हराउँदो वैदिक चेतना पुनर्जागरणको खाँचो
पुष २१, २०७६

केही समयअघि फारसी संस्कृतिका बारेमा पढेको थिएँ । उनीहरूले पूजा गर्ने मन्दिरलाई ‘फायर टेम्पल’ भन्दा रहेछन्, त्यसमा ‘टावर अफ साइलेन्स’ भन्ने स्थल हुँदोरहेछ, जुन मान्छे मरेपछि अन्त्येष्टि गर्न प्रयोग गरिने रहेछ ।

गजब के लाग्यो भने फारसीहरूले मान्छे मरेपछि लासलाई त्यो फायर टेम्पलको टावर अफ साइलेन्समा लाने रहेछन् र त्यहाँ खुला आकाशमुनि राख्ने रहेछन् । वायुमा र खुला आकाशमुनि राखिएको त्यो लास र हाडहरू गिद्धहरू आएर खाने रहेछन् र यसलाई आकाश अन्त्येष्टि भनिने रहेछ ।

यसरी वायु, आकाश र मांशहारी पंक्षीलाई महत्त्व दिने आकाश अन्त्येष्टिले मलाई सोच्न बाध्य बनायो । मान्छे मरेपछि अन्त्येष्टि संस्कार गर्न हिन्दु मन्दिरहरू नजिक घाट हुन्छ भने चर्चहरूमा मान्छे पुर्ने जमिन अर्थात् सेमेटरी हुन्छ । हिन्दुहरूले पाँच तत्त्वमध्ये आगोमा मृत व्यक्तिको अन्तिम संस्कार गर्छन् भने क्रिश्चियनले जमिन अर्थात् पृथ्वीमा गाडेर लासको अन्तिम संस्कार गर्छन् ।

जलमा अन्तिम संस्कार सम्पन्न गर्ने पनि थुप्रो संस्कृतिको पृथ्वीमा अस्तित्व थियो र छ । प्यासिफिक आइल्याण्डहरूमा लासलाई डुंगामा राखेर पानीमा बगाउने, सोलोमन आइल्याण्डहरूमा लास सार्कहरूलाई खुवाउने र अन्य निकै ठाउँमा लासलाई कात्रोमा बेरेर ढुंगाले बाँधेर पानीमा डुबाउने चलन रहेको पाइन्छ ।

समुद्री यात्राको क्रममा मरेका मानिसहरूलाई पानीमै अन्त्येष्टि गरिन्छ भने एसियाका केही संस्कृतिहरूमा पानीमा खरानी छर्ने र हिन्दुहरूमा मान्छेको निधारको हाडको टुक्रो र खरानी (अस्तु) मृत्युको एक वर्षभित्रमा गंगा नदीमा बगाउने चलन रहिआएको छ ।

पानी र मान्छेको अमरताको सम्बन्ध सम्बन्धी मिथकहरू थुप्रो संस्कृतिमा पाउन सकिन्छ । यसबाट मैले बुझेअनुसार बाँच्नका लागि सबैभन्दा सरल र अनिवार्य सम्बन्ध हुने आधारभूत वस्तुहरूलाई पञ्चतत्त्व भनियो – जल, वायु, तेज, आकाश र पृथ्वी । यी पाँचवटा आधारभूत कुरा नभए मान्छे बाँच्न सक्दैन ।
यति कुरो भइसकेपछि यिनै पञ्चतत्त्वमा दिएको महत्त्वमा आधारित भएर मान्छेले फरक फरक संस्कार, संस्कृति विकास गरे भन्नु अतिशयोक्ति हुँदैन । कसैले पानीलाई बढी महत्त्व दिए, कसैले आगो (तेज)लाई । कसैले आकाशलाई बढी महत्त्व दिए, कसैले पृथ्वीलाई त कसैले जललाई ।

क्रिश्चियानिटीले संस्कार विकास गर्न सिकाएका पश्चिमाहरूमा अध्यात्मिकता कहिले थिएन र कहिले हुने पनि छैन । अध्यात्मिकता इन्द्रियभन्दा माथिको अनुभूति हो तर क्रिश्चियानिटीमा लोभ र त्रासको खेती नै धर्म रह्यो र आँखाले देखिने कुरा मात्र प्रमाण रहे । उनीहरू इन्द्रियभन्दा माथि उठेर प्रकृतिलाई महसुस गर्न नसक्ने भोगी, प्रकृतिको दोहनप्रति लोभी र भौतिकवादी नै रहे । उनीहरूको विश्व दृष्टिकोण यान्त्रिक रह्यो र मान्छे प्रकृतिको शासक हो, यसलाई मान्छेले जसरी पनि भोग गर्न, शासन गर्न पाउँछ भन्ने उनीहरूको मान्यता रह्यो ।

