सरमलाग्दो प्रज्ञा नियुक्तिकाे नाली बेली

सरमलाग्दो प्रज्ञा नियुक्तिकाे नाली बेली

उपासना संकल्प  |  समाज  |  फाल्गुन १०, २०७५



गत पुस १२ गते जनसांस्कृतिक महासंघ, नेपालसहित सात संगठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाए । महासंघका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनकलाकार संघ, अखिल नेपाल ललितकला संघ, अखिल नेपाल चलचित्रकर्मी संघ, अखिल नेपाल नाट्यकर्मी संघ, लोकवार्ता परिषद्, नेपाल र इतिहास तथा समाज अध्ययन परिषद्का पदाधिकारीले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै प्रतिष्ठानमा गरिएको नियुक्ति सैद्धान्तिक आधारमा नभएको आरोप लगाएका थिए । नेपालका भाषा, साहित्य एवं वाङ्मय क्षेत्रका अनेक विधाहरूको संरक्षण, प्रवद्र्धन, अन्वेषण, अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रज्ञा प्रतिष्ठान ६० वर्षको इतिहासमा अहिले गरेको नियुक्ति सरमलाग्दो छ  । 
नियुक्तिमा प्रगतिशील लेखक संघ भने मौन बस्यो । प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेल, पूर्वअध्यक्ष अमर गिरी यसअघिको नियुक्तिमा परेका थिए । दुई पटक नियुक्ति पाइसकेको भएकाले पनि होला, अहिलेको नियुक्तिबारे उनीहरू केही बोलेनन् । गिरी अहिले उपकुलपतिको दाबी गर्दै आएका थिए, त्यसकारण उनी बोल्ने कुरै भएन भने पोखरेल पनि नियुक्तिका लागि दौडधुपमै थिए । अहिले पनि सरकारी निकायमा नियुक्तिको अवसर बाँकी नै भएकाले उनीहरू मौन देखिएको हुन सक्छ । 

यो नियुक्तिप्रति कसैले सार्वजनिक रूपमा विरोध गरेनन् । जसको कारण हो– पुनः नियुक्तिमा परिँदैन कि भन्ने डर रहनु । जीवनाथ धमलाले लामो लेख लेखे पनि व्यक्तिगत रूपमा कसैलाई आक्षेप लगाएनन् । प्रमाणसहित दोषी देखिनेहरूको विरुद्ध पनि लेख्न सकेनन् । त्यसको एउटै कारण हो– साथीभाई रिसाउलान् र फेरि नियुक्तिको अवसर आयो भने आफू छुटिएला कि भन्ने डर हुनु ।


