महावीर पुनको ‘बहुलठ्ठीपन !’ : संसारको मालिक बन्ने गोरेटो

महावीर पुनको ‘बहुलठ्ठीपन !’ : संसारको मालिक बन्ने गोरेटो

बम बानियाँ  |  दृष्टिकोण  |  पुष २३, २०७६

विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रमा काम गर्दै आउनुभएका डा. महावीर पुनको अवधारणामा स्थापित राष्ट्रिय आविष्कार केन्द्रका बारेमा अहिले विभिन्न समाजिक संजाल, संचार माध्यमहरूबाट सूचनाहरू संप्रेषण भइरहेका छन् ।  नेपालमा यस्तो प्रकृतिको आविष्कार केन्द्र स्थापना भएको पनि पहिलो नै हो ।

पुनको काम र व्यवहारबाट प्रभावित भएर करिव एक दशकदेखि म उहाँको ‘फलोअर’ नै बनिसकेको छु । यहाँ धेरै जानकारी संजाल र युट्युबमार्फत् प्राप्त हुने भए पनि केही थप विषयहरू समेत समेटेर यो आलेख तयार गरिएको छ । 

महावीर पुनसँगको भेटमा मैले सोधेँ, ‘जताततै दान, सहयोग भनेर माग गरिरहनुभएको छ । आविष्कार केन्द्रलाई कति पैसा भए पुग्छ दाइ ?’

उहाँले भन्नुभएको थियो, ‘अनुसन्धानमा यति नै लगानी हुन्छ भन्ने हुँदैन । अहिले हामीसँग जति स्रोत जम्मा हुँदै छ, त्यहीअनुसारका सानासाना अनुसन्धान र आविष्कारमा काम भइरहेका छन् । साँच्चै आविष्कार गर्नलाई यति नै लगानी भन्ने हुँदैन । जस्तै : विल गेट्सले अहिले भर्खरै एउटा नौलो खाले कमोट चर्पी बनाउनलाई २० अर्ब  रुपैयाँ अर्थात् दुई सय मिलियन अमेरिकी डलर खर्च गरेर चीनमा अनुसन्धान गरिरहेको छ । अहिले हामीसँग अनुमानित नौ करोड रुपैयाँ दान स्वरूप जम्मा भइसकेको छ । सोहीबमोजिमका अनुसन्धानका काम पनि भइरहेका छन् ।’

राष्ट्रिय आविष्कार केन्द्र नेपालका वैज्ञानिक डा. महावीर पुनद्वारा सन् २०१२ मा स्थापित गैरनाफामूलक सामाजिक संस्था हो । यसको मुख्य उद्देश्य युवाहरूलाई आविष्कार र प्रविधिमा लगाई आर्थिक, सामाजिक रूपमा समृद्ध देशको निर्माण गर्नु हो ।

महावीर पुनको जन्म सन् १९५५ जनवरी २२ मा म्याग्दी जिल्लाको नागी गाउँमा भएको हो । उहाँले अमेरिकाको नेब्रस्का विश्वविद्यालयबाट विज्ञान र प्रविधिमा विद्यावारिधिसम्मको अध्ययन गरेर नेपाल फर्किनुभएको हो । विगत २५ वर्षदेखि आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई  नेपालमै लगानी गरी निरन्तर काममा लागिरहनुभएको छ उहाँ ।

नेपाल फर्किएपछि आफ्नै दुर्गम गाउँ म्याग्दीमा ताररहित कम्युटर, इन्टरनेट प्रविधिको पहिलो पटक उहाँले नै सफल प्रयोग गर्नुभएको थियो । आफैँले स्कुल खोलेर आफ्नो गाउँमा  समाजसेवामा लाग्नुभएका पुन थुप्रै सामाजिक कार्यहरूमा सफल हुनुभयो ।

नेपालको दुर्गम गाउँमा पहिलो पटक ताररहित कम्युटर प्रविधिको सफल प्रयोग गरी विज्ञान र प्रविधिको क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै दक्षिण एसियाकै नोबेल पुरस्कारको रूपमा प्रदान गरिने म्यागासेसे पुरस्कारबाट सन् २००७ मा सम्मानित हुनुभयो पुन । यसका साथै उहाँले असोका फेलोसिप पुरस्कार, आविष्कार पुरस्कारलागायत दर्जनौँ पुरस्कार, सम्मान तथा मेडलहरू प्राप्त गरिसक्नुभएको छ ।

