हेटौडामा माक्र्सवादी दर्शन र उपन्यासमा आञ्चलिकताबारे बहस

हेटौडामा माक्र्सवादी दर्शन र उपन्यासमा आञ्चलिकताबारे बहस

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष २१, २०७६

मकवानपुर  । नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभाग तथा आख्यान विभागसँगको सहकार्यमा नारी साहित्यकारहरूको संस्था आँचल साहित्य–कला पुञ्ज मकवानपुरद्वारा २०७६ पुस १९ गते शनिबार हेटौडामा विचार गोष्ठी एवम् रचना वाचन कार्यक्रमको आयोजना गरिएकाे थियाे ।

गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्यायले  प्रज्ञा–प्रतिष्ठानले राजधानीमा मात्रै केन्द्रित नभएर सबै प्रदेश र स्थानीय तहमा समेत विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो । उपाध्यायले भन्नुभयो, 'अन्तराष्ट्रिय सम्बन्ध विस्तारका साथै प्रज्ञा–प्रतिष्ठान ‘महाकवि देवकोटा सङ्ग्रहलाय’को निर्माण, ‘नेपाल दर्पण’ र ‘नेपाली दर्शन’जस्ता राष्ट्रिय गौरवका गौरवमय कार्यहरूको कार्यान्वयनको क्रममा अग्रसर छ ।  

प्रज्ञा–प्रतिष्ठानका समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा. गोपीन्द्र पौडेलले कार्यक्रममा ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली कथामा त्यसको प्रयोग’ र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष समेत रहेका साहित्यकार निमिष निखिलले ‘समकालीन नेपाली उपन्यासमा आञ्चलिकता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानकी आख्यान विभाग प्रमुख माया ठकुरीले आख्यान विभागका समग्र गतिविधिबारे प्रकाश पार्दै आञ्चलिकताले उपन्यासलाई स्वादिलो बनाउने विचार व्यक्त गर्नुभयो ।  

कार्यक्रममा प्रा.डा. पौडेलले कार्यपत्र प्रस्तुत गर्दै माक्र्सवाद जीवन र जगत्लाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने उन्नत एवम् वैज्ञानिक चिन्तन भएको उल्लेख गर्नुभयो ।  उहाँले दर्शनका दुई शाखा आदर्शवादी दर्शन र भौतिकवादी दर्शनमध्ये माक्र्सवाद द्वन्द्वात्मक भौतिकवाद एवम् ऐतिहासिक भौतिकवादको योगबाट निर्मित दार्शनिक चिन्तन एवम् प्रणाली भएको बताउनुभयो । मानव समाजमा हुने परिवर्तन द्वन्द्वात्मक भौतिकवादी विधिअनुरूप हुने हुँदा कलासाहित्यले पनि परिवर्तनका पक्षमा वकालत गर्ने उहाँको ठम्याइ थियो । नेपाली समाज र जीवनपरिवेशका सन्दर्भमा २०५२ साल यताको समयावधि नै समकालीनता भएको उहाँको दाबी थियो । उहाँको कार्यपत्रमाथि मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक घनश्याम घिमिरेले समीक्षा गर्नुभएको थियो ।

यसै गरी निखिलले ‘समकालीन नेपाली उपन्यासमा अञ्चलिकता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै भूगोल, संस्कृति, समाज र भाषालाई मुख्य आधार बनाएर कुनै स्थानविशेषका पात्र र त्यहाँको मनो–सामाजिक–सांस्कृतिक लगायतका समग्र चरित्रलाई पृथक् ढङ्गले प्रस्तुत गर्ने उपन्यास नै आञ्चलिक उपन्यास भएको बताउनुभयो । उहाँले शङ्कर कोइरालाको ‘खैरेनीघाट’ नेपाली आञ्चलिक उपन्यासको पहिलो आदर्श मानिने उल्लेख गर्नुभयो । निखिलको कार्यपत्रमाथि आँचलकी सहसचिव निरा शर्माले समीक्षा गर्नुभएको थियो । दुवै कार्यपत्रमाथि कार्यक्रममा सहभागीबिच अन्तरविमर्श  समेत गरिएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा रचना वाचन गरिएको थियो । सो अवसरमा गजल, गद्य कविता, छन्द कविता, मुक्तक, हास्यव्यंग्य कविता, बाल कविता प्रस्तुत गरिएका थिए ।

आँचलकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार आरसी रिजाल, मुना अर्याल, देवराज खरेललगायतका साहित्यकारले बोल्नुभएको थियो ।