मेलम्ची आशाको पूञ्जः छोरो बढ्दै छ पक्कै उपभोग गर्ला !

मेलम्ची आशाको पूञ्जः छोरो बढ्दै छ पक्कै उपभोग गर्ला !

दिलीपकुमार चापागाईं  |  दृष्टिकोण  |  पुष १८, २०७६

प्रसङ्ग  पुरानो  भए पनि  सन्दर्भले  नवीन बनाउँदो रहेछ ।  २०६७ सालमा काभ्रेपलान्चोक जिल्लामा क्येम्प  कार्यक्रम सञ्चालन हुँदा  एक पटक  मैले ग्रामीण  क्षेत्रको अवलोकन गर्ने अवसर पाएको थिए । कुरा पुरानो भएकोले सन्दर्भ नमिल्ला भनेर प्रकाशन गर्ने प्रयास गरिन । तर केही वर्ष अगाडि काभ्रेमा नै आएर काम गर्ने अर्को अवसर प्राप्त भयो ।   प्रसङ्ग अनुभूति स्मृतिमा आयो, फलस्वरूप  आफ्नो अनुभूति  पस्कने जमर्को गरेको छु  ।

ग्रामीण जन जीवनको साक्षात्कार गर्नु आफैँमा रोमाञ्चित विषय ठान्ने विषय हो । त्यसमा पनि विकासका गतिविधिबाट गाउँलेले सिकेका, भोगेका र उन्नतिको लागि गरेका कार्यहरूको अवलोकन गर्नु पाउनु, धारणा बनाउने तहमा काम गर्दाको अझ भिन्नै मज्जा !

सन्दर्भ विकासको ! अवसर प्राप्त भयो क्येम्प कार्यक्रमको मार्फत । साधुवाद ! दामोदरजी जसले नेतृत्व लिँदै ग्रामीण बस्तीको समस्या केलाउन उत्प्रेरणा गर्नु भयो । त्यस्तै साधुवाद ती पौरखीहरूलाई जसको अद्भुत जागरणले सामाजिक उन्नति र बर्षौ पुरानो विभेदलाई न्यून गरी एकल, समन्वित,सहयोगपूर्ण समाजको निर्माणमा अतुलनीय योगदान पुर्‍याउने खालका दृष्टान्त पस्केकोमा ।

दृष्टिकोण, चिन्तन आ–आफ्नै, बुझाई र सिकाई बिचको सामीप्यमा दम्भ छैन– लम्केका छन् निर्दोष गाउँलेहरू अभाव र कमजोरपनाको पर्दा च्यात्नको लागि  । सहयोगी भएको छ सानो तर छरितो प्रोजेक्ट क्यम्प  हातमा हात मिलाएर । गाउँलेको श्रम र पुँजीमा आफ्नो सहभागिताको अंश थपेर, परिवर्तनको शंखनाद गर्दै लम्केको छ – काभ्रे , सिन्धुपाल्चोक, परासी र पाल्पाका गरिब बस्तीको उन्नतिका लागि । उजाड वन जड डाँडाहरू रसाउनको लागि सहभागिता र स्व निर्णयको स्वतन्त्रताको उद्घोषका साथ  अगाडि बढी रहेको छ । 

यो यथार्थ यात्राको अनुभूत हो ।  यात्राका पाँच सहभागीहरू (दामोदर अधिकारी, रेश्मीराज पाण्डे, नारायण ज्ञवाली, सुमन शर्मा र म) लम्क्यौ ।  काभ्रेको जैसी थोक र ज्याम्दीको समस्या र अवसरको चिरफार गर्न र प्रगति हेर्न ।

गाउँलेसँग सिप छ, श्रम छ, थोरै भए पनि पुँजी छ, योगदान गर्ने क्षमता छ, गाउँले बिच एकता छ, नेतृत्व छ जवाफदेहीता लिने आँट छ, कार्य विभाजनको तौरतरिका  मिलेको छ तर छैन सुधारले ल्याउने परिवर्तनका बारेमा पर्याप्त शिक्षा । त्यसैले यो गाउँलेसम्म  कसले पुर्‍याउने र कहिले ?

