखाका प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिनुभयो । 

वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको शिक्षा शाखा प्रमुख लामाले जानकारी गराउनुभयो ।

यस्तै  चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन् । 

बाक्लो हुस्सु र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ भने चिसोेबाट बिरामी भएकाहरुको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको छ ।