यो बाइबलप्रदत्त ज्ञान थियो । बाइबलको पुरानो करारका अनुसार जब परमेश्वरले प्रकृति तथा प्रथम मानिस आदमको सृष्टि गरे, उनले आदमलाई प्रकृतिमा भएका सबै कुराको नाम राख्न र तिनमाथि शासन गर्न लगाए । प्रकृतिमाथि मानव सर्वोच्चता भनेको यसमा शासन गर्नु र प्रकृति दोहन गरेर फाइदा लिनु हो भन्ने परमेश्वरले उनले सृष्टि गरेका आदिम मान्छेलाई सुरुमै सिकाएका थिए ।

उनले प्रकृतिमाथि विवेक देखाउनु नै तँ मान्छे हुनु हो भनेर भनेका थिएनन् । हिन्दुहरूले प्रकृतिका ढुंगा, माटो, खोला, रूख आदिलाई भगवान् बनाएर पूजा गर्दै, यज्ञ गर्दै पर्यावरण जोगाउँदै प्राणी मात्रको कल्याणमा जोड दिँदै मानवीय दया र संयममा आधारित गरेको संस्कारको विकास आफ्नो इन्द्रियजन्य भोग, स्वार्थभन्दा पर गएर मानव जातिको दिगो भविष्य लक्षित थियो । हिन्दुहरूका लागि वन्यजन्तुहरू भगवानका वाहन थिए, आदरणीय थिए तर यसको ठीक उल्टो प्रकृतिमाथिको भोग, शासन र दोहनमा आधारित मानव भविष्य नै संकटमा पार्ने भौतिकवादी, भोगवादी संस्कार क्रिश्चियनहरूमा विकास भयो किनभने उनीहरूको जडमै शासन र भोगको शिक्षा थियो ।

भनिन्छ, हिन्दु सभ्यता विश्वको प्राचीनतम् सभ्यता हो । वैदिक सभ्यता कम्तीमा १५ सयदेखि ४ हजार ईशापूर्वमा विकास भएको हो तर आँखाले देखेको कुरामा विश्वास गर्ने समयातीत कुराको बोध गर्न सक्ने अध्यात्मिकता नभएका पश्चिमाहरूले त्यो कुरालाई मान्नु भन्दा पनि आफूलाई सर्वश्रेष्ठ, प्राचीनतम् देखाउने होड कायम राखे ।

यसमा उनीहरूको प्रकृतिमा सर्वश्रेष्ठ शासक पश्चिमी मान्छे हो भन्ने संस्कारगत मान्यता र तिनको आँखाले देखेको कुरामा मात्र विश्वास गर्ने अध्यात्मको उपस्थितिशून्य भौतिकवादी दृष्टिकोण दुवैले सघाउ पुर्‍याए । पश्चिमा विज्ञानले फोसिल अध्ययन र हड्डी भेट्नु र आँखाले त्यसको रिपोर्ट हेर्नु अर्थात् इन्द्रियजन्य अवलोकनका कुरामा विश्वास गर्नु, अध्ययन गर्नुमा प्राचीनता देखिदियो ।

हिन्दुहरूले भने पर्यावरणको हिसाबले आफ्नो मरेपछि आफ्नो अस्तित्व पृथ्वीमा नराख्नु उचित देखे र लास आगोमा जलाउने संस्कार कायम राखे । आगोमा जलेपछि कुनै पनि अवशेष भेटिने कुरो रहेन । पश्चिमाहरूले आफ्नो मुलुकका विविध स्थानबाट पुराना हड्डी र अवशेषहरू फेला पारिरहे, जुन हिन्दुको हकमा संभव थिएन, हुँदैन ।

मानव जातिको भविष्य र सबै प्राणीको कल्याण हेर्ने हो भने अध्यात्मिकता, वैदिक शिक्षामा अबको विश्वको जोड रहनुपर्छ तर विश्व पशुवत् र भोगवादी हुँदै गएको समयमा विश्वले यस किसिमले सोच्ला भनेर मान्न सकिन्न ।

थुप्रो चर्चमा हाल लास गाड्ने ठाउँको अभाव भएको र त्यस प्रयोजनका लागि जमिन कम भइरहेको समाचार आइरहेका छन् । पश्चिमाहरूले पृथ्वीलाई कसरी जिउँदो हुँदा र मर्दासमेत ओगट्ने, सकेसम्म बढी ओगट्ने भन्ने अदूरदर्शी सोच राखेको र भविष्यमा के हुन्छ भन्ने नसोची पृथ्वीमा आफ्नो भौतिक उपस्थिति हरसंभव कायम राख्न बल गरेको प्रष्ट देखिन्छ ।

यो एक हिसाबको मानवीय, भौतिक लोभ हो । तुलनात्मक रूपमा हेर्दा वैदिक संस्कृति त्यागवादसँग र पश्चिमा संस्कृति भोगवादसँग जोडिएको प्रष्ट देखिन्छ ।

