जेएनयू हिंसा : दिल्ली प्रहरीमाथि पूर्वप्रहरी अधिकारीले उठाए प्रश्न

जेएनयू हिंसा : दिल्ली प्रहरीमाथि पूर्वप्रहरी अधिकारीले उठाए प्रश्न

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २२, २०७६

जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ भएको तोडफोड र हिंसामा केही विद्यार्थी र प्राध्यापक गम्भीर घाइते भएका छन् । यो पूरा घटनाक्रममा दिल्ली प्रहरीको रवैयालाई लिएर निरन्तर प्रश्न उठिरहेको छ ।

रिपोर्टहरूका अनुसार करिब ३० जनाको संख्यामा आएका नकावधारी लठ्ठी र फलामका रड लिएर आइतबार साँझ जेएनयूभित्र पसे । उनीहरूले क्याम्पसभित्र तोडफोड गरे र छात्राबासमा पसेर विद्यार्थीलाई पिटे ।

केही घन्टासम्म भएको उक्त हिंसामा केही विद्यार्थीलाई निकै मारपिट भयो । तर, यति हुँदा पनि सहयोग माग्दा दिल्ली प्रहरी क्याम्पसमा नआएको आरोप छ ।

यस मामलामा दिल्ली प्रहरी भन्छ कि ऊ जेएनयूका उपकुलपतिसँग अनुमति लिने प्रयास गरिरहेको थियो, यस कारण क्याम्पसभित्र गएन ।

यद्यपि, प्रहरीको यस जवाफप्रति पनि प्रश्न उठिरहेको छ । किनकि नागरिकता संशोधन विधेयकलाई लिएर भइरहेको विरोध प्रदर्शनका क्रममा दिल्ली प्रहरीमाथि जमिया मिल्लिया इस्लामियामा घुसेर विद्यार्थीलाई मारपिट गरेको र तोडफोड गरेको आरोप लागेको छ ।

दिल्ली प्रहरी भन्छ कि घटनालाई लिएर एफआईआर दर्ता गरिएको छ र प्रहरीले छानबिन गरिरहेको छ ।

जेएनयूको मामलामा प्रहरीले तत्काल सक्रियता किन देखाएन ? यस प्रश्नमाथि पूर्व आईपीएस अधिकारी तथा उत्तर प्रदेशका पूर्व प्रहरी महानिर्देशक प्रकाशसिंह भन्छन्, ‘विश्वविद्यालयमा प्रहरी घुसेमा त्यसबेला पनि आलोचना हुन्थ्यो कि विना अनुमति प्रहरी क्याम्पसमा छिर्‍यो भनेर । जब आएन, तब पनि आलोचना भयो कि हिंसा भइरहेको समयमा पनि प्रहरी आएन । यस कारण प्रहरीको भूमिका निकै गाह्रो छ । प्रश्न यो हो कि विश्वविद्यालय प्रशासनले कति बजे प्रहरीलाई बोलायो र प्रहरी कति बेला पुग्यो । छात्र संघका कुनै पदाधिकारीले यदि प्रहरीलाई बोलाएका भए यस्तो अवस्थामा प्रहरी नआउन सक्थ्यो किनकि यस्तोमा फेरि प्रश्न उठ्थ्यो कि प्रशासनको अनुमतिविना प्रहरी किन पस्यो ?’

यद्यपि, प्रहरीले सबै अवगस्थामा सधैँ प्रशासनको अनुमति कुरिरहेमा भने निकै ठूला दुर्घटना हुने उनले बताए ।

प्रहरीले परंपरा परिवर्तन गर्नुपर्छ

प्रकाश सिंले mभने, ‘यस परंपरालाई तोडिनुपर्छ । अहिलेका केटाहरू पेस्तोल, छुरी, बम लिएर क्याम्पसमा घुम्छन् । यदि प्रहरीलाई कुनै प्रकारको हिंसाको सूचना आएमा उसले क्याम्पसमा गएर एक्सन लिनुपर्छ । यस्तो स्थिति बनेमा कुनै अनुमति पर्खिनुको अर्थ छैन । तर, यो समाजले पनि स्वीकार गर्नुपर्छ ।’

उनले थपे, ‘अहिले सबैजसो क्याम्पसमा जुन प्रकारका आपराधिक घटना भइरहेका छन्, यस्तोमा प्रहरीले दिनहुँ अनुमति मागेर बसेमा हत्या र हिंसा भइसकेको हुन सक्छ ।’

दिल्ली प्रहरीका पीआरओ एमएस रंधावाका अनुसार आइतबार ५ बजे दिल्ली प्रहरीलाई एउटा कल आएको थियो, जसमा भनिएको थियो कि जेएनयूमा दुई पक्षबीच झगडा भएको छ । यसअघि पनि यस्ता झगडा भइरहेका थिए त्यहाँ ।

उता, उत्तर प्रदेशका पूर्व प्रहरी महानिर्देशक विक्रम सिंहले भने, ‘प्रहरीको तर्क छ कि क्याम्पसमा जाने अनुमति निकै ढिला प्राप्त भयो र भित्र जान समय लाग्यो । म यस तर्कलाई मान्दिनँ । आजको मितिमा जेएनयू निकै संवेदनशील क्षेत्र हो, प्रहरीको उपस्थिति यसको आसपास हुन जरुरी छ । यदि प्रहरी क्याम्पसमा छिर्न पाएन भने पनि क्याम्पस वरिपरि किन बसेन ?’

विक्रमले त्यस्तो अवस्थामा पनि प्रहरीले सक्रियता नदेखाएकामा पनि प्रश्न गरे । उनले भने, ‘मेरो प्रश्न यो हो कि यति ठूलो तयारीमा, जस्तो बताइएको छ कि ३० जना नकावधारी फलामका रड लिएर देशकै प्रमुख विश्वविद्यालयमा घुसेर घन्टौँ ताण्डव गरे तर प्रहरीले के गर्‍यो ?’

उनले २४ घन्टा भइसक्दा पनि प्रहरीले यस मामलामा कुनै खास कार्बाही नगरेकामा पनि प्रश्न उठाए ।