 पहिलो दिन धुलिखेलको रात विर्सिनसक्नु बन्यो । नगरपालिकाको हार्दिक आतिथ्यको मधुरतामा बिर्सियौँ एक क्षण भए पनि कोलाहल र धुवाँले थिचेको काठमाडौँको यथार्थतालाई र द्वन्द्वको राँकोले पिल्सिएको कुरूप उपस्थितिको कल्पनासम्म भएन । प्रकृतिको सुन्दरतालाई आलिङ्गन गर्दै बिताइयो पहिलो रात ।  एक अर्का बिचको स्वभाव चरित्र र परिचयको खोजीमा  विलीन हुँदै ।

बिहान ७ः३० को नास्ता वास्तव मै त्यो दिनको लागि जीवन बुटी साबित भयो । पाँचखालको मनोरम फाँटलाई नियाल्दाको आनन्दसँगै–खोलापारिको जैसी थोकको उकालो साँच्चीकै आ–आफ्नो मौलिकता, सम्भाव्यताको रचना थियो । हामी उक्लियौँ फेरी, उक्लियौँ पहाडलाई चुम्बन गर्दै । 

जैसीथोकमा कार्यक्रमले ल्याएको सामाजिक परिवर्तन, सरसफाइ वातावरण, ऊर्जा विकास, छोरा छोरीको विद्यालय भर्नाको अवस्थालाई नियाल्दै र छिचोल्दै अगाडि बढ्यौ । गाउँलेमा आशाको ज्योति प्रस्ट देखिन्थ्यो–इसारा थिया केम्पको निरन्तरता भैदिरहे एक दिन आफ्नै बचतले धरहरा सिँढी उक्लने सामर्थ्यको आशा, गाउँलेको कल्पनाको त्यान्द्रो अडिएको सहज अनुमान गर्न सकिन्थ्यो । आफ्नो सिप, क्षमता सामान्य मार्गदर्शनको भरमा गरेर देखाए गाउँलेले । त्यत्रो पानीको प्रबन्ध मिलाएका छन्, श्रम खर्च गर्न आतुर छन् उनीहरू । परम्परागत धारोलाई सुधार गरी व्यवस्थित गर्न आतुर भ्याए गरे । दृष्टान्त दिए जहाँ लाखौँ खर्च गर्दा हुने थिएन केवल ६ हजारले सम्भव भयो ।

‘एउटा निश्चित रकमसम्मको काम विना लागत स्टमेट र मूल्याङ्कन गाउँलेको सामूहिक दायित्वमा सुरु र सम्पन्न गर्ने परिपाटी बसाल्न सकेको भए सायद हजारौँ  घरमा पानीको धारो सहज रूपमा चल्ने थियो होला । तर, सकेको देखिँदैन, त्यो आँट गर्न, विश्वास गर्न र गाउँलेलाई नेतृत्व दिन । त्यसैले पनि होला कर्मचारी गाउँ पस्दा कुखुरा काट्ने कथाले जीवन्तता पाउन थालेको होला ।  

जैसीथोकका तारा पराजुलीको घरमा गाई र भौसी उघ्राई रहेका थिए । वायोग्यासको प्रबन्ध गरी ऊर्जा पूर्तिको व्यवस्था गरेको रहेछ । सफा चर्पीको प्रयोग गर्न पाएकोमा उनी गौरवान्वित छन् । त्यस्तै गरी छ परिवारका धनी राज मगर हुन वा शिवप्रसाद खनाल ठाँट ले बसेका पाइयो  परिवर्तनको स्व पान गर्दै ।

मोक्तान टोलमा निर्माण भएको धारो कम खर्चमा बनेको छ र पनि सुरक्षित, उपयोगी भएका अनुभूत गर्न सकिन्छ । पानी प्रयोग र सुर क्षण व्यवस्थापनले खेतीपातीमा परिवर्तन, आय बढेको छ, मुहारमा कान्ति छाएको छ गाउँलेको । कम्ती खुसी लागेन मलाई ।

त्यसरी नै ज्यामी गा.वि.स.४ जुकेपानी, गडापानी, सार्की टोलमा पानी आपूर्ति र आपूर्तिको लक्ष्य प्राप्तिमा सहयोग पुगेको कसरी बिर्सनु ? पानीको स्थायी र  दीर्घकालीन स्रोत छैन र पनि स्रोत सुरक्षा र उपयोगको अनुपम उदाहरण हेर्न पाइयो । 

