सामाजिक सञ्जाल : विकृति, विसंगति र अपराधका लागि नयाँ मैदान !

सामाजिक सञ्जाल : विकृति, विसंगति र अपराधका लागि नयाँ मैदान !

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  पुष २३, २०७६

सरकारको आलोचना गर्नुपर्‍यो भने वा साथीभाइ र आफन्तलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सन्देश दिनका लागि साँच्चै नै प्रभावकारी  माध्यम बनिरहेका छन् सामाजिक सञ्जाल । यसको प्रयोगबाट सायदै कोही अछुतो छ । 

त्यति मात्र होइन, राजनीतिक, सामाजिक र सांस्कृतिक परंपराको जानकारीदेखि हरेक कुरा आदान प्रदान गर्ने माध्यम अर्थात् सामाजिक सञ्जालविनाको मानिसको जीवन परिकल्पनाबाहिरको बन्दै छ ।

यसको महत्त्व र प्रयोगको अपरिहार्यता यसरी बढिरहेको सन्दर्भमा  सामाजिक सञ्जाल व्यक्ति, संस्था र समूहलाई गाली गर्ने, बदनाम गराउने र बदला लिने माध्यमका रूपमा विकास हुन थालेको छ । अर्थात् जसरी सामाजिक सञ्जाल विस्तारै युवा पुस्ताको जीवनशैली बन्दै छ, त्यसरी नै यस्ता माध्यमहरूको दुरूपयोगको ग्राफ पनि बढ्दै गएको छ ।

सामाजिक सञ्जालमा गाली वा बदला लिएर  रमाउनेको जमात  विस्तारै बढ्दो छ । त्यसमा व्यक्तिगत वा व्यावसायिक सबै विषयले स्थान पाउने गरेका छन् ।

हिजोआज सामाजिक सञ्जाललाई मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, ‘मनोगत  कुण्ठा’ पोख्ने स्थलका रूपमा विकास गर्न ठूलो जमात उत्तिकै सक्रिय छ । खासगरी नेपालमा दुईवटा सामाजिक सञ्जाल बढी चल्तीमा रहेका छन्– फेसबुक र ट्विटर । यिनकै माध्यमबाट मानिसहरूले मनमा लागेको कुरालाई निर्धक्कसँग अभिव्यक्त गर्ने र त्यसको परिणाम पनि खोज्न थालिएको देखिन्छ । यसमा सकारात्मक वा नकारत्मक दुवै पक्ष देखिन्छ  ।

सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच सहज विस्तार भएको छ, जसका कारण मानिसहरू यसमा बढी नै अभ्यस्त र परनिर्भरसमेत हुन थालेको अवस्था छ ।

कतिसम्म भने सरकारी कार्यालयहरूले पनि आफ्नो आधिकारिक फेसबुक र ट्विटर सञ्चालनमा ल्याउन बाध्य भएको अवस्था छ । कार्यालयको आधिकारिक साइटमा कार्यालय र कार्यालयका गतिविधिका बारेमा राखेर गुनासाहरू समाधान गर्ने माध्यमका रूपमा उपयोगसमेत हुने गरेको छ । यसले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराएको छ भने सूचनाको भरपर्दो माध्यम पनि बनेको छ ।

सकारात्मक दृष्टि सोच्ने मात्रै होइन, प्रयोग गर्ने हो भने एक प्रकारको सूचनामूलक सन्देश प्रवाहका भरपर्दो माध्यमसमेत बनेका छन् समाजिक सञ्जाल । 

सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई सन्देशमूलक बनाउने भन्दा पनि त्यसलाई मनोगत कुण्ठा पोख्ने भरपर्दो माध्यम बनाउन कतिपय सन्दर्भमा व्यक्ति, समाज, सामाजिक प्रतिष्ठा र त्यससँग जोडिएका सबै अवयवहरूलाई असर गर्ने गरेका छन् । खासगरी यसले युवा पुस्तालाई नराम्रोसँग झुम्याएको छ ।

