रेकर्ड तोड्यो दिल्लीको चिसोले, ६ को मृत्यु, जनजीवन अस्तव्यस्त

रेकर्ड तोड्यो दिल्लीको चिसोले, ६ को मृत्यु, जनजीवन अस्तव्यस्त

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १४, २०७६

भारतको राजधानी नयाँ दिल्लीमा चिसो अत्यन्त बढेको छ । दिल्ली एनसीआरलगायत पूरै उत्तर भारतमा घना कुहिरोले ढाकेको छ । दिल्ली र यसको आसपासका नोएडा, गजियावाद, गुरुग्राम र फरियावाद सोमबार बिहानैदेखि घना कुहिरोमा छोपिएका छन् ।

बिहान ७ बजे राजधानी दिल्लीमा बाक्लो कुहिरोका कारण ‘भिजिबिलिटी’ अत्यन्त कम रहेको बताइएको छ । यसको असर रेलका साथै हवाई उडानमा पनि परेको छ ।

उत्तरी क्षेत्रमा कम भिजिबिलिटीका कारण ३० वटा रेल ढिलो मात्र चले । मौसम विभागका अनुसार नयाँ वर्षको पहिलो दिन दिल्लीमा भारी वर्षा हुने संभावना छ, जुन जनवरी ३ सम्म जारी रहन सक्छ ।

ग्रेटर नोएडामा एकै परिवारका ६ को मृत्यु

सडकमा ढाकिएको कुहिरोका कारण नोएडामा एउटा कार दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै उत्तर प्रदेशबाट दिल्ली आउँदै थिए ।

चिसोले तोड्यो रेकर्ड

दिल्लीमा आइतबार न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरियो । भीषण चिसोलाई मध्यनजर गर्दै आनन्द विहार इन्टर स्टेट बस टर्मिनलको छेउमा रहेको स्टेसनमा केही मासिनले शरण लिए । त्यहीँ दिल्लीको तुर्कमान गेट नजिक केही घरबारविहीन मानिस सडकमै सुतिरहेका थिए । उत्तर भारतमा भीषण चिसोबाट राहत पाइरहेका छैनन् मानिसले । यस्तो अवस्थामा केही स्थानमा विद्यालय बन्द गर्न निर्देशन पनि दिइएको छ ।

दिल्ली एनसीआरमा चिसोसँगै प्रदूषणको मार

राजधानी दिल्लीमा चिसोका साथै प्रदूषणको मारमा पनि परेको छ । आनन्द विाहारमा एक्यूआई ४६२ मापन गरिएको छ, जुन अत्यन्तै खराब मानिन्छ ।

कुहिरोका कारण रेल र उडानमा असर

बाक्लो कुहिरोका कारण दिल्ली आउने रेल केही ढिलो चलिरहेका छन् । उत्तर रेलवेका दिल्ली आउने कम्तीमा ३० वटा रेल बाक्लो कुहिरोका कारण ढिलो भएका छन् । यसका अलावा दिल्ली एयरपोर्टमा कुहिरोका कारण नर्मल अपरेसन्स रोकिएको छ । तीनवटा उडानको रुट परिवर्तन गरिएको छ ।

आइतबार बिहानको औसत तापक्रम ३.४ डिग्री

दिल्लीमा डिसेम्बर १४ देखि ‘सिवियर कोल्ड डे’ अर्थात् अत्यन्तै चिसा दिन रहे र आइतबार बिहान यहाँको औसत तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरियो । यो यस मौसममा सामान्यतया मापन गरिएको तापमानभन्दा ४ डिग्री सेल्सियस कम हो ।

दिल्लीको आयानगरमा २.५ रह्यो भने लोधी रोडमा २.८ डिग्री तथा पालममा ३.२ डिग्री, जबकि सफदरजंगमा ३.६ डिग्री रेकर्ड गरियो ।

सन् १९९७ पछिकै सबैभन्दा चिसो डिसेम्बर

मैसम विभागका अनुसार यस वर्षको डिसेम्बरमा आइतबारको औसत तापक्रम १९.०७ डिग्री सेल्सियस मापन गरियो । यो सन् १९०१ पछिको चिसो दिन हुन सक्छ ।

यसअघि सन् १९९७ मा औसत तापक्रम १७.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आर्द्रताको स्तर ६४ देखि १०० प्रतिशतको बीचमा रह्यो । मौसम वैज्ञानिकले सोमबार बिहान बाक्लो कुहिरो लाग्ने जनाएका थिए ।