तर, अहिले पुनले कुनै पनि अवार्ड तथा सम्मान नलिने घोषणासमेत गर्नुभएको छ । आजसम्म प्राप्त अवार्डहरू सार्वजनिक रूपमा बिक्रीमा राखेर आविष्कार केन्द्रमा लगानी गर्ने सार्वजनिक घोषणा गरिसक्नुभएको छ । यो एकदमै संवेदनशील र अर्को अनुकरणीय कार्य पनि हो ।

नेपालको ग्रामीण क्षेत्रका गाउँ तथा विद्यालयहरूमा कम्युटर, इन्टरनेटको क्षेत्रमा काम गरिसकेपछि नेपालमै आविष्कारको क्षेत्रमा महाअभियानको रूपमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरी काम गरिरहनुभएको छ । अहिले राष्ट्रिय आविष्कार केन्द्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरभित्र रहेको छ ।

देशका युवाहरूलाई प्रोत्साहन गरेर विभिन्न अविष्कारहरू गर्दै देशमै स्वरोजगार बनाउने, देशलाई आवश्यक जनशक्ति निर्माण गरी विश्वकै उत्कृष्ट मुलुक नेपाललाई बनाउने पुनको आत्मविश्वास र दाबी छ ।

नेपाल दक्ष जनशक्ति नभएको मुलुक होइन । यहाँ अद्भूत क्षमता भएका मानिसहरू छन् तर दुर्भाग्य, जो नेपालमा रहेर काम र आविष्कारको क्षेत्रमा काम गरिरहेका छैनन् । आज लाखौँ बौद्धिक युवाहरू अध्ययनको सिलसिलामा विदेश गएर उच्च शिक्षापछि उतै रोजगारीको कारण पलायन भएका छन् । देशले उनीहरूका लागि उचित अवसर पनि प्रदान गर्न सकिरहेको छैन ।

तर, महावीर पुन यस्ता व्यक्ति हुनुहुन्छ, जसले देशले मौका दिएन पनि भन्नुभएन बरु उल्टै देशलाई केही गरौँ भनेर आफ्नै देश फर्किएर निस्वार्थ काम गरिरहनुभएको छ । ती पलायन भएका र अब पलायन हुन लागेका युवाहरूलाई देशमै शिक्षा र रोजगारी दिन सकिन्छ र देश पनि आर्थिक, सामाजिक रूपले आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विश्वासका साथ अगाडि बढिरहनुभएको छ ।

राष्ट्रिय आविष्कार केन्द्र दीर्घकालीन रूपमा पुस्तौँ पुस्ता चल्दै जाने अभियान हो । यो एउटा परियोजना भने होइन । राष्ट्रलाई विज्ञान र प्रविधिको माध्यमबाट समृद्ध बनाउने र आर्थिक विकास गर्ने अभियान हो ।

देशका प्रतिभाशाली युवा जनशक्तिलाई देशमै राख्ने र देशमै नयाँनयाँ ‘आइडिया’हरू संकलन गर्ने तथा ती ‘आइडियाहरू’लाई आविष्कार गरी व्यापार, व्यवसायमा लागू गरी नेपालको आर्थिक अवस्था सुदृढ गर्न लागिपरेको अवस्थामा छ । यो नेपालको मुख्य गरेर आर्थिक विकास गर्ने लक्ष्यका साथ स्थापना गरिएको हो ।  

आविष्कार केन्द्रले के गरिरहेको छ ?

राष्ट्रिय आविष्कार केन्द्रले अहिले देशभरका युवाहरूबाट विभिन्न ‘आइडिया’हरू संकलन गरी छनोट गरिएका चार दर्जन बढी ‘आइडिया’हरूमा काम गरिरहेको छ । आर्थिक विकास र व्यापार प्रविधिको विकास गरेर लाखौँ युवाहरूलाई देशमै ‘आइडिया’हरूको प्रयोगमार्फत् सीप र रोजगारीका लागि तयार गरिँदै छ ।

समाजमा हजारौँ किसिमका समस्याहरू छन् तर आविष्कार केन्द्रले एउटै मात्र फोकस के गरेको छ भने प्रतिभा भएका, क्षमता भएका सिर्जनशील युवाहरूलाई आविष्कारमा लगाएर अहिले २२ वटा आइडियाहरूमा काम भइरहेको छ भने अन्य चार दर्जन आइडियाहरूमा अनुसन्धान भइरहेको छ ।

नमुना आविष्कारहरूमा अहिलेसम्म दुर्गम, यातायातको तत्काल सुविधा नपुगेको ठाउँमा औषधि सेवा गर्ने ड्रोनहरू तयार भइसकेका छन् । यिनमा थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै, बिग्रिएका गाडीका इन्जिनहरूबाट बिजुलीबाट चल्ने गाडी, बाँदर धपाउने मेसिन, सिन्के धुप उत्पादन गर्ने मेसिन, भर्खरै जन्मेको बच्चालाई न्यानोमा राख्न बेबी इकुभेटर, फलफूल तथा तरकारी स्टोर गर्ने कोल्ड स्टोर प्रयोग गर्न तयारी अवस्थामा छन् । चार दर्जन बढी युवाहरू यीलगायत थप आविष्कारमा लागिरहेका छन् । यो अविष्कार केन्द्र चौबीसै घण्टा खुला हुन्छ ।

राष्ट्रिय आविष्कार केन्द्रले कसरी काम गरिरहेको छ ?

राष्ट्रिय आविष्कार केन्द्र स्थापनापछि आफ्नो बृहत् योजनासहितको दीर्घकालीन प्रस्तावसहित महावीर पुनले आर्थिक सहयोगका लागि सरकारका विभिन्न निकायहरूका ढोका ढकढक्याउन पुग्नुभयो । निकै ठूलो प्रयासपछि पनि सरकारले उहाँको प्रस्तावको सुनुवाइ नगरेपछि अर्थात् सरकारले एक किसिमले नपत्याएपछि उहाँले सामाजिक संजाल तथा मिडियामार्फत् राष्ट्रिय आविष्कार केन्द्रको लक्ष्य, उद्देश्य र कार्यक्रमहरूलाई अगाडि बढाउन आर्थिक सहयोगका लागि आह्वान गर्नुभयो ।

सबैभन्दा बढी यो विज्ञान र प्रविधिको क्षेत्रमा देशको अभियान हो । राजनीतिकर्मी, जनप्रतिनिधि, मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपतिले पहिला यसको अपनत्व लिन जरुरी देखिन्छ किनकि यो राज्यको स्वामित्वमा जाने नेपालको आविष्कार केन्द्र हो ।

अहिले देश तथा विदेशमा बस्ने नेपाली तथा विदेशी नागरिकहरूले आफ्नो ज्याला कटाएर आर्थिक सहयोग गरिरहेको अवस्था छ ।

‘पर्वमा दान, समृद्धिमा योगदान’ भनेर पुनले नेपालीहरूले मान्ने दशैँ–तिहारलगायत विभिन्न चाडपर्व, विवाह, भोजभतेर, जन्मदिन आदिमा गरिने खर्चलाई कम गरेर आविष्कार केन्द्रमा दान गर्न अनुरोध गर्नुभएको छ । पुनले आफ्नो सबै जिन्दगी नै यसैमा सुम्पिएर देशलाई यो माध्यमबाट समृद्ध बनाउन सकिन्छ भन्ने अठोटका साथ आफ्नो सबै शक्ति आविष्कार केन्द्रमा खर्च गर्नुभएको छ ।

यतिसम्म कि आफूले जीवनमा पाएका सबै मेडल र पुरस्कारहरू समेत बिक्रीमा राखेर आविष्कार केन्द्रमा लगानी गर्न सार्वजनिक आह्वानसमेत गर्नुभएको छ, जबकि यो आविष्कार केन्द्रको विधान र नियममा नै यो राज्यको सम्पत्ति हो भनिएको छ । महावीरको संस्था भनेर अहिले आममानिसले गलत बुझिरहेका छन् । यो पुनको संस्था होइन । महावीर पुन यसका अभियन्ता मात्र हुनुहुन्छ । यो कुनै व्यक्तिको नाफासँग जोडिएको संस्था होइन । यो एक किसिमले पुनको ‘बहुलठ्ठीपन’ नै हो ।

पुनझैँ नेपालको मन्त्रीमण्डलमा रहने मान्छे बहुलाउने हो भने देश एक दशकमा समृद्ध बन्ने पक्का हुन्थ्यो । राज्यले खोजीखोजी यस्ता मानिसहरूलाई देश निर्माणको अभियानमा सम्मानका साथ उपयोग गर्नुपर्नेमा गर्छु भनेर आफैँ जीउ–ज्यान, धन, दिमाग र समय सबै खर्चेर थाल्दा पनि सहयोगसमेत नगर्नु राज्यको कमजोरी हो । तर, कतिपय संस्थाहरूले अभियानको नाउँमा दुरूपयोग भएर पनि हुन सक्छ ।

