अस्पतालमा आप्पा

अस्पतालमा आप्पा

करुणा राई  |  साहित्य  |  पुष १९, २०७६

सुन्दै छौ आप्पा ?
बालखमै दिइपठायौ मलाई जाँड-रक्सीको लोभले
कोसेलीमा जाँड-रक्सी नै टक्र्याउनुपर्थ्यो तिमीलाई
जाँड-रक्सीको भरिलो मटिया देखेर तिमी खुसी भएको
खुब मन पर्थ्यो मलाई पनि
दाँतले छाडी गएको थोते गिजा देखाउँदै
हाँसेको हेर्नकै लागि छुट्टै तिम्रा लागि
एक मटिया टक्र्याउँथेँ ।

एक दिन माइतीघर हिँड्दाहिँड्दै बाटोमा लड्दा
तिम्रो नामको मटिया फुट्यो
विना रक्सी म माइत आइपुगेँथेँ त्यो दिन
तिमीले त्यस दिन मलाई ‘मेरो छोरी हैनस्’ भन्दै
झ्याली पिटेको सम्झना छ कि छैन आप्पा ?

तिम्रा लागि आफ्नै बारीको अनार कोसेली ल्याउँदा
भुइँकटहर, आँप
मौसमअनुसारको फलफूल कोसेली ल्याउँदा
मलाई कहिल्यै छोरी भनेनौ ।

आप्पा !
म तिमीले सोचेजति
रक्सी बोक्न सक्ने क्षमता भएकी छोरी हुँ र ?
तिमीले रक्सी पिएकै मौकामा त हो
आफ्नै उमेरको जँडियासँग
मलाई जिम्मा लगाई पठाएको
सुन्यौ आप्पा !
तिमीलाई कोसेली बोक्नका लागि
मैले तिम्रो ज्वाइँसँग रक्सी लुकाउनुपर्छ ।

आप्पा !
म कति अभागी छु है ?
आफ्नो लोग्नेको मुखबाट
रक्सीको गाँस छुटाएर आप्पालाई साँचlदिनुपर्ने
आप्पाको मुखबाट रक्सीको गाँस छुटाएर
लोग्नेलाई साँचlदिनुपर्ने
हो, सत्य !
म कति अभागी है आप्पा !

तिम्रो मुखबाट छोरी भन्ने शब्द सुन्नकै लागि
तिमीलाई रक्सी किन्ने पैसा जोहो गर्न
मैले धेरै पटक आधा पेट खाएकी छु
किनकि
तिमीले छोरी भन्दै खुसी भएर
मेरो नजिक बसेको मनपर्छ मलाई
एक मटिया रक्सी किन्नका लागि
माखमुन्द्रो बेचिरहनुपर्दैन
घरजग्गा पनि बेच्नुपर्दैन
बेच्न परे पनि यो सब कहाँ छ र मसँग
दुई दिन पसिना बेचे भइहाल्छ
एक माउ पोथी बेचे पनि हुन्छ
एक हर्पे घ्यू बेचे नि पुग्छ
मैले यिनै कुराहरू त हो बेचेको
तिम्रो नामको मटिया भर्न ।

यसरी तिमीलाई खुसी बनाउन
रक्सी बोक्दाबोक्दै मैले
तिम्रा शरीरका अङ्गहरूले
तिमीसँग बिदा लिइरहेको पत्तै पाइनछु
कम्तीमा तिमीलाई त भने होलान् नि !
तिम्रा शरीरका अङ्गहरूले
कि तिमीले पिएको रक्सीले मलाई पोल्यो
मलाई दुःख्यो
मलाई खायो ...!

आप्पा !
किन महसुस गरेनौ पीडा ?  
किन सुनेनौ तिमीले
आफ्नो शरीरका महत्त्वपूर्ण अङ्गहरूको चिच्याहट ?

मेरो कोसेली भरिलो मटियाको रक्सीले
तिम्रो शरीर रित्तो बनाउला कहाँ सोचेँ र मैले
तिमीलाई त रक्सी भए भइहाल्थ्यो
मलाई तिमीले खुसी हुँदै छोरी भन्दिए पुगिहाल्थ्यो
तर, अब मलाई यत्तिले पुग्दैन आप्पा !
मलाई तिमी चाहिन्छ
मलाई आप्पा चाहिन्छ ...! 

धरान, सुनसरी