फेसबुक र ट्विटरविना उनीहरू पानीविनाको माछा जस्तै छट्पटिने अवस्था छ ।  त्यहाँ पोष्ट हुने सकारात्मक वा नकारात्मक दुवै सन्देश प्रवाहलाई हेर्न नपाउनु र त्यहाँ आफ्ना धारणा अभिव्यक्त गर्न नपाउनुले उनीहरूलाई त्यो अवस्थामा पुर्‍याएको अवस्था छ ।

सामाजिक सञ्जालमा उत्तेजित भएर आफ्ना भावाना पोख्दा कतिपय सन्दर्भमा अर्को व्यक्तिको भावानामा चोटसमेत पुगेको हुन्छ ।

यसैगरी राजनीतिक दल वा सामाजिक अभियानकर्तालाई पनि मन नपरेको बेला यसैको माध्यमबाट गाली गलौजमा उत्रन थाल्नुले दल वा अभियानमा संलग्न नभएकाहरू यही बाटो अख्तियार गर्न थालेको देखिन्छ । यो अत्यन्त गलत संस्कारको विकास भइरहेको देखिन्छ । नेपालमा सूचना र प्रविधिको विकाससँगै त्यसको भरपूर उपयोग गर्ने सन्दर्भमा विकृतिका पोकाहरू पनि छरपस्ट हुन थालेका छन् ।

व्यक्तिगत चरित्र हत्या गर्ने, अश्लील भिडियो पोष्ट गर्ने, सामाजिक रूपमा व्यक्तिको मान मर्दन गर्ने, व्यक्तिगत बदलाको भावानाबाट प्रेरित भएर आवेशपूर्ण भावाभिव्यक्तिहरू पोष्ट गर्ने प्रवृत्ति दिनदिनै बढ्दै जानु शोभनीय कुरा होइन  । 

सामाजिक सञ्जाल उपयोग गर्नेहरूका यी हर्कतका कारण प्रहरीले अन्य अपराधमा जस्तै यसलाई एक जटिल अपराधको रूपमा अनुसन्धानको दायरामा ल्याउन थालेको छ वा बाध्य भएको छ ।

प्रहरीले साइबरमार्फत् हुने अपराधको अनुसन्धानका लागि छुट्टै ब्युरोसमेत गठन गर्नुपर्ने चरणमा पुगेको छ । इन्टरनेटमा नेपालीको पहुँच जति बढ्दो छ, त्योभन्दा डरलाग्दो रूपमा इन्टरनेटमा आधारित अपराध बढ्दै गएको छ । हाल हाम्रो मुलुकमा साइबर अपराधअनुसार विशेष गरेर सामाजिक सञ्जालसँग सम्बन्धित गतिविधि मात्रै देखापरेका छन् ।

ईमेलसँग सम्बन्धित गतिविधि पनि केही हदसम्म देखापरेका छन् । ईमेलमार्फत् विशेषगरी ठगीका  ठूलाठूला अपराधहरू बढी नै हुने गरेका छन् । सामाजिक सञ्जालको प्रयोगबाट हुने अपराध सुरक्षा निकायका लागि चुनौतीको विषय बनेको छ ।  साइबर अपराधले नागरिकको सुरक्षामा मात्र होइन, सरकारी वेवसाइट ह्याकिङदेखि महत्त्वपूर्ण सूचना बाहिरीनेसम्म चुनौती बढिरहेका छन् ।

सूचना प्रविधिको दुरूपयोगबाट हुने अपराधमा धेरैजसो महिलाहरू पीडित हुने गरेका छन् । यस्तो अपराधको सिकार भएका अधिकांश युवतीहरूमा मानसिक पीडा बढाएको मात्र छैन, कतिपय युवतीले ज्यानै गुमाउनुपरेको र कतिपय युवाहरू डिप्रेसनको सिकारसमेत भएका छन् ।

के हो साइबर अपराध ?