रमाइलो कुरो युद्धको ‘इथिक्स’ पनि हो । महाभारतकालमा त्यत्रो युद्ध भयो । त्यसपछि छपन्न कोटी यदुवंशी पनि युद्ध गरेरै समाप्त भए तर महाभारत युद्ध नियममा अत्यन्त शालीन युद्ध थियो । युद्ध सूर्योदयपछि सुरु हुन्थ्यो, बिहान युद्ध सुरु हुने बेलामा शंख फुकेर युद्ध सुरु भएको जानकारी भएपछि युद्ध सुरु हुने, बेलुका सूर्यास्तसँगै शंख ध्वनिसँगै युद्ध अन्त्य हुन्थ्यो ।

उच्च नैतिकता, मानवीय गुणले भरिएका नियममा चल्ने भएका हिन्दुहरूले कुनै पनि लास बेवारिस पारेनन् । सबै लासको अन्त्येष्टि गरे । शत्रु भनेपछि जुन बेला पनि पछाडिबाट छुरा हान्ने किसिमका, थाहै नपाई बम आक्रमण गरेर भाग्ने किसिमका कुरा त्यसबेला स्वीकार्य थिएनन् । यो युद्ध इथिक्स हेर्दा अहिले मान्छे विश्वमा पशुवत् बहुलट्ठीपनमा छ र आफ्नो फाइदाका लागि सबै किसिमले इथिक्स गुमाएको अवस्थामा छ भन्न सहजै सकिन्छ ।

यदुवंशीहरू युद्ध गरेर नास हुँदा पनि कृष्ण अन्त्यसम्म नै जीवित थिए । उनले सबैको संस्कारगत अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको बुझ्न सकिन्छ ।

पर्यावरणीय र इथिक्सको हिसाबले मात्र होइन, व्यवस्थागत हिसाबले पनि वैदिक सभ्यता अब्बल थियो भन्ने देखिन्छ । सर्वधर्म समभाव हिन्दुहरूको व्यावहारिक चिन्तन थियो । त्यसमा बहुल धर्मप्रतिको समभाव र सहिष्णुता कायम थियो । अझ रमाइलो कुरो त अथर्ववेदमा धर्मनिरपेक्षताकै नजिक रहेको अत्याधुनिक चिन्तन रहेको पाइन्छ ।

जनम् विभ्रती बहुथा विवाचसं नानाधर्माण पृथ्वी यथौंकसम् ।
सहस्त्रम् धारा द्रुविणस्य मे दुहां ध्रुवेव धेनरनपस्फुरन्ती ।।
(अथर्ववेद, १२/१)

यस श्लोकमा पृथ्वी विभिन्न भाषा बोल्ने, विभिन्न धर्म मान्ने तथा विभिन्न किसिमका आवासमा बस्ने मानिसहरू बसोवास गर्छन् । यी सबै मानिसलाई पृथ्वीले दुधालु गाई जसरी समान रूपमा समृद्धिको धारा सिंचन गरेको हुन्छ ।

जाति, धर्म, भाषाका आधारमा मानिस समान हुन् र पृथ्वीको सम्पतिमा यिनको बराबर अधिकार लाग्छ भन्ने कुरा वैदिक व्यवस्थामै उल्लेख भएको पाइन्छ । तर, मान्छेलाई पशुवत् व्यवहार गर्दै खरिद बिक्री गर्ने दास प्रथा रहेको अमेरिकाले सन् १७७६ मा मात्र आफ्नो स्वतन्त्रताको घोषणापत्रमा ईश्वले सबै मानिस बराबर बनाएर सिर्जना गरेका हुन् र यिनको स्वतन्त्रता अधिकार समान हुन्छ भनेर उल्लेख गरेको पाइन्छ ।

वैदिक सभ्यताको चेतना समात्ने हो भने विश्व अझै पनि सबै प्राणीको घर बन्न सक्छ तर त्यही अमेरिकाले अहिले आफ्नो प्रभुत्व र दादागिरी कायम राख्न विश्वमा नैतिकताबेगरको युद्धको उद्घोष गरिरहेको देखिन्छ, जसले मानवतालाई नै संकटमा पार्ने जोखिम बढाएको छ ।

मानव जातिको भविष्य र सबै प्राणीको कल्याण हेर्ने हो भने अध्यात्मिकता, वैदिक शिक्षामा अबको विश्वको जोड रहनुपर्छ तर विश्व पशुवत् र भोगवादी हुँदै गएको समयमा विश्वले यस किसिमले सोच्ला भनेर मान्न सकिन्न ।


अंग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएका प्रसाईंको नेपाली साहित्य र अनुवादमा रुचि छ ।