यसअघि एक÷एक पटक उपकुलपति र कुलपति भइसकेका गंगाप्रसाद उप्रेतीले पुनः कुलपति हुन अवसर पाए । नेपाली साहित्यिक आन्दोलनमा उनको खासै भूमिका छैन । तर, पनि उनी नेताको चाकडी गरेरै तेस्रो पटक प्रज्ञा प्रतिष्ठानको नेतृत्व तहमा पुगेका छन् । आफू नियुक्त भएपछि निकट र अनुकूलका व्यक्तिलाई ल्याउन पनि पहल गरे । जसअनुसार हेमनाथ पौडेल, उषा ठाकुर, दिनेशराज पन्तले दोहोरिने अवसर पाए । पौडेललाई काव्य विभाग दिइयो भने ठाकुरलाई अनुवाद र पन्तलाई इतिहास विभाग दिइयो । ठाकुरलाई मधेसी, दलित, महिला कोटामा ल्याइयो, पन्तलाई एकमात्र जानकार ठहर गरियो, पौडेलले सदस्य सचिवको जिम्मेवारी नपाएपछि काव्य विभागको जिम्मेवारी दिइयो । 
मदनभण्डारी कला साहित्य प्रतिष्ठानका तर्फबाट दुई जनालाई प्राज्ञ परिषद्मा नियुक्ति गर्ने भनिएको थियो । तर, एक देवी नेपालले मात्रै नियुक्ति पाएका छन् । त्यो प्रतिष्ठानमा कार्यरत रहेका कृष्णप्रसाद घिमिरे, अनिल पौडेल अहिले पनि बाहिरिएको अवस्था छ । प्रा. राजेन्द्र सुवेदीलाई कुलपति बनाउने हल्ला चलाइयो । तर, हल्लामा मात्रै सीमित रह्यो । 
छन्द कविताका पुनर्जागरणकर्ता मध्येका एक नेपाललाई परिषद्मा नियुक्ति भएपछि उनलाई लोकसाहित्य विभागको जिम्मेवारी दिइयो । डा. रामप्रसाद ज्ञावाली, मित्रलाल पंज्ञानीहरूलाई छुटाइएको छ । 
उपकुलपतिमा नियुक्त पाएका जगमान गुरुङ धुरन्धर विद्धान हुन् । तर, उनी पञ्चायतका पूर्णकालीन योद्धा, राप्रपाका कार्यकर्ता र अहिले प्रधानमन्त्री ओलीमा मनपरेका व्यक्तिमा परेको नेकपा बृतमा व्यापक चर्चाको विषय बनेको छ ।
लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा कही कतै नदेखिएका दिनेश पन्त दुईदुई पटक प्रतिष्ठानको नेतृत्वमा पुगिसकेका छन् । पञ्चायतका पूर्णकालीन योद्धा मानिने उनी कांग्रेसका अल्पकालीन कार्यकर्ता समेत हुन् । 
प्रज्ञा प्रतिष्ठानमा उषा ठाकुरलाई पनि दोस्रो पटक चिठ्ठा परेको छ । उनलाई भारतीय राजदूतावासको आग्रहमा नियुक्ति दिइएको हो । उनको स्थानमा गायत्री विष्ट गाउँलेलाई नियुक्ति गर्ने तयारी अन्तिम चरणमा हटाइएको थियो । उर्दू र नेपाली साहित्यमा दर्जनौं किताब लेखिसकेकी विष्टलाई एउटा पनि सम्झना लायक पुस्तक प्रकाशन नगरेकी ठाकुरले विस्थापित गर्न सफल भइन । दूतावासले ठाकुरलाई नियुक्त गर्न आग्रह गरेपछि सरकारले टार्न सकेन । उनका श्रीमान यसअघि परराष्ट्रका शिष्टचार महापाल थिए । नेकपाभित्रकै स्नेह सायमीकी श्रीमती लक्ष्मी मालीलाई पनि महिला कोटामा नियुक्ति गरियो । सायमी वा मालीमध्ये एक जनालाई नियुक्ति गर्न प्रचण्डकै ठाडो दबाब आएपछि लोकप्रिय कविहरू ओझेलमा परेको गुनासो आइरहेको छ । सदस्य सचिवमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । उनी यसअघि संस्कृत विश्वविद्यालयका उपकुलपति भइसकेका व्यक्ति पनि हुन् । माया ठकुरीले आजको दिनसम्म राजनीतिक परिवर्तनको आन्दोलनमा एक शब्द पनि खर्च नगरेको आरोप लाग्ने गरेको छ । उनलाई पनि नियुक्ति दिएर यो सरकारले साँच्चिकै आन्दोलनताका लडाइँ गर्ने कवि, लेखक र स्रष्टालाई अपमान मात्रै गरेन, निराशातर्फ धकेलिदियो गुनासो आउने गरेको छ  । योगेन्द्रप्रसाद यादवलाई विद्धताभन्दा पनि मधेसी कोटामा राख्नैपर्ने भएको हुँदा नियुक्ति दियो । यादव २०५१ देखि ५५ सम्म सदस्य भएका थिए । पन्त र ठाकुर यसअघि समेत परिषद् सदस्य थिए ।
प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा २४ जनालाई मनोनयन गरिएका व्यक्तिहरु समेत विवाद रहित रहेनन् । जसमा शशी लुमुम्बूलाई कुलपतिको एकल चाहाना र बाध्यतावश नियुक्ति प्रतिष्ठाका सदस्यहरुले नै चर्चा गर्ने गरेका छन । विभन्न सञ्चार माध्यमका कार्यरत पत्रकाहरूसँग शशीको राम्रो सम्बन्ध भएकै कारण उपकुलपतिको विशेष आग्रहमा नियुक्त गरिएको हो । यसैगरी मनोनयन हुनेमा हरिप्रसाद तिमिल्सिना, राम विनय (रामकुमार श्रेष्ठ), खेम कोइराला बन्धु, आरडी प्रभास चतौट, विवश पोखरेल, ध्रुव मधिकर्मी, रमा शर्मा, रामबाबु सुवेदी छन् ।
त्यस्तै, रजनी ढकाल, गीता त्रिपाठी, लक्ष्मी उप्रेती, विणा सिन्हा, महेश्वर राय, हरिशचन्द्र लावती, गोविन्द आचार्य, सुभद्रा भट्टराई, हरिदत्त पाण्डे, विजयकुमार दत्त, सूर्य खड्का विखर्ची, कपिल लामिछाने, गोपालप्रसाद पोखरेल, केशव सुवेदी र नन्दुप्रसाद उप्रेतीको पनि मनोनयनमा परेका छन् । बनिता प्रकाशनसँग पुरस्कारको साइनो जोडिएको छ भने प्रा. केशव सुवेदीभन्दा ‘जुनियर’ले सभामा नियुक्तिको अवसर पाएका छन् । जस्तो कि हरिप्रसाद तिमिल्सना, गीता त्रिपाठी नन्दु उप्रेती लगायतका व्यक्तिहरूसँगै सुवेदी र बन्धुको पनि नियुक्ति भएको छ । यो नियुक्ति उनीहरूका लागि अपमान भए पनि सहेरै नियुक्तिको सपथ लिनुका पछाडि प्राज्ञ हुने लोभ मात्र रहेको स्पष्ट देखिन्छ । सुभद्रा भट्टराईको बारेमा भूपी शेरचनको कविता गरिमा मासिकमा प्रकाशित भएको रिपोर्ट कवि बिमल आरोहीले सञ्चार माध्यममा प्रकाशित गरेका थिए । उनी पनि यो नियुक्तिमा परेकी छन् । ध्रुव मधीकर्मी र विवश पोखरेल अध्याधिक क्षमता भएको मूंल्याकनसहित दोहोरिएका छन् । आर एम डंगोल, पुस्करराज भट्ट, धिरकुमार श्रेष्ठ र रमेश पोखेरल छुटेका छन् । देशभक्त खनाल, श्याम सापकोटालाई त झन् अन्याय गरिएको गुनसो आउने गरेको छ । वासुदेव अधिकारीले प्रज्ञाप्रतिष्ठानमा नियुक्ति नपाएपछि उनलाई नेपाल बैंकको अध्यक्षमा नियुक्ति दिनु परेको थियो ।  
यो नियुक्तिप्रति कसैले सार्वजनिक रूपमा विरोध गरेनन् । जसको कारण हो– पुनः नियुक्तिमा परिँदैन कि भन्ने डर रहनु । जीवनाथ धमलाले लामो लेख लेखे पनि व्यक्तिगत रूपमा कसैलाई आक्षेप लगाएनन् । प्रमाणसहित दोषी देखिनेहरूको विरुद्ध पनि लेख्न सकेनन् । त्यसको एउटै कारण हो– साथीभाई रिसाउलान् र फेरि नियुक्तिको अवसर आयो भने आफू छुटिएला कि भन्ने डर हुनु । उनले कसैलाई आक्षेप लगाउन नचाहेको प्रष्ट देखिन्छ । ‘नेपाल प्रज्ञा प्रतिष्ठान विगत पञ्चायती कालखण्डमा जे जसरी कार्यरत रहेको भए पनि ०४६ सालको परिवर्तनपछि यसको कार्यशैली र परिणाममा अपेक्षित नवीनता देखिनुपथ्र्यो । प्रज्ञा प्रतिष्ठानले सम्पन्न गर्ने काम सडकमा उभिएर हेर्दा देखिने खालका पक्कै हुँदैनन् । प्रज्ञाले गर्ने काम भनेका प्राज्ञिक काम नै हुन्’ यति भनेर धमलाले आफ्नो लेखकीय कर्मकाण्ड पूरा गरेको देखिन्छ ।