तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मीको अभाव

तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मीको अभाव

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १४, २०७६

दाङ्ग । दाङ्गको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताउनु भयो । ‘कारागारमा स्वास्थ्यकर्मी हुनुहुन्न’, उहाँले भन्नुभयो, ‘कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ ।’ 

उहाँका अनुसार  ३७६ कैदीबन्दी रहेको सो कारागारमा गत असोजमा दरबन्दीका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि उपचारमा समस्या भएको हो । तुलसीपुर कारागारमा वार्षिक उपचार खर्च छ लाख रूपैया आउने गरेको छ ।

घोराही कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि गएको असोजदेखि स्वास्थ्यकर्मीविहीन भएको जेलर विष्णु पाण्डेले जानकारी दिनुभयो ।  चिसोका कारण रुघाखोकी, हातखुट्टा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या कैदीबन्दीमा देखिएको उहाँको भनाइ छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी कारागारमा नआएको र बिरामीलाई अस्पताल ल्याउँदा लैजाँदा खर्च बढ्नुका साथ असहज भएको कारागार प्रशासनले जनाएको छ । 
चालू आर्थिक वर्षमा आएको एक लाख ८० हजार रूपैयाँ बजेटमा अहिलेसम्म साढे एक लाख रूपैयाँ उपचार खर्चमा सकिएको जेलर पाण्डेले जानकारी दिनुभयो । घोराही कारागारमा अहिले ३१५ कैदीबन्दी रहेका छन् । 

यस्तै दाङको घोराही कारागारका कैदीलाई शिक्षा दिन थालिएको छ । कारागारमा अहिले २० जना कैदीलाई शिक्षा दिन थालिएको जेलर पाण्डेले जानकारी दिए । कारागारलाई सुधारगृहका रूपमा विकास गर्न घोराही कारागारका कैदीबन्दीलाई शिक्षा दिन थालिएको छ । विभिन्न मुद्दामा कारागारको जीवन बिताइरहेका कैदीबन्दीलाई नैतिक र असल चालचलनसँगै सामाजिक शिक्षा दिन थालिएको कारागार प्रशासनले जनाएको छ । 

कारागारभित्रै ती कैदीबन्दीलाई ज्ञानज्योति स्कूल सञ्चालन गरेर शिक्षा दिन थालिएको घोराही कारागारका जेलर पाण्डेले बताउनुभयो । निरक्षर कैदीबन्दीलाई साक्षर बनाउने र सोचमा सुधार ल्याउनका लागि शिक्षा दिन थालिएको उहाँको भनाइ छ । कैदीबन्दीको मागअनुसार अङ्ग्रेजी भाषामा समेत कक्षा सञ्चालन थालिएको छ । कम्तीका कक्षा १२ पास गरेका र राम्रो आचारण भएका कैदीबाटै छनोट गरेर शिक्षा दिन थालिएको हो । पढाउने कैदी शिक्षकलाई पारिश्रमिक नभए पनि मासिक पाँच दिन कैद मिनाहको व्यवस्था रहेको जेलर पाण्डेले जानकारी दिनुभयो । कारागारमा करिब २० जना कैदीबन्दीले साँझ बिहान गरी चार घण्टा अध्ययन गरिरहेका छन् ।