सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १३, २०७६

काठमाडौं । काठमाडौं, सप्तरी, पाल्पा र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका–३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीलाई हाल नाम,थर,वतन नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

सप्तरी, कंचनरुप नगरपालिका–४ कविलाशा टोलस्थित सडकमा शनिबार दिउँसो को।२ त ९४०२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने ८० वर्षीया गुदरी देवी पासवानको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पाल्पा, तिनाउ गाउँपालिका–३ ड्याम साईडस्थित सडकमा लु।२ ख १७६३ नम्बरको टिपर र लु.१९ प २८०३ नम्बरको स्कुटर आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक रुपन्देही बुटवल उपमहानगरपालिका–१३ बस्ने २५ वर्षीय सिद्धान्त थापाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापा, दमक नगरपालिका–५ यलम्बर चोकस्थित सडकमा को.३५ प ७७२१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक ईलाम महमाई गाउँपालिका बस्ने ३६ वर्षीय राजकुमार लिम्बुको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।  
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।