तर, केही गाउँ बस्ती तिर्खाएको छ रित्तो गाग्रीले सरापेको छ ती गरिब बस्तीको पौरखलाई । सार्की टोलकी एउटा कमजोर महिला नियतिसँग हातेमालो गर्दै एक गाग्री पानीको लागि एक घण्टाको यात्रा गर्नु परेको कथा सुनाउँला व्यस्त थिइन । त्यसमा पनि कहिले काहीँ गाउँले बिचको पानीको लागि हुने मनमुटाबको दुखेसो सुनी नसक्नुको हुने गर्दथ्यो । एक त पानीको स्रोतमा पहुँच छैन–गुणस्तरको कुरा त कहाँ हो कहाँ ।  त्यसमा पनि आपसी झगडा ! लाग्दछ पानीको स्थायी आपूर्ति वास्तवमै त्यो समाजको पौरख हुन्थ्यो होला ! उमेरमा नै चाउरी परेका गालामा लाली चढ्थ्यो होला ! किन हाम्रो दृष्टि पुगेन ? ग्लानि भएर आउँदथ्यो  । 

यात्रा अझै थियो । ज्याम्दीको अवलोकन पछि दोलालघाटको खाना स्वादिष्ट लाग्यो । यता धुलिखेलमा बेलप्रसाद जीले आफ्नो सफलताको कथा सुनाउन आतुर रहेको सम्झी हतार हतार  गर्दै पुगियो, धुलिखेल अस्पतालका अवलोकन गर्न । अर्को संसारको स्मरण गरायो एक क्षण ! अघिको यात्राको यथार्थता सपनामा परिणत भयो । धुलिखेल, यात्राको स्थायी बिसौनी थियो– स्वदेशी विदेशी यात्रुको चुम्बनको सहर, हामी पनि त्यही सहरमा हरायौँ ।

यात्रा थियो सिन्धुपाल्चोकको विकट गाउँको । पाँचखाललाई छिचोल्दै इन्द्रावतीको काखमा हराउन पुगिएछ । सुन्दर लोभ लाग्दी इन्द्रावती आफ्नो उदारतालाई वेसीं फाँटमा सकेसम्म पस्कँदै अनन्त गन्तव्यमा दौडी रहेकी थिइन । तरेली बेसी र थुम्क्याइलो फाँटहरू उनका सामीप्यले मुस्कुराई रहेको लोभ लाग्दो दृष्टिमा रम्दै हराउँदै बिच बिचका आकर्षक बस्तीलाई छिचोल्दै हामी मेलम्ची खोला नजिक पुगी सकेछौ ! पत्तै भएन ।

मेलम्ची काठमाडौँवासीको आशाको पुञ्ज ! खै नजिक छ  वा टाढा, खै किन  साकार भएन परियोजना । शिशुले बामे सर्दा झैँ सबै भताभुङ्ग छ, आशा मरेर आउँछ नजिकबाट नियाल्दा । सुरुङ कहाँ छ ? मुहान कहाँ छ ? काम कहाँ भइरहेको छ ? पानी कति पुग्छ काठमाडौँ, सपना भयो । पर कालो डाँडा पारी मुहान छ भन्नेसम्म थाहा भयो तर देखिएन–पहरा फोर्न कठिन देखियो । उत्सुकता सेलायो तर पनि आशाको त्यान्द्रोले घचघच्याइ रहयो – 'छोरो बढ्दै छ पक्कै उपभोग गर्ला' ।

मेलम्ची खोलाको जल कञ्चन गरी अगाडी बढियो । एउटा यात्रा गर्नु छ । ज्यामीरे गाविसको परिवर्तनको कथा पढ्नु छ हातेमालो गर्नु छ सहकार्यको यथार्थतामा लुट पुट भएर ।

