तारकब्रम्ह कूटस्थ पुरुषको पूजा र 'सर्वदा' समयकाे सन्दर्भ

तारकब्रम्ह कूटस्थ पुरुषको पूजा र  'सर्वदा' समयकाे सन्दर्भ

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  पुष १९, २०७६

   समं कायशिरोग्रीवं धारयन्नचलं स्थिरः ।
    संप्रेक्ष्य नासिकाग्रं स्वं दिशश्चानवलोकयन् ।। १३ ।।

अन्वय र अर्थ – कायशिरोग्रीवं (शरीरस्य मध्यमागः शिरग्रीवा च) (मूलाधारादारभ्य मूद्र्धाग्रपर्यन्तं) = शरीरको मध्य भाग, शिर तथा गर्दनलाई, समं (अवक्रं) = समान, अचलं = स्थिर, च = पनि, धारयन् = धारण गरेर, स्थिरः (दृढ प्रयत्नः सन्) = दृढ प्रयत्नका साथ, स्वं = आफ्नो, नासिकाग्रं (नासिकायाः अग्रं–शीर्षदेशं भ्रुवोर्मभ्यभागमित्यर्थः) = नाको अग्रभाग आँखिभौंको वीचमा, संप्रेक्ष्य = भ्रूमध्यमा दृष्टि दिएर, दिशः च = अरू दिशाहरू प्रति पनि, अनवलोकयन् = दृष्टि नदिंदो छँदो, (योगं युञ्ज्यात् = योगाभ्यास गरोस्) ।

भावार्थ – काय (शरीरको मध्यभाग) शिर र ग्रीवालाई समान र अचलभावमा राखेर दृढ प्रयत्नका साथ आफ्नो नासिकाको अग्रभागमा दृष्टि स्थिर गरेर, अरू कुनै दिशामा अवलोकन नगरिकन –योगाभ्यास गरोस् ।

विशिष्टार्थ – पूर्व श्लोकमा योगाभ्यासका आसन प्रकरण बारे बताउँदै कस्तो प्रकार भावले शरीरलाई राख्नु पर्छ भनिएको थियो, त्यही कुरा यस श्लोकमा पनि बताइएको छ । दुबै स्कन्धलाई स्वाभाविक अवस्थामा राखेर, छातीलाई  अगाडि तन्काएर, कम्मर–पीठलाई सीधा गरेर, च्यूंडोलाई घुचुक रुद्रघण्टी तिर अलिकति झुकाएर मस्तकलाई जति खडा गर्न सकिन्छ गर्नाले नै  'समं कायशिरो ग्रीव' हुन जान्छ । मस्तक, गर्दन र पीठको रीड (मेरुदण्ड) लाई यस्तो भावले सीधा गर्नु पर्छ ता कि यी तीनै एक होउन्, कुनै प्रकारले हल्लिन नसकून् ।  यसरी शरीरलाई धारण गरेर मस्तक ग्रन्थीलाईपछाडिबाट दुबै भ्रूको ठीक वीचमा जहाँ आज्ञाचक्र छ त्यही स्थानमा मनै मनले हेर्नु पर्छ, आँखामा कुनै प्रकारको जवर्जस्ती गर्नु हुँदैन, आँखा चिम्लेर भित्र भित्रै स्वाभाविक भावले मनै मनमा दृष्टि प्रक्षेप गर्नाले नै दृष्टि  भ्रूमध्यमा स्थिर हुन्छ । यसरी दृष्टि स्थिर गरेर क्रिया गर्नाले दसै दिशामा नाना, प्रकारका रंगी विरंगी दृश्यहरू दर्शमा आउंछन् । परन्तु ती सबैलाई मन लगाएर हेर्नु हुँदैन । दृष्टिलाई केवल ठीक मध्यमा राख्नु पर्छ । यस प्रकाको भावले योगानुष्ठान गर्नु कर्तव्य हो ।

 प्रशान्तात्मा विगतभी ब्र्रह्मचारीव्रते स्थितः ।
  मनः संयम्य मच्चित्ते युक्त आसीत मत्परः ।। १४ ।।

अन्वय र अर्थ – (तदनन्तरं = त्यसपछि) प्रशान्तात्मा = अत्यन्त शान्त अन्तःकरण भएको,  विगतभीः = भय रहित, ब्रम्हचारीव्रते = ब्रम्हचारीको व्रतमा, स्थितः = रहेको, मनः = मनका वृत्तिहरूलाई, संयम्य = नियन्त्रणमा लिएर, मच्चितः = चित्तलाई ममा अर्पित गरेको, मत्परः = मलाई नै सर्व श्रेष्ठ मान्ने, (एवं = यसरी), युक्तः = समाहित भएको (छँदो), आसीत = बसोस् ।

