'रक्त अल्पता' आवश्यक तत्त्वहरू मिलाएर खान नजान्दाको परिणाम

'रक्त अल्पता' आवश्यक तत्त्वहरू मिलाएर खान नजान्दाको परिणाम

निर्जला कक्षपति  |  दृष्टिकोण  |  पुष १५, २०७६

केही समयअघिको कुरा हो, शरीर एक तमासले गल्न थाल्यो, भर्‍याङको एक खुट्किला चढ्दा पनि खुट्टा फतक्कै गल्न थाले । एकचोटि बाथरुममा नुहाउँदा त श्वास नै रोकिएको जस्तो भयो । बेलाबेलामा 'ब्लड प्रेसर लो' भइरहने भएकाले होला भन्दै बाथरुमबाट निस्किएर हत्त न पत्त नुनपानी घोलेर खाएकाी थिएँ । अलिक जीउमा तागत लाग्यो ।

महिनावारीको समय थियो । धेरै रगत गएको पनि थिएन । महिनावारी हुँदा अत्यधिक दुख्ने समस्या ममा थियो । बेलाबेलामा गाइनो डाक्टरलाई चेक अप पनि गराउँदै थिएँ ।

यस पटक पनि यस्तो तालले भएन भन्दै फेरी गाइनो डाक्टर नीरा सिंहकहाँ पुगेँ । डाक्टरले पहिले मेरो कुरा ध्यानपूर्वक सुन्नुभयो र भन्नुभयो, 'पहिले म तपाईँको हेमोग्लोबिनको लेवल चेक गर्छु अनि मात्र अरू कुरा गरौँला ।'

तुरुन्त मेरो शरीरबाट रगत निकालेर हेमोग्लोबिन परीक्षण गरियो ।

हेमोग्लोबिनको लेवल त ५.६० प्रतिशत मात्र रहेछ, जबकि एक स्वस्थ मानिसको शरीरमा हेमोग्लोबिनको मात्रा ११ देखि १६ प्रतिशतसम्म हुनुपर्छ । मेरो रिपोर्ट हेरेपछि डाक्टरले भन्नुभयो, 'तपाईँलाई तुरुन्त हस्पिटलमा भर्ना गर्नुपर्छ ।' साँझको समय थियो । मलाई उहाँको क्लिनिकबाट एकैचोटि मेडिसिटी हस्पिटल पुर्‍याइयो ।

रातभर 'डायग्नोसिस'को काम पनि भयो, डायग्नोसिसका लागि रगत निकाल्दा निकाल्दा रगतको मात्रा ५.६ बाट झरेर ४  सम्म पुग्यो ।

कसरी यस्तो 'एनिमिया' भनेर डाक्टरहरू पनि छक्क परे ।  तुरुन्तै एक पोका रगत मेरो शरीरमा चढाउने काम भयो । अरू ६ दिन अस्पताल बसेर मेरो शरीरमा ४ पोका रगत चढाइयो । विना कारण यसरी शरीरमा रगतको मात्रा कसरी कमी  हुन गयो भनेर म साह्रै दुखी भएँ ।

पहिले पहिले सुनेकी थि‌एँ, महिलालाई 'रक्त अल्पता' भएर मृत्यु भयो भन्ने । खबर समाचारमा धेरै पढेकी थिएँ । महिलाले स्वास्थवर्द्धक र पौष्टिक खानेकुरा खान नपाएपछि यस्तो हुन्छ होला भन्ने लाग्थ्यो । तर, हामी स्वास्थ्यप्रति सचेत हुनेहरू र यो कुरामा यो पौष्टिक खानेकुरा पाइन्छ भन्दै खानामा ध्यान पुर्‍याउनेहरूलाई पनि शरीरमा रगतको कमी हुनेरहेछ भन्ने  राम्रो पाठ  सिक्ने अवसर बन्यो मेरा लागि ।

यी सब कुरा थाहा हुँदाहुँदै पनि केही महिलाको शरीरमा रगतको मात्रा किन कमी हुन्छ त भन्ने प्रश्न अहम् हो । हाम्रो सामाजिक परम्पराअनुसार महिलाले भान्छाको काम नगरी धरै छैन । अफिसमा जतिसुकै ठूलो पदमा काम गरे पनि घरको चुलोचौकौ गर्नुपर्ने बाध्यता नै हुन्छ । आफैँँ चुलोचौको गरेपछि त आफ्नो खानामा आफैँ नै ध्यान दिनुपर्ने हो तर त्यो भइरहेको हुँदैन ।

शरीरमा रगत बन्न पोषणयुक्त खानेकुराको जरुरत त पर्छ नै त्यसबाहेक आइरन पाइने खानेकुराहरू खान जरुरी हुन्छ । जब महिला गर्भवती हुन्छिन्, डाक्टरले महिलालाई गर्भवती अवस्थामा र सुत्केरी अवस्थामा आइरन चक्की खान सुझाउने गर्छन् । शरीरमा रगत यति महत्त्वपूर्ण हुन्छ कि जसरी इन्धन हालेपछि गाडी चल्ने गर्छ, त्यसैगरी शरीरमा भएको रगतले नै हाम्रो शरीर चल्ने गर्छ । त्यसैले शरीरमा रगत हुनु अति नै महत्त्वपूर्ण मानिन्छ । 