रामकृष्ण दनुवार (सहजकर्ता) उकालोको साथी भएका थिए । कार्यक्रमको बारेमा भन्दै थिए–गाउँ भेलाले कार्यक्रमको पहिचान हुन्छ, नेतृत्व निर्माण हुन्छ, कोष खडा हुन्छ, हिसाब किताब राखिन्छ लेखा परीक्षण गाउँलेले पनि गर्दछन् । त्यसैले पारदर्शी छ हाम्रो कार्यक्रम उनी भन्दै थिए–तिर्खा लाग्यो  । नजिकै पाइपबाट ल्याइएको रहेछ पानी ।  हतार हतार उनले भने – स्वच्छ छ खान हुन्छ, हाम्रो परियोजनाबाट निर्माण भएको ।

जम्मा ३० हजार खर्च १९ घरधुरीले प्रयोग गर्दछन्  । सञ्चालन व्यवस्था उनीहरू आफैले मिलाएका छन् बिच बिचमा तरकारी खेतीको लागि पानी छोड्ने प्रबन्ध साँच्चैको घत लाग्दो रहेको जानकारी दिइयो । रामकृष्णले दृढता पूर्वक थपे  योजना पारदर्शी छ द्वन्द्वले कुनै प्रभाव पारेको छैन ।

ज्यामीरेका बलराम विष्टको परिवार छोराछोरीको विभेद प्रति चनाखो छन् । छोरीलाई स्कुल पठाउने उनको योजना छ । दुई छोरीको आमा आफ्नो श्रीमान् भन्दा भिन्न भएर उपस्थित भइन । कु छोराको दर्जा छोरीलाई दिन्छु र सक्षम बनाउँछु कु उनले थपिन । उनमा छोरीमात्र भएकोमा कत्ति ग्लानि छैन । सामाजिक चेतनाको प्रभाव उनको परिवारमा परेका प्रस्टै देखिन्थ्यो । 

गाउँमा मौरी पालन व्यवसायमा केम्पले सहयोग गरेको छ । सहयोग पाउनेको सूची गाउँले आफैँले मिलाएका रहेछन्– पहिलो सबै भन्दा गरिब परिवारको छनौट गरेर । सहयोग त्यहीबाट सुरु भयो । उनीहरूले समाजप्रतिको दायित्वलाई स्वधर्मसंग सन्निहित गरेका छन् ।

चर्पी निर्माणमा बढेको सजगता अनौठो देखिन्थ्यो । गरिबहरूले चर्पी प्रयोग गर्न थाले पछि धनी आफैले चर्पी निर्माण गरी प्रयोगमा ल्याएको उदाहरण रोचक थिया ज्यामिरेको । विद्यालयमा पनि महिला पुरुष चर्पीको छुट्टा छुट्टै व्यवस्था भए पछि महिला भर्ना दर वृद्धि भएको उदाहरणले हृदय छोयो । सामाजिक रूपान्तरणको उदाहरण लाग्यो यो मलाई ।

गाउँलेसँग सिप छ, श्रम छ, थोरै भए पनि पुँजी छ, योगदान गर्ने क्षमता छ, गाउँले बिच एकता छ, नेतृत्व छ जवाफदेहीता लिने आँट छ, कार्य विभाजनको तौरतरिका  मिलेको छ तर छैन सुधारले ल्याउने परिवर्तनका बारेमा पर्याप्त शिक्षा । त्यसैले यो गाउँलेसम्म  कसले पुर्‍याउने र कहिले ?

ज्यामिरे–काभ्रे–सिन्धुपाल्चोक यात्राको अन्तिम गन्तव्य । सकियो गाउँलेसँगको कुराकानी र  भलाकुसारी । कार्कीज्यूको छोराको विवाहको भोजको रूपमा खाइयो कसार अनि दही च्यूरा । इन्द्रावती पारीको ओरालो मज्जैले धान्थ्यो त्यो कसार अनि दही च्यूराले । नर्विसने साइनो । फर्कन्थ्यो । धुलिखेल बसाइले हामीलाई फर्कायो । अन्ततः फर्कियौँ त्यो सुन्दर ग्रामीण जीवनको यात्रालाई पुरा गर्दै पलाञ्चोक भगवतीको दर्शनबाट ऊर्जा लिई धुलिखेलसम्मको बिसौनी । मनभरि यात्रा स्मरण गुथेर !
                                                                             

  धुलिखेल, २०६२।११।९