जुन प्रकारको समाहित अवस्थामा प्रज्ञा अर्थात् ज्ञान रहन्छ अर्थात् जुन अवस्थामा अन्तःकरण सर्वतोभावले आत्मलक्ष्यमा आवद्ध हुन्छ, विक्षेपको नाम मात्र पनि रहदैन, किन्तु आफ्नाे  अस्तित्वको विभिन्न अवस्थाको बोधन भइरहन्छ, यस प्रकारको समाधिलाई संप्रज्ञात समाधि भन्दछन् । सम्प्रज्ञात समाधि फेरि अन्तःकरणको मन,बुद्धि, अहंकार, चित्त यसक्रमको क्षेत्र भेदले वितर्क–विचार–आनन्द र अस्मिता यी चार प्रकारको छ ।

भावार्थ – त्यसपछि प्रशान्तात्मा, भय रहित, ब्रह्मर्यशील, संयतमना, मग्दतचित्त, मत्परायण र युक्त भएर स्थिर रहोस् ।

विशिष्टार्थ – पूर्व श्लोकको उपदेश अनुसार योगानुष्ठान गर्नाले आत्मशुद्धि हुन्छ । तब अन्तःकरण प्रशान्त हुन्छ अर्थात् विक्षेप बर्जित भएर कूटस्थमा स्थिर हुन्छ, कुनै डर रहदैन, विक्षेप नरहेपछि विच्युत हुने संभावना हटेर निर्भय हुन्छ । यस अवस्थामा प्राकृतिकसंग त्याग हुनाले अन्तर्देशमा जुन नादब्रम्हको उत्थान हुन्छ  साधक त्यसैको अनुसरण गर्दछन्, अनि अरू कुनै क्रिया गर्दैनन्, कर्मत्यागी हुन्छन्, सहस्रारमा पुग्दछन् । यस अवस्थामा केवल नादब्रम्हको मात्र अवलम्बन हुनाले तिनीहरू ब्रम्हचारी हुन्छन्, तिनीहरूको मनको संकल्प विकल्प क्रिया स्वतः हटेर जान्छ, यसरी संयतमना हुन्छ । चित्त पनि क्रम अनुसार सोही नादको  अभ्यन्तरमा प्रवेश गरिरहँदा एक अपूर्व ज्योति लक्षित हुन्छ, पछि त्यस ज्योतिभित्र प्रवेश पनि गर्दछ । अन्तमा त्यो अन्तरनुसरण वृत्ति मेटिएर स्थिर अवस्था आउँछ, त्यसैलाई मत्पर (मन्निष्ठ) अवस्था भन्दछन् । त्यसपछि अरू चित्रवृत्ति रहदैन, त्यसै ज्योतिमा मिलेर युक्त हुन्छ, यसैलाई वृत्ति विस्मरण  वा  चित्तवृत्तिको  निरोध  वा  समाधान  अवस्था युक्त (योगप्राप्त) समाहित अवस्था भन्दछन् । यस अवस्थामा शरीर एक पानीले भरिएको कुम्भ जस्तै वसिरहन्छ । 

    युञ्जभेवं सदात्मानं योगी नियतमानसः ।
    शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छति ।। १५ ।।

अन्वय र अर्थ – एवं (यथोक्तेन विधानेन) = यसरी, सदा = सदा, आत्मानं = अन्तःकरणलाई, युञ्जन् = समाहित गर्दो छँदो, नियत मानसः = संयतचित्त भएर,योगी = योगीले, निर्वाणपरमां = मोक्षको अन्तिम स्थितिरूप, मत्संस्था = मेरो अधिनमा रहेको, शान्तिं = संसारबाट उपरति (निवृत्ति), अधिगच्छति = प्राप्त गर्दछ ।

भावार्थ – यथोक्त विधान अनुसार मनलाई सदा समाहित गर्दै गर्दै संयतचित्त भएर योगीले आत्मामा स्थित जुन निर्वाणरूप परम शान्ति हो त्यसलाई प्राप्त गर्दछ ।

विशिष्टार्थ – ब्रम्हानिर्वाण नै परम शान्ति योगको चरम फल हो । सदा सर्वदा समाधिको अभ्यास गरिरहँदा नै त्यो प्राप्त हुन्छ । यस श्लोकको 'सदा' शब्द र दशम श्लोकको  'सतत' एकार्थ प्रति पादक हुन् अर्थात् यी दुवैको अर्थ सर्वदा हो । तर योगाभ्यासीका लागि अविच्छिन्न भावमा समाधि भोग असंभव छ, त्यसो हो भने दुबै एउटै कसरी हुन्छ ? फेरि योगशास्त्रमा भनिएको छ 'दिबा न पूजयेल्लिङ्गं रात्रौ नैव च पूजयेत् । सर्वदा पूजयेल्लिङ्गं दिवारात्रिनिरोधतः ।' अर्थात् तारकब्रम्ह कूटस्थ पुरुषको पूजा दिनमा पनि गर्नु हुँदैन, रातमा पनि गर्नु हुँदैन, सर्वदा गर्नु पर्छ, त्यसो भएपछि सर्वसिद्धि प्राप्त हुन्छ । 'सर्वदा' के लाई भन्दछन् ? सूर्योदय देखि सूर्यास्त पर्यन्त दिवा, सूर्यास्तदेखि सूर्योदय पर्यन्त निशा हो । दुबै अर्थात् यस निशामा सांझ ९.३० वजे देखि विहान ४.३० वजेसम्मको ७ घण्टालाई महानिशा वा सर्वदा भन्दछन् । यस समयमा पूजा गर्नाले इष्ट देवता प्रसन्न भएर सर्वसिद्धि प्रदान गर्दछन् । अतएव यसको नाम सर्वदा भयो । यहाँ यो काल निरूपण यस श्लोकको बाह्य अर्थलाई लिएर भएको छ ।