महिला र पुरुषको शरीरको बनावट फरक हुने गर्छ । महिलाहरूलाई प्रत्येक महिना रजस्वला हुने गर्छ । यसले गर्दा पनि शरीरमा रगतको मात्रा घटबढ हुनेगर्छ । तर, स्वस्थ महिला छन् भने शरीरमा जति रगत हुनुपर्ने हो, त्यसको मात्रा यथावत् नै रहन्छ । होइन भने रजस्वला हुँदा बढी रगत गयो भने पनि शरीरमा रगतको मात्रा कमी हुन सक्छ । 

डाक्टरका अनुसार यदि कोही मानिसको शरीरबाट रगत बढी जान्छ र शरीरमा रगतको कमी हुन्छ भने त्यस्ता व्यक्तिको दिमागमा अक्सिजनको कमी हुन्छ । यसले गर्दा इन्ज्योरी र ट्रमा हुने सम्भावना हुन्छ ।

विशेष गरेर सहरमा बस्ने महिलाहरू, आफू स्फुर्त रहन हरेक प्रयत्न गरिरहेका हुन्छन् । खाना, व्यायाम, आराम सबै कुरामा उत्तिकै ध्यान पुर्‍याएको जस्तो देखिए पनि हाम्रो शरीरलाई चाहिने आवश्यक तत्त्वहरू मिलाएर खान नजान्दा शरीरमा एक न एक तत्त्वको कमी भइरहेको हुन्छ । तयारी खाना किनेर खानुभन्दा घरमा पकाएर खाएको खाना शुद्ध र पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । ढिकीले कुटेको चामल, कोदो, फापर, गहुँ, जौको रोटी खाँदा हाम्रो शरीरलाई चाहिने कार्बोहाइड्रेट, फाइबर र प्रोटिन प्राप्त हुन्छ ।

यसैगरी कोदोमा प्रशस्त मात्रामा आइरन हुन्छ । त्यसैले शरीरमा रगत बढाउनका लागि आइरनयुक्त खानेकुराहरू, हरियो सागसब्जी, फलफूल र प्रोटिनयुक्त खानेकुरा खानु पनि उत्तिकै आवश्यक छ ।

यी सब कुरा थाहा हुँदाहुँदै पनि केही महिलाको शरीरमा रगतको मात्रा किन कमी हुन्छ त भन्ने प्रश्न अहम् हो । हाम्रो सामाजिक परम्पराअनुसार महिलाले भान्छाको काम नगरी धरै छैन । अफिसमा जतिसुकै ठूलो पदमा काम गरे पनि घरको चुलोचौकौ गर्नुपर्ने बाध्यता नै हुन्छ । आफैँ चुलोचौको गरेपछि त आफ्नो खानामा आफैँ नै ध्यान दिनुपर्ने हो तर त्यो भइरहेको हुँदैन ।

सबैलाई खुवाएपछि घरकी बुहारीले खानुपर्ने सामाजिक प्रचलन अझै मेट्न सकिएको छैन । यसरी सबैलाई खुवाएर आफूले खाने गर्दा कहिलेकाहीँँ पकाएका कुराहरू सकिएका हुन्छन् ।

त्यसैले जे छ, त्यही खाएर बसूँ भन्ने धेरै महिलाहरूको भनाइ रहेको हुन्छ । र, धेरैले बचेखुचेको खाएर छाक टार्ने पनि गर्छन् । कसैलाई खुवाउँदा खुवाउँदा पुगेन भने पकाउन तम्सिने महिलाहरू आफ्ना लागि खाना छैन भने चिउरा खाएर छाक टार्ने पनि धेरै छन् । दाल, तरकारी नपुग्दा घीउ र भात खाएर बस्ने महिलाहरू पनि धेरै छन् ।

आफ्ना लागि गर्न गाह्रो मान्दा शरीरले पौष्टिक खानेकुरा खान पाउँदैन । यस कारण शरीरमा आवश्यक पर्ने तत्त्वको कमी हुन्छ । यसले गर्दा शरीरमा रोग निम्तिन सक्छ ।

महिलाले आफ्नो खानामा कदापि सम्झौता गर्नुहुँदैन । घरको काम गर्दागर्दै थाकेकी छन् भने घरका अन्य सदस्यले पकाएर खान दिनुपर्छ । महिला स्वयंले पनि बुझ्नु आवश्यक छ कि सबभन्दा पहिले आफ्नो शरीर छ भने मात्र अरूलाई पकाएर खुवाउन सकिन्छ । त्यसैले जे छ, त्यो खाएर छाक टार्नुभन्दा मेरो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरू मैले खान पाएकी छु किि छैन भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।