नारायणगढ–मुग्लिन सडक दिउँसो पनि बन्द हुने !

नारायणगढ–मुग्लिन सडक  दिउँसो पनि बन्द हुने !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २३, २०७६

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम अहिले सम्म पनि नसकिएपछि आज र भोली दिउँसोेमा सडक बन्द हुने भएको छ ।मङ्गलबार सूचना जारी गर्दै  सडक आयोजनाले ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जानकारी दिएको छ ।

गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरीे काम हुँदै आइरहेको र सो कार्य नसकिएको हुँदा भोली  दिउँसो पनि सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

दुई हप्ताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भए पनि काम नसकिएपछि दोस्रोपटक समयावधि थप गरिएको उहाँले बताउनुभयो । सो अवधिमा अत्यावश्यक सवारी साधनलाईे प्रवेश दिइनेछ । सडकखण्डको आठ ठाउँमा पहिरो रोकथामको काम भइरहेको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिनेछन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ ।