एक मात्र सत्य मृत्युको भय र सत्कर्मको अपेक्षा
पुष २२, २०७६

मानिसलाई मृत्युदेखि अत्यन्त डर लाग्छ । मृत्यु भन्नासाथ सबै कुराको अन्त्य भनेर सोचिने भएकाले पनि मानिसलाई मृत्युदेखि अत्यन्त डर लाग्छ । भरखर मात्र दाहसंस्कारमा सामेल भएको व्यक्तिले समेत मेरो जीवनमा मृत्यु कहिल्यै आउँदैन र कहिल्यै नआए हुनेजस्तो व्यवहार मानिसले गर्छ । 

ऊ पो मर्‍यो, मेरो मृत्यु त अहिले कहाँ हुन्छ र ! भन्ने सोच्ने गर्छ । आर्यघाटमा मान्छे पोलेको देखेर एकैछिन गम्भीर भए पनि  गौशाला आइपुग्दासम्म उसले धेरै दुःख बिर्सिसकेको हुन्छ ।

अजम्बरी चोला लिएको झैँ गरी मानिस उही  नाम, दाम, सम्पति र पदका पछाडि दौडन्छन् ।मरेर जाँदा रित्तो हात जाने हो भनेर थाहा हुँदाहुँदै पनि बाँचुन्जेल तँछाड मछाड, लोभ–लालच, रिस–राग गर्ने यी सब मानिसका स्वभाव हुन् ।

मत्युदेखि डर लाग्नुको मुख्य कारण मोह हो । हामी सांसारिक मोहमा यति धेरै फसेका छौँ कि वर्णन गरी साध्य हुँदैन । म नभए त संसार नै चल्दैन भनेजस्तो गर्छौं । घर नै चल्दैन भनेजस्तो गर्छौं । आखिर जो नभए पनि घर पनि चल्छ, संसार पनि चल्छ ।

तर, आफूले जस्तो गरेको काम अर्को व्यक्तिले गर्दा नहुन सक्छ र केही दिनका लागि असहज हुन सक्छ । फेरि, पछि जसले घर चलायो, उसैका अनुसार घरमा एक प्रकारको सिस्टम बन्ने गर्छ र त्यो सजिलो हुँदै जान्छ ।

मानिसले बिर्सन्छ कि हामी यस पृथ्वीमा दुई दिनको पाहुना बनेर आएका हौँ । कसैको उपस्थिति नहुँदा संसार रोकिने भए संसार रोकिएको रोकियै हुनुपर्ने थियो ।

मत्यु असहज हुन्छ । यो कसैका लागि सह्य हुँदैन । मृत्युका कारण जोसुकै होस् दुःखी हुने गर्छ । मृत्यु अपूरणीय क्षति पनि हो । कसको मृत्यु कहिले हुने हो, कसैलाई थाहा हुँदैन । त्यसैले त भन्ने गरिन्छ, जन्म र मृत्यु भगवानको हातमा हुन्छ ।

जुन दिन भगवानले चाहन्छन्, त्यही दिन भगवानले टपक्क टिपेर लैजाने गर्छन् । त्यसैले मृत्यु मात्र एक यस्तो सत्य कुरा हो, जुन एक दिन हुन्छ नै । हामीलाई यी सब कुरा थाहा छ, मरेर केही लैजाने होइन भन्ने पनि थाहा छ । लगाएको एकसरो लुगा पनि छोडाएर नाङ्गै पारेर दाहसंस्कार गर्छन् भन्ने पनि थाहा छ ।

तर पनि मानिसले बाँचुन्जेल धन सम्पतिको लोभमा आफ्नो नाता गुमाउँछन् । रिस, राग, वैमनष्य गर्छन्, छुद्र बोलीले सधैँ अरूको मन दुखाउँछन् ।

डाक्टरी परिभाषाअनुसार मृत्यु भनेको श्वास प्रश्वास रोकिनु हो । विज्ञान र अध्यात्म दुवैले भन्ने गर्छन् कि श्वास प्रश्वास रोकिएपछि मानिसको शरीर क्रमशः मर्दै जान्छ । शरीरका अंगहरू मर्दै जानु भनेको शरीरका अंगले काम नगर्नु हो ।

मनमा दुःख भए पनि मरेका व्यक्तिको सम्झनामा केही राम्रो काम गरिदिने प्रचलन पनि बढ्दै गइरहेको छ । त्यसैले संसारमा सत्य कुराको खोजी गर्ने हो भने मृत्यु मात्र सत्य छ । जति बाँच्छौँ, यस पृथ्वीमा जति दिनका लागि भनेर आएका छौँ, सतकर्म नै गरेर मरौँ, हुन्न ?

