तीन ओभरमा ‘ह्याट्रिक विकेट’

तीन ओभरमा ‘ह्याट्रिक विकेट’

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन १०, २०७५

क्रिकेटप्रेमी सबैलाई थाहा भएकै कुरा हो कुनै बलरले लगातार तीन बलमा तीन ब्याट्सम्यानलाई आउट गर्यो भने यसलाई ‘ह्याट्रिक विकेट’ भन्ने गरिन्छ । 

बलरको हकमा ‘ह्याट्रिक विकेट’ दुई ओभरमा पनि गनिन्छ, जस्तोः बलरले ओभरको पाँचौ र छैठौं (अन्तिम) बलमा विकेट हासिल गर्यो । तर, ओभर समाप्त भयो । 

यसपछि उसले आफ्नो अर्को ओभरको पहिलो बलमा नै विकेट झार्ने सफलता पायो भने यसलाई ‘ह्याट्रिक विकेट’ नै मानिन्छ । 

अथवा बलरले ओभरको लास्ट बलमा विकेट लियो र अर्को ओभरको पहिलो र दोस्रो बलमा लगातार दुई विकेट लियो भने पनि ‘ह्याट्रिक विकेट’ काउण्ट हुन्छ । 

बलरले एउटै ओभरमा लगातार तीन बलमा तीन विकेट खसाले पनि ‘ह्याट्रिक विकेट’ हुन्छ । अथवा दुई ओभरको तीन बलमा लगातार तीन विकेट खसाले पनि यसलाई ‘ह्याट्रिक विकेट’ नै मानिन्छ । 

क्रिकेटप्रेमीहरू के तपाईँ भन्न सक्नुहुन्छ, कुनै गेदवाजले तीन ओभरमा ‘ह्याट्रिक विकेट’ बनाउन सक्छ । झट्ट सुन्दा तपाईँ यस्तो सम्भावनालाई तुरुन्तै खारेज गर्नुहुन्छ, होइन र ? 

तर, क्रिकेटको खेल र मनुष्य जीवनमा अनन्त सम्भावना लुकेका हुन्छन् । दुवैमा कति ‘सिक्वेन्स’ कति परिदृश्य, कति घटनाक्रम घटित हुन सक्छन् त्यसको पूर्व भविष्यवाणी गर्नु सम्भव हुन्न । 

तपाईँलाई अचम्म लाग्ला, क्रिकेटको इतिहासमा एक बलरले तीन ओभरमा ‘ह्याट्रिक विकेट’ बनाउने कारनामा गरेका छन् । 

ल न पत्याए म तपाईँलाई पूरा विवरण दिन्छु । सन् १९८८ मा अस्ट्रेलिया र वेस्ट इन्डिजबीच पर्थ (अस्टेलिया)मा भएको दोस्रो टेस्ट म्याचमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गरेको थियो । म्याचको दोस्रो दिन डिसेम्बर ३ मा आफ्नो ३७ औं ओभर बलिङ गरेका थिए अस्ट्रेलियन गेंदवाज मर्वह्युगले । ओभरको अन्तिम बलमा उनले वेस्ट इन्डिजका ब्याट्सम्यान कटला एम्ब्रोसेलाई ‘कट बिहाइण्ड’ गरे । 

यसैगरी अर्काे ओभरको पहिलो बलमा वेस्ट इन्डिजका ब्याट्सम्यान पैट्रिक पिटरसनलाई आउट गरे । कुनै ‘डट बल’ नभइकन उनले लगातार दुई ओभरको दुई बलमा दुई विकेट आफ्नो नाममा लेखाइसकेका थिए । यो इनिङमा उनले ३० रन खर्चेर ५ विकेट लिए । 

पिटरसन आउट हुनेबित्तिकै वेस्ट इन्डिज अलआउट भइसकेको थियो । अस्ट्रेलियाले आफ्नो पहिलो इनिङको ब्याटिङ प्रारम्भ गर्यो । डिसम्बर ४ मा अस्टेलिया ‘अल आउट’ भएर वेस्ट इन्डिजले आफ्नो दोस्रो ‘इनिङ’ खेल्न सुरु गर्यो । ह्युगले दोस्रो इनिङको आफ्नो पहिलो ‘बलिङ स्पेल’को पहिलो ओभरको पहिलो बलमै वेस्ट इन्डिजका ब्याट्सम्यान ग्रिनिजलाई एल.बी.डब्ल्यु आउट गरे । यो उनको ‘ह्याट्रिक’ विकेट थियो । यसरी ह्युगले क्रिकेटको इतिहासमै पहिलो पटक तीन ओभरमा ह्याट्रिक बनाउने रेकर्ड बनाए । 

यस इनिङमा ह्युगले ८७ रन खर्चेर ८ विकेट लिए । टेस्ट म्याचका दुवै इनिङमा उनले २१७ रन दिएर १३ विकेट हात पारेका थिए । यस सानदार प्रदर्शनका लागि उनी ‘म्यान अफ दि म्याच’बाट पुरस्कृत भएका  थिए । 

तर, अस्ट्रेलियाले यो म्याचमा भने १६९ रनले पराजय व्यहोर्नुपरेको थियो । 

उक्त खेलमा वेस्ट इन्डिजले पहिलो इनिङमा क्याप्टन सर विवियन रिचर्डको सेन्चुरी सहित ४४९ रन बनाएको थियो । यसको जवाफमा अस्ट्रेलियाले ३९५ रन बनायो । ५४ रनको ‘लिड’ लिएर दोस्रो इनिङमा वेस्ट इन्डिजले डेसमन्ड हेन्सको सेन्चुरीसहित ३४९ रनको योगफल तयार गर्यो । ४०३ रनको लक्ष्य लिएर मैदानमा ओर्लेको अस्ट्रेलियन टोली २२४ रनमै ‘अल आउट’ हुन गयो । अस्ट्रेलियन टोलीका कैप्टन एलन बोर्डर थिए ।