उखु किसानको आँसु

उखु किसानको आँसु

धनप्रसाद सुवेदी  |  साहित्य  |  पुष १९, २०७६

 आहाल बनेको छ 
 माइतीघर सडकमा 
त्यही आहालमाथिबाट 
 घनश्यामहरू चिल्ला गाडीमा हुइँकिन्छन्

अनि सिंहदरबारभित्र पस्छन्
मन्त्रीको गाडी चढ्न नपाएका 
र सिंहदरबारको कुर्सी नभेटेका
अरु घनश्यामहरू
कहिले माइतीघर मण्डलामा रोइरहेका
किसानलाई हेर्छन् र चुकचुकाउँछन्

कहिले सिंहदरबार छिरिरहने 
झन्डाबाल चिल्ला गाडी हेरेर
घुटुक्क थुक निल्छन्

सिंहदरबारको कुर्सीमा पुग्ने
अनेक बाटाहरु छन् 
नेताकहाँ धाउने,
....दूतावासतिर छिर्ने 
चर्का भाषण गर्ने 
र किताब लेख्ने 
किसानको आँसुले
किताब लेख्ने राम्रो खुराक मिल्छ तिनीहरूलाई 

सडकका घनश्यामहरू
अब समाजवादको किताब लेख्छन् 
सम्भव छ-
अर्को साल 
किसानहरू 
यसरी नै माइतीघरमा रुँदै गर्दा
पर्यटन बोर्डमा समाजवादका किताबहरू विमोचन हुनेछन् 
र फेरि अर्को वर्ष
सडकका घनश्यामहरू
किसानका आँसुको दहमाथि झन्डाबाल कारमा हुइँकिने छन्

त्यतिबेला
मन्त्रीच्यूत घनश्यामहरू
माइतीघर मण्डलाको
किसानको धर्नास्थलको सभामा
किसानको पक्षमा 
चर्को भाषण गरिरहेका हुनेछन् 
र छेवैमा हुनेछ-
'समाजवाद सम्बन्धी किताब बिक्री कक्ष'