जीवन -एक भुल

कविता

जीवन -एक भुल

तिलक पौडेल  |  समाज  |  फाल्गुन ११, २०७५

 

 

तिमीले भन्यौ 
जीवनमा भुल हुन्छन् 
तर किन किन मलाई 
जीवन नै भुल लाग्छ ।

तिमीले भन्यौ 
भुलले, एकदिन मान्छे मूल भेट्छ
तर तर किन किन मलाई
मूल पनि शूल झैँ लाग्छ 
शूल गाडिएको यो जीवन 
मलाई साच्चै नै भुल लाग्छ ।

तिमीले भन्यौ
भुलले मान्छेलाई बाटो दिन्छ 
कर्मको बाटोमा मान्छे महान बन्छ 
कुकर्मको बाटोले मान्छे तुच्छ बन्छ 
तर किन किन मलाई 
महानता एक मञ्चन लाग्छ ।

तिमीलाई लाग्ला 
कायरहरु जीवनलाई भुल सोच्छन् 
र यही दर्शनको बुद्मतामा मुर्खता जिउँछन
तर किन हो किन मलाई 
कायरहरु नै मन पर्छन् ।

के तिमीलाई थाहा छ रु
बुद्धिमानहरु लामखुट्टे भगाउन झुल किन्छन् 
र बहादुर बनेर रातभरी झुलभित्र लामखुट्टे मार्छन्
तर कायरहरु आफैलाई सफा गर्छन् 
र आनन्दको निद्रा सुत्छन् ।