प्रज्ञा प्रतिष्ठान काठमाडौँको , पुरस्कारदेखि अतिथिसम्म सबै जिल्लाकै !

प्रज्ञा प्रतिष्ठान काठमाडौँको , पुरस्कारदेखि अतिथिसम्म सबै जिल्लाकै !

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष २३, २०७६

काभ्रे । काठमाडौँमा स्थापना भएको नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानले २०७६ पुस २२ गते मङ्गलवारका दिन बनेपा नगरपालिकाको हलमा सबै प्रमुख अतिथि, अतिथि र पुरस्कृत सबै काभ्रेवासीलाई समावेश गरेर काभ्रेपलान्चोक केन्द्रित कार्यक्रमको आयोजना गरी तीन जनालाई पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानदेखि पुरस्कारसम्म  

२०१६ सालमा ‘महाकवि देवकोटा’ नामक पुस्तकको पाण्डुलिपिमा मदन पुरस्कार प्राप्त नित्यराज पाण्डेले आफैँले २०७२ सालमा स्थापना गरेको प्रज्ञा प्रतिष्ठानले यसरी जिल्लामा नै गएर जिल्लावासीलाई सम्मान गर्ने सोच स्व. नित्यराज पाण्डेले नै अगाडि बढाउनुभएकोले उहाँको निधन पश्चात् पनि यसलाई निरन्तरता दिएको प्रतिष्ठानका अध्यक्ष नारायणराज पाण्डेले जानकारी दिनुभएको छ ।

लामो समयसम्म सरकारी सेवामा रहेर सहसचिव पदबाट अवकाश प्राप्त गर्नुभएका पाण्डे आफू संस्थापक र संरक्षक रहेर ‘नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठान २०७२’  स्थापना गरी तीनवटा पुरस्कार दिने व्यवस्था आफ्नो जीवनकालमा नै गर्नुभएको थियो  । यसरी स्थापित पुरस्कारहरूमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ पुरस्कार, ‘नित्यराज पाण्डे ज्ञानविज्ञान’ पुरस्कार र ‘सिद्धराज,विद्याकुमारी, देवकुमारी शिक्षा’ पुरस्कार स्थापन गर्नु भएको थियो । आफैले ९ लाख अक्षय कोष खडा गरी त्यसबाट हुने आम्दानीबाट जनही बीसहजार नगदसहित सम्मान पत्रले पुरस्कृत गरिँदै आएको छ ।

काभ्रेदेखि काभ्रेसम्म 

प्रज्ञा प्रतिष्ठानका संस्थापक नित्यराज पाण्डेको सोच अनुसार यो वर्ष २०७६ सालमा काभ्रे जिल्ला छनोट गरेको प्रतिष्ठानले जनाएको छ । सोही अनुसार काभ्रेली तीजनालाई पुरस्कृत गर्ने निर्णय प्रतिष्ठानले गरेको थियो । २०७६ सालको ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ पुरस्कारबाट काभ्रेबासी नेपाल सरकारका सचिव गोपीनाथ मैनाली नेपाली साहित्यको क्षेत्रमा समर्पित रही नेपालको प्रतिष्ठा बढाउन योगदान गरेको भन्दै पुरस्कृत गरिएको थियो  । त्यस्तै सोही समारोहमा ‘नित्यराज पाण्डे ज्ञानविज्ञान’ पुरस्कारबाट पनि काभ्रेवासी ८६ वर्षीय ज्ञानकाजी मानन्धरलाई संस्कृति सम्बन्धी पुस्तकको लेखन र प्रकाशनको माध्यमद्वारा राष्ट्रलाई विशेष योगदान गर्नुभएको भन्दै पुरस्कार प्रदान गरिएको थियो ।

त्यसै गरी काभ्रेकै अर्का व्यक्तित्व हरि मञ्जुश्रीलाई ‘सिद्धराज,विद्याकुमारी, देवकुमारी शिक्षा’ पुरस्कारबाट पुरस्कृत गरिएको थियो । मञ्जुश्रीलाई लेखन, सम्पादन र प्रकाशनका माध्यमद्वारा शिक्षा–साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको प्रतिष्ठानका सदस्य तथा नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ. दिनेशराज पन्तले जानकारी दिनुभएको थियो । 

काभ्रेकै प्रमुख अतिथि गीतकार, सङ्गीतकार, गायक गीतिभाषकर मच्छेश्वर सापकोटाले पुरस्कृत व्यक्तित्वलाई नगद सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमलाई  प्रमुख अतिथि सापकोटा, विशिष्ट अतिथि काभ्रेकै पूर्व प्रशासक तथा लेखक डा. इन्दुल केसी र तीनै जना पुरस्कृत व्यक्तिले सम्बोधन गर्नु भएको थियो । पाँच वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष नारायणराज पाण्डे र सञ्चालन पण्डित रमेश अधिकारीले गर्नुभएको थियो । सोही अवसरमा बृद्धाश्रममा रहेका करिब एक दर्जन ज्येष्ठ नागरिकहरूलाई प्रतिष्ठानको तर्फबाट कम्बल समेत उपलब्ध गराइएको थियो । 

जिल्लादेखि निरन्तर जिल्लासम्म 

प्रतिष्ठानले सर्वप्रथम काठमाडौँ गरेको त्यसपछि रुपन्देही, गोरखा चितवन हुँदै यो वर्ष काभ्रेमा आयोजना गरेको अध्यक्ष पाण्डेले जानकारी दिनुभएको थियो । प्रतिष्ठानले आगामी वर्षमा पनि यसरी नै विभिन्न जिल्लाहरूमा गएर सोही जिल्लमा केन्द्रित रहेर  कार्यक्रमलाई निरन्तरता दिने  सोच रहेको समेत अध्यक्ष पाण्डेले जानकारी दिनुभएका छ । परिवारका सदस्यहरूले यसको कोषमा वृद्धि गरेर अन्य गतिविधिमा केन्द्रित गर्ने सोच रहेको प्रतिष्ठानकी सदस्य सुनिता पाण्डेले जानकारी दिनुभएको छ ।