राउटेलाई न्यानो कपडा र खाद्यान्न वितरण

राउटेलाई  न्यानो कपडा र खाद्यान्न वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १३, २०७६

काठमाडाैं । अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ । बस्तीमै पुगेर चार लाख ५० हजार रूपैयाँ बराबरको सामग्री वितरण गरिएको हो । 

जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउलगायतका सामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिनुभयो । 

उनीहरूको मागअनुसार न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरिएको  उहाँले बताउनुभयो । ‘राउटे अगुवाले चिसोले सतायो’ भनेर खबर पठाएपछि विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट  सहयोग जुटाइएको बताइएको छ । 

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताए । ‘चिसो ह्वात्तै बढेपछि बालबालिकालाई समस्या भएको छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ’, उनले भने, ‘कपडा पाएपछि अलि राहत मिलेको छ ।’ 

प्रतिष्ठानका अध्यक्ष खड्काले लोपोन्मुख समुदायको जीवन रक्षामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ती समुदाय हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएकाछन् ।