तनहुँको कान्छेमा पहिलोपटक बिजुली !

तनहुँको  कान्छेमा पहिलोपटक  बिजुली !

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १८, २०७६

दमौली । टुकीको भरमा बस्न बाध्य तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक  घरघरमा बिजुली पुगेपछि त्यहाँका स्थानीयबासी खुशी भएका छन् ।

उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण गगनगौडाको सहयोगमा उक्त ठाउँका ५६ घरधुरीमा विद्युतीकरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । विद्युतीकरणका लागि उक्त ठाउँमा चार लाख रुपैयाँको लागतमा २६ वटा पोल व्यवस्थापन गरिएको छ ।

त्यस्तै प्रसारण लाइनका लागि गाउँपालिकाले रु ११ लाख लगानी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार बिजुली सुविधा नपुगेका अन्य ठाउँमा पनि क्रमशः विद्युतीकरण गर्दै जाने गाउँपालिकाको अभियान रहेको छ । मैनबत्ती र टुकीको भरमा बस्नुपरेको अवस्थामा पहिलोपटक बिजुली बाल्न पाइएको स्थानीयवासी कुमारी परियारले बताउनुभयो ।

कान्छे विद्युतीकरणको बिहीबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गर्दै गाउँपालिकाको विकासको अभियानमा अगाडि बढेको बताउनुभयो ।

केही समय अगाडि मात्रै सोही गाउँपालिका–४ भिरकोटका ३५१ घरधुरीमा बिजुली बलेको थियो । पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे, डिहीगाउँमा बिजुली विस्तारका लागि गाउँपालिकाले रु ८० लाख लगानी गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ हजार घरधुरी अझै पनि अन्धकारमा छन् ।

वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण गरिएको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमि दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइने छ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइने छ ।