अहिले सांसदहरूको पनि आविष्कार केन्द्रमा भ्रमण सुरु हुन थालेको छ । यस विषयलाई स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरूले नै जिम्मेवारी लिएर आआफ्ना निकायहरूबाट सहयोग गर्न जरुरुी छ । संसदमा नै यो विषय बुलन्द रूपमा उठ्न जरुरी छ । यी र यस्ता प्रकृतिका काम र अभियानलाई राज्यले बुझेन या बुझ्न ढिला ग¥यो भने देशले भन्दै आएको समृद्धिको गीत कथा जस्तो हुन्छ ।

जतिसक्दो चाँडो यो देशका नेतृत्वले नै जिम्मेवारी लिएर काम अगाडि बढाइदिए हुन्थ्यो भन्ने पुनको आग्रह छ ।

आविष्कार केन्द्र के हो या के होइन ?

राष्ट्रिय आविष्कार केन्द्रका बारेमा केही सामाजिक दुविधाहरू बाहिर आएका छन् । तर, जब हामी बुझ्न थाल्छौँ, सबै दुविधाहरू दूर हुने गर्छन् । कसैकसैले या धेरैले महावीर पुनको आविष्कार केन्द्र भन्ने बुझेका छन्, यो बुझाइ आफैँमा गलत छ । 

पुन राज्यलाई हस्तान्तरण गर्ने गरी राज्यका लागि सबै त्याग गरेर काम गर्ने अभियन्ता मात्र हुनुहुन्छ । यो पुनको निजी कम्पनी या संस्था पनि होइन । यसले शेयर खरिद गर्दैन र कसैलाई नाफा वितरण गर्दैन । नाफा बाँडफाँट गर्ने काम गर्दैन । तालिम केन्द्र पनि होइन यो ।

आविष्कारकका लागि अनुसन्धान गर्ने स्थान मात्र हो यो । यहाँ कुनै जागिर कोटा प्रणाली हुँदैन । यसले जागिर दिने होइन, रोजगार सिर्जना गर्ने ‘आइडिया जेनेरेट’ गर्ने स्थान मात्र हो । यहाँ प्रमाणपत्र खोजिँदैन । जोकोहीले अध्ययन गर्न सक्छ । तर, बजार र व्यापार हुने आविष्कार गरिन्छ । 

सबैभन्दा बढी यो विज्ञान र प्रविधिको क्षेत्रमा देशको अभियान हो । राजनीतिकर्मी, जनप्रतिनिधि, मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपतिले पहिला यसको अपनत्व लिन जरुरी देखिन्छ किनकि यो राज्यको स्वामित्वमा जाने नेपालको आविष्कार केन्द्र हो ।

संसारका ठूलाठूला अध्ययन, अनुसन्धान र आविष्कारहरूमा उनीहरू खर्बौं रुपैयाँ खर्च गरिरहेका छन् । तर, हामी नेपाली भने भगवान् भरोसामा मान्छेले मान्छेलाई देवत्वकरण गरेर आविष्कारमा गर्न सकिने लगानी मठमन्दिर र देवालय निर्माणमा खर्च गरिरहेका छौँ ।

केही महत्त्वपूर्ण विषयहरू कार्यान्वयन गर्ने हो भने यो अभियान नेपालको समृद्धिमा साँच्चिकै कोशेढुङ्गा सावित हुनेछ । केही संभावित सुझावहरू यहाँ प्रस्तुत गरिएको छ ।यसलाई कसरी राष्ट्रकै सफल अभियान बनाउन सकिन्छ ?