जब शरीरका कुनै पनि अंगले काम गर्दैनन्, मानिसको मृत्यु भएको भन्ने गरिन्छ । केही विद्वानहरू तर्क गर्ने गर्छन् कि श्वास प्रश्वास बन्द हुँदैमा मानिसको मृत्यु भएको हुँदैन । मानिसको पूर्ण मृत्युका लागि दिमागको पूर्ण रूपमा मृत्यु हुनुपर्छ ।

तर, शरीरका थुप्रै अंगको मृत्यु भइसकेपछि मात्र दिमागको मृत्यु हुने गर्छ । मुटु धड्किन छाडेको घन्टौँसम्म पनि शरीर बाँचिरहेको हुन्छ भन्नेहरू पनि छन् ।

मानिसको मृत्यु विभिन्न कारणले हुन सक्छ । कसैलाई रोग लागेर मृत्यु हुन सक्छ । कोही बुढो भएर मर्छन् त कोही तन्नेरी अवस्थामै अकालमा मर्छन् तर धेरै मानिसको चाहना दुःख पाएर मर्नुभन्दा मृत्यु सहज होस् भन्ने हुँदोरहेछ ।

जो मानिसले जीवनलाई साँच्चिकै बुझेको छ र पृथ्वी मेरो अस्थायी घर हो भन्ने कुरा बुझेको हुन्छ, त्यस्ता व्यक्तिले मृत्युलाई सहज लिएका हुन्छन् । पृथ्वीमा रहुन्जेल त्यस्ता व्यक्तिले आफनो जीवनलाई सतकर्ममा नै लगाएका हुन्छन् । लोभ–लालच, रिस–राग, वैमनष्य र अरूलाई कुभलो हुने काम कमै मात्रामा गर्छन् ।

मृत्युपछि के हुन्छ ? कसैलाई थाहा हुँदैन । कसैले भन्छन्, शरीरलाई आगोले पोलेर खरानी बनाएपछि केही रहँदैन । हाम्रो शरीरका अंगले काम नगरेपछि शरीरको मृत्यु भए पनि हाम्रो आत्मा भने रहिरहन्छ भन्नेहरू पनि छन् । मृत्युपछि शरीर नष्ट भए पनि आत्मा वा 'कन्सियसनेसचा'हिँ रहिरहन्छ भन्नेहरू पनि छन् । 

स्वर्ग या नर्क कहाँ जान्छ भन्ने कुरा पनि मृत्युसँगै जोडिएर आउने गर्छ । राम्रो काम गर्‍यो भने स्वर्ग जान पाइन्छ अनि नराम्रो काम गर्‍यो भने नर्क गइन्छ रे ! भन्ने कुरा हामीले बच्चा अवस्थादेखि सुन्दै आएका हौँ । त्यसैले मानिसहरू हत्तपत्त नराम्रो काम गर्दैनथे ।

मृत्युपछि राम्रो काम गर्नेहरूले पुनर्जन्म लिएको कुरा गर्नेहरू पनि छन् । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसकेपछि आफूले जीवनको लक्ष्य भेटेको र अब कुनै पुनर्जन्मको आवश्यकता नपर्ने हुनाले अर्को जन्म नहुने बताएका थिए । बुद्धका अनुसार मृत्यु जीवनको अन्त्य होइन ।

त्यसैले मानिसको मृत्युपछि के हुन्छ भन्ने खास कारण पत्ता लगाउन नसकिए पनि मानिसको मृत्युपछि भौतिक शरीर भने रहँदैन । शरीरको उपस्थिति नै नरहेपछि मानिसहरूले सबथोक सकिएको ठान्ने गर्छन् ।

भगवान् श्रीकृष्णले गीतामा भनेका छन्, ‘आत्मा न कहिल्यै मर्छ, न त जन्म नै लिन्छ । तर, आत्माको अस्तित्व बाँकी रहने भएकाले समय आएपछि उसले पुनर्जन्म लिनुपर्छ ।’

पश्चिमा देशका वैज्ञानिकहरूले आत्माको अस्तित्व स्वीकार गरेका छन् । पूर्वजन्म, पुनर्जन्म, आत्मा, भूत, प्रेतका विषयमा भने खोजी गरिरहेका छन् ।

मानिस जन्मेपछि एक दिन अवश्य मर्छ । ढिलो चाँडोको कुरा मात्र हो । कोही मानिसको मृत्यु भयो भन्ने खबर सुन्यौँ भने हामीलाई अत्यन्त नरमाइलो लाग्ने गर्छ । पहिले पहिले त मानिसहरू धेरै दिनसम्म शोकमा डुब्ने गर्थे । अहिले आएर भने मानिसहरूले मृत्युलाई स्वाभाविक रूपमा लिन थालेका छन् ।

मनमा दुःख भए पनि मरेका व्यक्तिको सम्झनामा केही राम्रो काम गरिदिने प्रचलन पनि बढ्दै गइरहेको छ । त्यसैले संसारमा सत्य कुराको खोजी गर्ने हो भने एक मात्र सत्य मृत्यु  छ । जति बाँच्छौँ, यस पृथ्वीमा जति दिनका लागि भनेर आएका छौँ, सतकर्म नै गरेर मरौँ, हुन्न ?