द्रुतमार्ग सञ्चालन भएकाेमा स्थानीयवासी हर्षित

द्रुतमार्ग सञ्चालन भएकाेमा  स्थानीयवासी हर्षित

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १८, २०७६

इलाम । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । 

केही समय अगाडिदेखि साना सवारी सञ्चालन हुँदै आए पनि बस सेवा शुरु भएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । 

स्थानीय पदम योङ्हाङले पहिलापहिला झापा पुग्दा भोगेको दुःख स्मरण गर्दै अब बिहान तराई पुगेर बेलुका नहुदै फर्कन सकिने बताउनुभयो । उहाँसँगै त्यहाँका स्थानीयबासी पनि खुशि भएका छन । 

यस सडक इलाम नगरपालिकाको भञ्ज्याङ हुँदै पुवाखोला–सोयाक, राकसे–बेलाँसे, चिसापानी–दानाबारी हुँदै झापाको विर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा इलामबाट फिक्कल हुँदै चारआलीबाट ८६ किमि लामो यात्रा पार गर्नु पर्दछ तर द्रुत मार्गबाट ४२ किलोमिटर दूरीमा झापाको विर्तामोड पुग्न सकिन्छ ।

यस सडकमा बस सेवा शुरु भएपछि स्थानीयवासी जति हर्षित छन्, कच्ची सडक भएकाले सडकमा कालोपत्रे नभइञ्जेलसम्म यसको भविष्य अन्योल नै रहने भन्दै सडकलाई कालोपत्रे गर्न आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । उनीहरूका अनुसार सडकको अवस्था सुधार गर्न इलाम नगरपालिका लाग्ने हो भने इलाम सदरमुकाममा समेत चहलपहल बढ्ने छ । 

मङ्गलबारे र इलामबाट भएका अन्य सडकसमेत चिसापानी र दानाबारीबाट भेट्टिने भएकाले पनि यस सडकमा हाल बाक्लोरूपमा सवारी सञ्चालन हुँदै आएका छन् ।