क) आर्थिक सहयोग तथा अनुदान संकलन

-   राज्यले जिम्मा लिएर सरकारका विभिन्न स्रोतहरूबाट सहयोग संकलन गर्न सकिन्छ । जस्तै ः नेपालका विभिन्न क्षेत्रमा भएका भ्रष्टाचार कार्बाहीबाट प्राप्त राजस्व रकमको २५ प्रतिशत रकम यसमा लगानी गर्ने ।
-   वैदेशिक रोजगारीमा जाने प्रत्येक नागरिकबाट जाँदा पाँच हजार रुपैयाँ लिने, जो एक एजेन्टले खाने रकमको १० प्रतिशत मात्र हो ।
-   संघीय सरकार, प्रदेश र स्थानीय तहले वार्षिक अनुसन्धानका लागि शीर्षक नै बनाएर रकम छुट्याउने ।
-   हरेक सरकारी र निजी विद्यालयबाट हरेक विद्यार्थीबाट मासिक पाँच रुपैयाँ आविष्कारका लागि छुट्याउने ।
-   नेपालमा सञ्चालित हरेक रेमिट्यान्सबाट प्रति कारोबार एक रुपैयाँ रकम लिने ।

ख) राज्यको नीति तथा नियमावली निर्माण

राज्यले नेपालमै निर्मित आविष्कारहरूको बजार र बिक्री वितरणमा देखिने सम्पूर्ण व्यवधानहरूलाई सहजीकरण हुने प्रकृतिको कानुन निर्माण गरी प्रोत्साहन गर्ने वातावरण निर्माण  गर्नु जरुरी छ ।

ग) सूचना र संचार अभियान

आविष्कार केन्द्रका अभियानलाई जनता र उपभोक्ता, युवालगायत देश विदेशसम्म जानकारी गराउन राज्यका सबै निकायहरू समेत लागेर सुसूचित गर्न जरुरी छ । आमसंचारमा सकारात्मक सूचना प्रवाह गर्नु जरुरी छ ।

निष्कर्ष

आज संसारका शक्ति राष्ट्रहरू विज्ञान र प्रविधिकै कारणले संसारका उच्च विकसित राष्ट्र बनेका छन् । शिक्षा, स्वास्थ्य, गाँस, बास, कपास भनेको उनीहरूका लागि कुनै समस्याको विषय होइन ।

संसारका ठूलाठूला अध्ययन, अनुसन्धान र आविष्कारहरूमा उनीहरू खर्बौं रुपैयाँ खर्च गरिरहेका छन् । तर, हामी नेपाली भने भगवान् भरोसामा मान्छेले मान्छेलाई देवत्वकरण गरेर आविष्कारमा गर्न सकिने लगानी मठमन्दिर र देवालय निर्माणमा खर्च गरिरहेका छौँ ।

राजनीतिमा पनि भगवानकै भाकल गरी करोडौँ रुपैयाँ खर्च गरेर टिकट लिने र करोडौँ रुपैयाँ खर्च गरेर चुनाव जित्ने अनि करोडौँ रुपैयाँ भष्टाचार नगरेर केके गर्ने भन्ने परिस्थितिमा छौँ ।

अब हामी सूचना संचारको भौतिकवादी, उपभोक्तावादी संसारमा प्रवेश गरिरहेका छौँ । यो युग भनेको विज्ञान र प्रविधिको युग भनेर घोकी मात्र रहेका छैनौँ कि बहुराष्ट्रिय कम्पनीका सामग्रीहरू मोवाइल, टिभी, मेसिनलगायत प्रायः सबै सामानहरूको उपभोग गरिरहेका छौँ । तर, हाम्रा उत्पादनहरू नगण्य रूपमा नै छन् ।

भोलि आविष्कार केन्द्रबाट कुनै यस्तो वस्तुको आविष्कार हुन सकोस्, जो संसारमा आविष्कार नभएको चिज वस्तु होस्, जो संसारका सबैलाई उपयोगी होस् । लौ सोचौँ त हामी कहाँ पुग्छौँ ?

आज माइक्रोसफ्ट र एप्पल, सामसुङ कम्पनीहरू किन संसारका मालिक भए ? आविष्कारले गर्दा होइन ? अब हामी नेपालमा पनि केही हुँदैन भनेर राजनीतिकर्मीलाई चुनावमा जिताउने र अर्को चुनाव नआउन्जेलसम्म उनीहरूलाई नै गाली गर्दै बिताउनु भन्दा नयाँ चिन्तनमा लाग्यौँ भने कमसे कम केही रूपान्तरण हुन्छ ।

पुन एक त्यस्ता उदाहरण हुनुहुन्छ, जसले कमसे कम नेपालमा आफ्नो क्षमता र अनुभवको राज्यका लागि थालनी गर्नुभएको छ । हामीले साथ दिन ढिला गर्नु देशकै लागि हानिकारक छ ।