चन्द्रमामा पुग्ने पहिलो वस्तु के थियो ?

चन्द्रमामा पुग्ने पहिलो वस्तु के थियो ?

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  पुष २०, २०७६

विज्ञानमा रुचि हुने एवं विद्यार्थीवर्गलाइ एउटा प्रश्न सोध्ने हो भने अधिकांशको जबाफ एउटै हुनेछ ।  ल भन्नुस त सर्वप्रथम, चन्द्रमामा कुन देश र कुन देश निर्मित वस्तु  पुगेको थियो ?  निश्चय पनि तपाईँहरूको जबाफ अमेरिका हुन्छ होला । तर के तपाइलाई थाहा छ,यो जबाफ गलत हो । प्रश्नलाई फेरी एकपटक पढ्नुस् ।  प्रश्न चन्द्रमामा कुन देशका मानिस सर्वप्रथम  ओर्लिए भन्ने होइन ,वरन प्रश्न, चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो भन्ने हो । यस प्रश्नमा  तपाईँको जबाफ  यदि २०  जुलाई १९६९ एवं अमेरिका हो भने, यो सरासर  गलत हो ।  तत्कालीन सोभियत  सङ्घ एवं आजको रुसले   १३ सेप्टेम्बर सन १९५९ मै चन्द्रमामा अवतरण गरिसकेको  थियो । 

झन्डै  ६० वर्ष अगाडि पृथ्वीबाट ११.२ किमि प्रति  सेकेन्डको गतिले उडेर  झन्डै ३८ घण्टे लामो यात्रा पश्चात्  रुसले प्रक्षेपण गरेको 'लूना-२' ले चन्द्रमामा पुग्ने सफलता पाएको थियो। पृथ्वी बाहेक सौर्यमण्डलका अन्य कुनै पिण्डमा मानिसले पठाए कुनै वस्तु पुगेको  यो  नै पहिलो घटना  थियो। रुस  पृथ्वी छाडेर अन्तरिक्षमा पुग्ने पहिलो देश हो,अन्तरिक्षमा मानिस पठाउने पहिलो देश पनि रुस हो र पृथ्वी बाहेक सौर्यमण्डलको अर्को कुनै खगोलीय पिण्ड फतेह गर्ने अभियान चलाउने देश पनि रुस नै हो । अमेरिका चन्द्रमामा पुग्नुभन्दा १० वर्ष पहिला नै रुस चन्द्रमामा पुगिसकेको थियो । 

रुसले लाइका भन्ने  कुकुरलाई 'स्पुतनिक- २' मार्फत अन्तरिक्षमा पठाई सकेको थियो । लाइकालाई अन्तरिक्षमा पुग्ने पहिलो प्राणीको श्रेय प्राप्त छ,पृथ्वी बाहिर मृत्युवरण गर्ने पहिलो प्राणीको  श्रेय पनि लाइकालाई नै प्राप्त छ ।

झन्डै ६० वर्ष पहिला मानिसले पृथ्वी र चन्द्रमा बिच रहेको ३ लाख ८४ हजार किमि दुरी पार गरेर पृथ्वीका मानिस  निर्मित कुनै वस्तु  (लूना-२) चन्द्रमामा  अवतरण गराएको  थियो ।यसपछि भने यो खगोलीय पिण्ड अर्थात्  पृथ्वीको प्राकृतिक उपग्रह चन्द्रमा मानिसको पहुँचबाट धेरै दिन  टाढा रहन सकेन । अनन्ततः रुसको यस चन्द्र अवतरणको  एक दशक  भित्रै २० जुलाई १९६९ मा 'चन्द्रयान ईगल' मार्फत अमेरिकाले  आफ्ना दुई जना चन्द्रयात्री  नील आर्मस्ट्रांग र एल्ड्रिन बजलाइ   चन्द्रमामा ओरालेर अन्तरिक्ष दौडमा रुससँग बाजी मार्‍याे  । नील  आर्मस्ट्रांग र एल्ड्रिन बजले चन्द्र धरातलमा विहार गरेर  मानिसको मनमा  हज़ारो वर्षदेखि रहिआएको चन्द्रमामा पुग्ने चाहना पूरा गरे । त्यसपछि त अन्य १० जना अमेरिकी नागरिकले पनि चन्द्र भ्रमण गरेर  त्यहाँबाट ३०० किलोभन्दा बढी  'सैंपल'  नै पृथ्वीमा लिएर आए ।