विकिपिडियामा उल्लेख गरेअनुसार खासगरी साइबर माध्यमको दुरूपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई साइबर अपराध भनिन्छ । विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई आमरूपमा साइबर अपराधको रूपमा परिभाषित गरिएको छ ।

अन्य अपराधभन्दा यसको प्रकृति र शैली विलकुल फरक छ भने यसको प्रभाव पनि शक्तिशाली र दूरगामी  हुन्छ । विद्युतीय प्रविधिको गलत प्रयोगले निम्त्याउने यो अपराध अन्य अपराधभन्दा भिन्न शैलीको छ । इन्टरनेटको प्रयोगमार्फत् गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ ।

सामान्यतः साइबर स्पेसमा रहेका सूचनाहरू पीडितको इच्छाबेगर कम्प्युटरको दुरूपयोग गरी कुनै भौतिक शक्ति प्रयोग नगरी निर्माण गर्नु, वितरण गर्नु, परिवर्तन गर्नु, चोरी गर्नु, दुरूपयोग गर्नु वा नास गर्नु साइबर अपराध हो ।

नेपालमा प्रहरीले साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ को प्रयोग गर्दै आएको छ । सो ऐनको दफा ४७  नेपालमा हुने साइबर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने र सबैभन्दा बढी विवादित दफा पनि हो । यस दफाले कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ । दफा ४७ विवादित भएपछि साइबर अपराध रोक्ने छुट्टै कानुन निर्माण गर्नुपर्ने माग बढिरहेको छ ।

पछिल्लो समय खासगरी फेसबुक प्रयोगकर्ताले साइबर अपराध बढाएको राज्य र राज्यको निकाय प्रहरीको भनाइ रहँदै आएको छ । नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक सञ्जाल पनि  फेसबुक नै हो । जसको एन्ड्रोइट मोवाइल छ, उसले फेसबुक अनिवार्य प्रयोग गरेको पाइन्छ ।

पछिल्लो एक सर्वेक्षणअनुसार नेपालमा फेसबुकका प्रयोगकर्ता पचास लाखभन्दा बढी रहेको आँकडा रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अध्ययनअनुसार ४० प्रतिशत नेपालीसँग इन्टरनेट पहुँच पुगेको छ । त्यसमध्ये पनि मोबाइलबाट इन्टरनेट चलाउनेहरू बढी नै छन् । सो प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ता एक करोड दुई लाख ७६ हजार ७४८ पुगेको देखाएको छ ।

अब स्थानीय तहमा इन्टरनेट केबुल जाने भएपछि यो संख्या बढ्नेछ । सो तथ्यांकलाई आधार मान्ने हो भने ८९ प्रतिशतमा मोबाइलबाट इन्टरनेटको पहुँच पुग्नेछ ।

बढ्दो छ यसको ग्राफ

साइबर अपराधको ग्राफ बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्युरो नै बनाउने तयारी थालेको जानकारी दिएको छ । अहिले महानगरीय प्रहरी अपराध महाशाखाले यससम्बन्धी मुद्दा चलाउँदै आएको छ । साइबर अपराधसम्बन्धी विशेष अनुसन्धान महाशाखाबाट हुने गरेको छ । अहिले त प्रहरीले साइबर अपराध अनुसन्धानका लागि छुट्टै ब्युरो खडा गरेर अनुसन्धान गर्नुपर्ने बाध्यात्मक अवस्थामा नेपाल प्रहरी पुगेको अवस्था छ । 

फेसबुक, ट्विटर, बैंक ह्याकिङ, अनलाइन, एटीएमलगायतका क्षेत्रमा बढी साइबर अपराध हुँदै आएको देखिन्छ । चलचित्र प्रतिलिपि अधिकार हनन् गर्ने, केटीका नाममा फेसबुक आईडी बनाएर पैसा माग्ने र सरकारी वेवसाइट ह्याक गर्नेहरू पनि यस अपराधअन्र्तगत नै पर्नेछन् ।

चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा साइबर अपराधसम्बन्धी उजुरी हेर्ने हो भने ७६० उजुरी दर्ता  नै भएका छन् । पछिल्लो समय फेसबुक, ट्विटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत् अपराध गर्नेको संख्या बढेको पाइएको छ ।

गायक भी–टेन पक्राउ, मोडल परी तामाङ पक्राउ, दुई वर्षअघि भरतपुर महानगरपालिकाको स्थानीय तहको निर्वाचनमा मेयरका प्रत्यासी देवी ज्ञवालीका छोरा निरव ज्ञवालीको पक्राउ पनि निकै चर्चा पाएका अपराधका घटना हुन् ।

त्यसबाहेक अन्य सर्वसाधारणका तर्फबाट पनि साइबर अपराधसम्बन्धी उजुरी पर्ने गरेका छन् । प्रविधिको विकाससँगै साइबर अपराधको घटनामा वृद्धि आउने गरेका छन् । गत आर्थिक वर्षमा एक हजार ३० उजुरी परे पनि चालू आवको ६ महिनामा नै ७६० उजुरी दर्ता हुनुले यसको ग्राफ मात्र बढेको होइन, चुनौतीको पहाड थपिएको छ ।  तर, अदालतमा पुग्दा ११ वटा मुद्दा दर्ता भइसकेका छन् भने अघिल्लो वर्ष यही समयमा १७ वटा मुद्दा दर्ता भएका थिए ।

प्रहरी रेकर्डअनुसार साइबर अपराधको बाढीचाहिँ यतिबेला विदेशमा बस्ने नेपालीहरूले बगाइरहेका छन् । त्यसले गर्दा नेपालमा बस्नेहरू त्यसबाट बढी पीडित हुनुपरिरहेको छ, भएका छन् । उनीहरूले आफू विदेशमा बसेर सुरक्षित महसुस गर्दै जथाभावी लेखर पोष्ट गर्ने गरेका नेपाल प्रहरीको निष्कर्ष छ ।

अमेरिकी प्रतिनिधि घटना

अधिवक्ता दीपककुमार विष्टले नेपाल कानुन डटकम अनलाइन संस्करणमा लेखेअनुसार साइबर अपराधको परिभाषा छुट्टै नगरिए तापनि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ५२, ५३, ५४ र ५५ मा साइबरसँग सम्बन्धित केही कार्यलाई निषेध गरी त्यसको उल्लंघनलाई सजायको व्यवस्था गरेको भए तापनि साइबर अपराधका बारेमा भने प्रष्ट बोलेको पाइँदैन ।

उनका अनुसार सामान्यतः साइबर स्पेसमा रहेका सूचनाहरू पीडितको इच्छाबेगर कम्प्युटरको दुरूपयोग गरी कुनै भौतिक शक्ति प्रयोग नगरी निर्माण गर्नु, वितरण गर्नु, परिवर्तन गर्नु, चोरी गर्नु, दुरूपयोग गर्नु वा नास गर्नु साइबर अपराध हो ।

अमेरिकाको न्याय विभाग (मन्त्रालयका) अनुसार, अपराध कानुनको त्यस्ता सबै उल्लंघन साइबर अपराध हुन्, जसको क्रिया, अनुसन्धान तथा अभियोजनमा कम्प्युटरको प्रयोग हुन्छ । सन् २००२ को अप्रिल महिनामा डिसेप्टिभ ड्युवोका नामले प्रख्यात ह्याकरहरूको आक्रमणले अमेरिकाको संघीय रक्षा विभागका डिफेन्स लजिस्टिक सर्भिस, स्वास्थ्य मामिला कार्यालय, नासाको एम्स अनुसन्धान केन्द्रलगायतका कार्यालयहरूको वेवसाइटहरू एकैचोटि ध्वस्त भयो । साइबर अपराधको यो एउटा प्रतिनिधि घटना भएको अधिवक्ता विष्टले आफ्नो लेखमा उल्लेख गरेका छन् ।