यसको आध्यात्मिक अर्थ हो – दिवा = सूर्य संचारमा अर्थात पिङ्गलामा, रात्रौ = चन्द्र संचारमा अर्थात् इडामा । कूटस्थ ब्रम्हको पूजा गर्नु छ भने इडा तथा पिङ्गलालाई भित्र पठाएर अर्थात् इडा र पिङ्गलालाई निरोध गरेर सुषुम्नाको भित्रबाट प्राण चालन गर्नु पर्दछ । यसो गर्नाले मन स्थिर हुन्छ, अनि कूटस्थ भेद भएर परम शिवमा  लय हुन्छ । 'सुषुम्नान्तर्गते वायौ मनः स्थैर्यं प्रजायते' । सुषुम्ना नै सर्वसिद्धि दायिनी हो । अतः यसलाई  'सर्वदा' भन्दछन् । यस सर्वदालाई लक्ष्य गरेर नै 'सदा' र  'सतत' शब्द प्रयोग  गरिएको छ । यो समय नै योगाभ्यासका लागि प्रकृष्ट समय जान्नु पर्छ किन कि अष्ट प्रहरभित्र यस समयमा नै तमोगुणको पूर्ण प्रभाव रहन्छ, यस समयमा क्रिया गर्नाले मन शीघ्र विशुद्ध तमको आकर्षणमा परेर स्थिर  भएर स्थिति पद पाउँछ, अर्थात् समाहित हुन्छ । पहिले पहिले समाधि क्षणिक स्थायी हुन्छ, लगातार अभ्यासलाई वढाउँदै जाँदा स्थितिकाल पनि बढ्छ ।

अवलम्बनका भेदले समाधि दुई प्रकाका छन् – जड समाधि र चैतन्य समाधि । ध्यानावस्थामा कुनै प्राकृतिक पदार्थको अवलम्बन गरेर यदि अन्तःकरण वृत्ति हट्छ भने त्यसलाई जड समाधि भन्दछन् । यो निकृष्ट समाधि हो । परन्तु ध्यानावस्था चैतन्य वा आत्माबाट च्युत नभैकन यदि म त्यस चैतन्य वा आत्मामा नै लीन हुन्छ भने त्यसलाई  चैतन्य  समाधि भनिन्छ । यो चैतन्य समाधि नै यस श्लोकमा 'मत्संस्थां शान्ति' हो । चैतन्य समाधिलाई नै योगशास्त्रमा समाधि भनिन्छ । यो समाधि पनि दुई प्रकारको छ – संप्रज्ञात र असंप्रज्ञात ।

जुन प्रकारको समाहित अवस्थामा प्रज्ञा अर्थात् ज्ञान रहन्छ अर्थात् जुन अवस्थामा अन्तःकरण सर्वतोभावले आत्मलक्ष्यमा आवद्ध हुन्छ, विक्षेपको नाम मात्र पनि रहदैन, किन्तु आफ्नाे  अस्तित्वको विभिन्न अवस्थाको बोधन भइरहन्छ, यस प्रकारको समाधिलाई संप्रज्ञात समाधि भन्दछन् । सम्प्रज्ञात समाधि फेरि अन्तःकरणको मन,बुद्धि, अहंकार, चित्त यसक्रमको क्षेत्र भेदले वितर्क–विचार–आनन्द र अस्मिता यी चार प्रकारको छ । अनि जब सबै मेटिन्छ, वृत्तिविस्मरण अवस्था आउँछ, कुनै ज्ञान नै रहदैन त्यसैलाई असम्ज्ञात समाधि भन्दछन् । यो नै सर्वोत्कृष्ट चरम समाधि हो, यो सर्वोत्कृष्ट असंप्रज्ञात समाधि नै यस श्लोकमा 'मत्संस्थां निर्वाणपरमां शान्तिं' अर्थात् चैतन्यमा निर्वाणरूप शान्ति (चैतन्यमा मिलेर विलय हुने अवस्था) हो ।

    नास्त्यश्नथस्तु योगोऽस्ति न चैकान्तमनश्नतः ।
    न चाति स्वप्नशीलस्य जाग्रतो नैव चार्जुन ।। १६ ।।

 

क्रमशः

याे पिन

मृत्यु र समाधिमा फरकः देह त्याग हुने र नहुने अज्ञानता

आत्मा सुख: जसले जान्यो, सम्झ्यो त्यो भाषामा व्यक्त गर्न कठीन

ज्ञान बिनाकाे प्राणायामको फल क्षणिकमात्र

कर्मयोग र संन्यासयोगका सूत्रः साधना र अभ्यास कसरी ?

ज्ञान र विज्ञानकाे अन्तरात्माः  ब्रम्हज्ञान अर्थात् आत्मज्ञान