एक तथ्याङ्कअनुसार अहिले चन्द्र धरातलमा मानिसले छाडेका झन्डै ७५० विभिन्न वस्तु छरिएर रहेका छन् । अमेरिका बाहेक अन्य कुनै देशले आजका मितिसम्म  चन्द्रमामा मानिस पठाउन सकेका छैनन् ।  अन्य सबै देशले  चन्द्रमामा  मानवरहित यान भने पठाएका छन् ।  चन्द्रमामा  यान पठाउनु र त्यो यानमा मानिस राखेर पठाउनु  दुबैमा ठुलो  भिन्नता छ ।  चन्द्रमामा रुसले सर्वप्रथम पठाएको लूना-२ का माफिक यान पठाउनु  कतिपय देशका लागि ठुलो कुरा  रहेन ।  रुस र अमेरिका बाहेक चीन ,जापान ,युरोपियन स्पेस एजेन्सी ,इजरायल र भारतले चन्द्रमामा आफ्ना यान पठाउने सफलता पाईसकेका छन् । तर चन्द्रमामा 'सॉफ्ट ल्यान्डिंग' गर्ने श्रेय भने अमेरिका, रुस र चीन बाहेक कसैले प्राप्त गर्न सकेका छैनन् । यस दौडमा चौथो को हुने हो त्यो भविष्य  कै गर्भमा निहित छ । सन्  २०१९ को प्रारम्भ मै  इजरायलको यान चन्द्रमामा 'ल्याण्ड' गर्नुभन्दा २० किमी पहिला र वर्षको मध्यतिर  भारतले पठाएको यान चन्द्रमामा  'ल्याण्ड' गर्नु पूर्व २ किमी पहिला नै दुर्घटना ग्रस्त हुन पुगेका थिए ।यसैगरी चन्द्रमामा मानिस पठाउने दोस्रो देश को हुने हो ? यस दौडमा रुस, चीन, भारत, जापान ,इजरायल मात्रै होइनन् अब त केही प्राइभेट कम्पनी पनि प्रतिस्पर्धामा रहेका छन् । निकट भविष्य मै चन्द्रमा मानिसका लागि पर्यटकीय गन्तव्य हुनेछ र पृथ्वीको ऊर्जा सङ्कट  टार्न चन्द्रमाको धूलो आयात हुन थालिने छ ।  

चन्द्रमामा पुग्ने पहिलो मानिसमा नील र बजको नाम आए जस्तै चन्द्रमामा पुग्ने  पहिलो वस्तुमा 'लूना '२' यानको नाम सम्झिनु पर्छ । चन्द्रमामा पठाइने कुनै पनि अभियान  स्पेस मिसन  अन्तर्गत नै आउँछन् । पृथ्वीका मानिसको 'स्पेस' यात्राको प्रारम्भ ४ अक्टोबर १९५७ मा भएको थियो ।यस दिन 'स्पुतनिक-१'  यान मार्फत रुस सबैभन्दा पहिला अन्तरिक्षमा पुगेको थियो । अमेरिकालाई भने यो उपलब्धि हासिल गर्न  रुसपछि झन्डै ४ महिना लाग्यो । १ फेब्रुअरी १९५८ का दिन 'जुपिटर-सी रकेट'बाट  अमेरिका पहिलो पटक अन्तरिक्षमा पुगेको थियो । तर अमेरिकनहरू 'स्पेस' मा पुग्नुभन्दा पहिला नै  ३ नोभेम्बर १९५७ मा  रुसले लाइका भन्ने  कुकुरलाई 'स्पुतनिक- २' मार्फत अन्तरिक्षमा पठाई सकेको थियो । लाइकालाई अन्तरिक्षमा पुग्ने पहिलो प्राणीको श्रेय प्राप्त छ,पृथ्वी बाहिर मृत्युवरण गर्ने पहिलो प्राणीको  श्रेय पनि लाइकालाई नै प्राप्त छ ।

१२ अप्रिल १९६१ को दिन पनि रुस कै नाममा  सुनका अक्षरले सुशोभित छ । यस दिन मानवताको इतिहासमा पहिलो पटक  'वोस्तोक-के रकेट'बाट यूरी गागरिन पहिलो मानिसका रूपमा अन्तरिक्षमा पुगेर फर्किन सफल भएका थिए।  अमेरिकाले यहाँ पनि रुससँग झन्डै तीन साताले मात खानु पर्‍यो । ५ मे १९६१ का दिन  'मर्क्युरी रेड स्टोन रकेट'बाट 'फ्रीडम -७ स्पेसक्राफ्ट' मा बसेर ऐलन शेपर्ड  अन्तरिक्षमा पुग्ने पहिलो अमेरिकन बनेका थिए  ।

अन्तरिक्षमा पुगेर पृथ्वीको पहिलो परिक्रमा गर्ने श्रेय भने अमेरिकन नागरिक जॉन ग्लेनले पाए । २० फेब्रुअरी १९६२ का दिन  'ऐटलस रकेट'बाट प्रक्षेपित 'फ्रेंडशिप -७  स्पेसक्राफ्ट' मा बसेर उनले अन्तरिक्षको १६०x२६१ उचाइबाट २८२०० किमी प्रति घण्टाको वेगले झन्डै १२१७९४ किमी यात्रा गर्ने रेकर्ड राखेका थिए।

तर के अन्तरिक्षमा पुग्ने पहिलो वस्तु 'स्पुतनिक -१' थियो र ? ध्यान दिनु होला, मैले वस्तु भनिरहेको छु । यसबारे चर्चा अर्को कुनै दिन गरौला । तपाईलाई आश्चर्य लाग्ला, अन्तरिक्षमा पुग्ने पहिलो वस्तु रकेट नभएर अरू नै केही थियो । न उड़नसक्ने, न गुडनसक्ने,के थियो त्यो वस्तु ? यसबारे चर्चा शीघ्र  नै गर्नेछु ।त्यो थाहा पाएपछि तपाईलाई लाग्ला यदि त्यो वस्तु कुनै 'एलियन' ले भेट्टाए भने पक्कै उनीहरूले भन्ने छन् -कस्तो बुद्धिमा बिर्को लागेका प्राणी हुन पृथ्वीवासी !?