हत्या अभियोगका अभियुक्त दुई जनालाई जन्मकैद !

हत्या अभियोगका अभियुक्त दुई जनालाई जन्मकैद !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २२, २०७६

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ । परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र मङ्गलबहादुर दमैलाई  सोमबार जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले जन्मकैदको फैसला सुनाएको हो ।

सोही अभियोगमा थुनामा रहेका सुकबहादुर परियारलाई तीन वर्ष कैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो ।विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गलबहादुर र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकी नगरपालिकाको दुलेगौडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।     

प्रहरीले अभियुक्तहरुलाई गत वर्ष पुस २९ गते पक्राउ गरेको थियो । हत्यामा संलग्न रहेका भारती मृतकका बुहारी र दमै भान्जा हुन् । 

मृतकका श्रीमती सनिसरा परियारले आफ्ना श्रीमान् सुकबहादुर  मङ्गलबहादुरसँग घरबाट दुलेगौडा जान भनी हिँडेकामा बेपत्ता भएकाले अनुसन्धान गरी पाऊँ भनी  विसं २०७१ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय निवेदन दिएका थिए । 

प्रहरीले घटनाको अनुसन्धान गर्दा मृतक रामबहादुरको हत्या भारतीको योजनामा भएको पत्ता लगाएको थियो । भारतीले सुकबहादुर र मङ्गलबहादुरलाई पाँच–पाँच हजार दिएर रामबहादुरको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जेठाजु–बुहारी नाता पर्ने भारती र रामबहादुरबीच हिमचिम रहेको,  घुम्नका लागि काठमाडौँसम्म जाने गरेको र  घरपरिवारका अन्य सदस्यले सो कुरा थाहा पाएका कारण आफ्नो पतिसँग सम्बन्ध बिग्रने डरले भारतीले रामबहादुरको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुकबहादुर र मङ्गलबहादुरले मृतक रामबहादुरलाई विसं २०६८ साउन ९ गते दुलेगौडा पारी रहेको दिदीको घरमा जाउ भनी बोलाइ ठाउँ–ठाउँमा मादक पदार्थ सेवन गराउँदै शुक्लागण्डकी नगरपालिका–४ र ८ को सिमानामा पर्ने सेती नदीमाथिको पुलबाट धकेलेर हत्या गरेका थिए । 

रामबहादुरको हत्या गरेपछि सुकबहादुर परियार भारततर्फ काम गर्न भागेका थिए ।  मङ्गलबहादुर वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका थिए ।