राष्ट्रियसभाः दुई वर्षपछि  प्रतिपक्ष बन्न पनि कांग्रेस अयोग्य

शुन्यता तर्फ कांग्रेस, १३-७, ६-२ = ४

राष्ट्रियसभाः दुई वर्षपछि  प्रतिपक्ष बन्न पनि कांग्रेस अयोग्य

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २१, २०७६

गतिलो कर्म नगर्ने अनि भाग्यलाई दोष दिएर बस्ने कुनै पार्टी छ भने त्यो हो, मुलुकको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस । चार दशकदेखि नेपाली राजनीतिमा सक्रिय पात्र बोकेर बसेको नेपाली कांग्रेसभित्र राजनीतिको सामान्य अङ्कगणित जान्ने पात्र पनि देखिएनन् । 

व्यवहारमा पढेर नजाने पनि परेर जानिन्छ भनिन्छ । तर, कांग्रेसले न त पढेर जान्यो, न परेर जान्यो ! त्यसैको एउटा उदाहरण हो, राष्ट्रियसभामा बिलाउन थालेको कांग्रेस ।

क्षेत्रीयता केन्द्रित राष्ट्रिय जनता पार्टीले पुर्‍याउन सकेको बुद्धि पनि पीएचडीवालाहरूको बिगबिगी रहेको नेपाली कांग्रेसभित्र देखिएको छैन । 

माग ९ गते राष्ट्रियसभाको १८ सिटमा चुनाव हुँदै छ । १८ सिटमा चुनाव गर्नका लागि कांग्रेसबाट सात जना बाहिरिँदै छन् । अब कांग्रेसको सात सिट पूर्ण रूपमा नेकपाले नै लिनेछ भने राजपाले आफ्नो सिट कायम नै राख्नेछ । यसो हुँदा तराई केन्द्रित मात्रै राजनीति गरेको राजपाकै हैसियततर्फ केन्द्रित देखिँदै छ कांग्रेस ।

कम्तीमा चार जनाले ६ वर्षको गोला टिप्न सफल भएका कारण कम्तीमा अझै चार वर्ष राष्ट्रियसभामा कांग्रेसको उपस्थिति रहने देखियो । तर, हैसियत भने राजपाको समान हुनेछ । अब प्रतिनिधिसभामा राजपा देखिएजस्तै राष्ट्रियसभामा कांग्रेस देखिनेछ । दुई वर्षपछि भने अहिले प्रतिनिधिसभामा स्वतन्त्र सदस्यको रूपमा रहेको नेमकिपा देखिए सरह नै कांग्रेस हुनेछ ।

राजनीतिमा आफूले जित्ने खेल मात्रै कहाँ हुन्छ ! प्रतिस्पर्धीलाई हराउने खेल पनि हुन्छ । अहिलेको अवस्थामा नेकपाका लागि कांग्रेस प्रतिस्पर्धी जस्तो पनि नदेखिए तापनि नेकपाले प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसलाई थप कमजोर बनाउने उपयुक्त उपाय निकाल्यो । कांग्रेस  भने जिल्लाराम ! नेकपाले रूखको आँप झारेर पनि खान सक्दा बोक्रा तासेर राखेको आँप पनि कांग्रेसले मुखमा हाल्न सकेन । 

प्रदेश २ को मात्रै अङ्कगणित मिलाउन सकेको भए अहिले कांग्रेसको भागमा कम्तीमा दुई जना सदस्य थपिन सक्थे । ती सदस्यको कार्यकाल अबको ६ वर्षको हुने थियो । कम्तीमा ६ वर्षसम्म  कांग्रेसको उपस्थिति राष्ट्रियसभामा हुने थियो । त्यसका लागि कांग्रेससँग उपयुक्त आधार थियो । समाजवादी पार्टीले सरकारबाट बाहिरिने सङ्केत गरेको धेरै भएको थियो, राजपा सरकारको कामबाट थप असन्तुष्ट भएको थियो । यी विषयमा कांग्रेस, समाजवादी र राजपाको साझा धारणा मिल्न सक्थ्यो, यदि कांग्रेसले पहल गरेको थियो भने । 

सिकार गर्न नसक्ने बुढो सिंह जस्तो कांग्रेसमा यति बुद्धि पनि देखिएन । सम्भावित जोखिमलाई मध्यनजर गरेर राजपाले बुद्धि पुर्‍यायो र नेकपासँग समझदारी गर्‍यो । रूखको आँप टिप्न नेकपाका लागि राजपा सिँढी बन्यो । राजपालाई जसरी पनि  आँप टिप्नै पर्ने थियो । कसैले टिपेर दियो ।  राष्ट्रियसभाका दुई जना सदस्यमध्ये दुई जनाकै कार्यकाल दुई वर्षका लागि थियो । राजपा दुवै सिट सुरक्षित राख्न सक्षम भयो । 

१३-७, ६-२ = ४

गतिलो कर्म नगरेर पनि फलको आस भने गरिरहने कांग्रेस राष्ट्रियसभामा १३ सदस्यबाट ६ जनामा सीमित हुनेछ माघ ९ गतेबाट । त्यस्तै, २०७८ सालबाट भने चार जनामा सीमित हुनेछ । यदि कांग्रेसका सबै सदस्यले दुई जनाको गोला मात्रै टिपेको भए अहिले नै कांग्रेस राष्ट्रियसभामा शून्यमा झर्ने स्थिति थियो । कम्तीमा चार जनाले ६ वर्षको गोला टिप्न सफल भएका कारण कम्तीमा अझै चार वर्ष राष्ट्रियसभामा कांग्रेसको उपस्थिति रहने देखियो । तर, हैसियत भने राजपाको समान हुनेछ।  

अब प्रतिनिधिसभामा राजपा देखिएजस्तै राष्ट्रियसभामा कांग्रेस देखिनेछ । दुई वर्षपछि भने अहिले प्रतिनिधिसभामा स्वतन्त्र सदस्यको रूपमा रहेको नेमकिपा देखिए सरह नै कांग्रेस हुनेछ । 

दुई वर्षअघि गरिएको गोला प्रथामा कांग्रेसका १३ मध्ये सात जनाले दुई वर्षको कार्यकाल, दुई जनाले चार वर्षको कार्यकाल र चार जनाले छ वर्षको कार्यकाल भएको चिट्ठा थुतेका थिए । 

२०७८ माघसम्म राष्ट्रियसभामा कांग्रेसका तर्फबाट रमेशचन्द्र रायमाझी, जितेन्द्रनारायण देव, प्रकाश पन्त, अनिता देवकोटा, तारादेवी भट्ट र राधेश्याम अधिकारी हुनेछन् । दुई वर्षपछि भने भट्ट र अधिकारीको म्याद सकिनेछ। अन्य चार जना टुप्लुक्क देखिनेछन् ।

यदि समाजवादी र राजपा एकीकरण वा एक भयो र नेकपाले पनि कांग्रेसलाई देखाइदिने नीति लियो भने राष्ट्रियसभामा कांग्रेस प्रमुख प्रतिपक्षसमेत हुनेछैन।