विकासमा लापरवाही : सबस्टेसनको निर्माण सक्न एघार वर्ष

विकासमा लापरवाही : सबस्टेसनको निर्माण सक्न एघार वर्ष
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १२, २०७५

काठमाडौं । सामान्यतया एउटा सबस्टेसनको निर्माण सक्न कति समय लाग्ला ? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर, प्राधिकरणले नै निर्माण गरेको एक सबस्टेसनको निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ । 

सल्यानको शीतलपाटीमा रहेको ३३/११ किलोभोल्ट क्षमताको सबस्टेसनको निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको प्राधिकरणले जनाएको छ । २०६४ असार २५ गते निर्माण सुरु भएको सो सबस्टेसन शुक्रबार मात्रै औपचारिक रूपमा निर्माण सकिएको घोषणा भएको हो । 

सल्यानका तीन हजार र रुकुम पश्चिमका ९ हजार घरधुरीमा विद्युत् उपलब्ध गराउन महत्वपूर्ण मानिएको सबस्टेसन निर्माण हुन लामो समय लाग्दा स्थानीय विद्युत् उपभोक्ता समस्यामा परेका थिए । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार सो सबस्टेसनको उद्घाटन गर्नुभयो । सहज रूपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ निर्माण सुरु भएको सबस्टेसनको निर्माणकर्ता हरि निर्माण सेवा र राप्ती निर्मल निर्माण सेवा जेभी थियो । 

‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने नेपाली उखान जस्तै सधैं समस्यामा फस्दै आएको सो सबस्टेसनको निर्माण सम्पन्न गर्न प्राधिकरणले विशेष पहल गर्दै आएको र हाल आएर मात्र निर्माण सम्पन्न हुन सकेको कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । 

नेपाल सरकार र प्राधिकरणको कूल दुई करोड ९३ लाख ५३ हजार ६६६ रूपैयाँको कूल लागत रहेको सो सबस्टेसन ठेक्का सम्झौता भएको मितिले डेढ वर्षमा सकिनुपर्ने थियो । तर, ठेकेदारले तोकिएको समयमा काम नगर्दा सबस्टेसन निर्माण प्रक्रिया अवरुद्ध आएको थियो । 

सबस्टेसन नहुँदा सल्यान र रुकुमका उपभोक्ताले सहज रूपमा विद्युत् सेवा पाउन सकेका थिएनन् । बाह्र वर्षमा १४ मन्त्री फेरिए । तर, सामान्य सबस्टेसनसमेत नबन्दा स्थानीयले भरपर्दो विद्युत् सेवा नपाएको भन्दै पटकपटक सरकारको ध्यानाकर्षण गराएका थिए । सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद टेकबहादुर बस्नेतका अनुसार पछिल्लो समयमा प्राधिकरणको सकारात्मक पहल पछि आयोजना सम्पन्न भएको हो । 

मन्त्री पुनले आयोजना सम्पन्न हुन लामो समय लाग्नुको पछाडि ठेकेदारको बदमासी रहेको र कानुनी कारवाही नहुँदा ठेकेदारले नै मन्त्री चलाउने अवस्था देखिएको बताउनुभयो । 

मन्त्री पुनले तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारवाही हुने र समयमै काम सम्पन्न गर्नेलाई आगामी दिनका अन्य निर्माण कार्यको अवसर दिने बताउँदै आउनुभएको छ । 

कूल ३३ केभी क्षमताको सबस्टेसन निर्माणका लागि ठूलै प्रयास गर्नुपरेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालू आवमा ५५ सवस्टेसनको निर्माण र स्तरोन्नति सम्पन्न गर्ने जानकारी दिनुभएको खबर राससमा छ ।