महानगरपालिकाले टाँसियका प्रचार सामग्री हटाउदै

महानगरपालिकाले टाँसियका प्रचार सामग्री हटाउदै

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २३, २०७६

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई नराम्रो पारेर राखिएका प्रचार सामग्री हटाउने कार्यलाई अगाडि बढाएको छ । वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम भइरहेको छ ।

मुख्य गरेर विशिष्ट व्यक्तिहरुको ओहोरदोहोर हुने क्षेत्रलाई केन्द्रित गरि काम अघि बढाएको कामपाले मङ्गलबार मात्रै साना–ठूला गरी १९२ अनधिकृतरूपमा राखिएका होर्डिङबोर्ड हटाएको छ ।

कामपा नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार विभिन्न सङ्घ संस्थाले शहरको मुख्य स्थानमै प्रचार सामग्री राख्ने गरेकाले सोही स्थानलाई केन्द्रित गरेर काम गरिरहेको बताउनु भयो । यसरी जताततै प्रचार सामग्री राखेकाहरु बाट कामपाले अहिलेसम्ममा  दुई लाख रुपैयाँ जरिवाना पनि असुल गरिसकेको छ । 

त्यसैगरी सोमबार पसलको माथि, घरको भित्तामा राखेका अनधिकृत बोर्ड विमानस्थल आसपासबाट १७, बागदरबारबाट जमल होण्डा सो रूमसम्म ५०, जमलबाट लैनचौरसम्म २५ र टेकु पुलबाट कालिमाटीसम्म ११ गरी कूल १०३ बोर्ड हटाएको नगर प्रहरी महाशाखा प्रमुख सापकोटाले जानकारी दिन्भयो ।  

सफा, स्वच्छ र सुन्दर शहर बनाउने योजनाअनुरुप नै विभिन्न ठाउँमा प्रचार सामग्री होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायत हटाउने प्रक्रिया शुरु गरेको सापकोटाको भनाइ छ । कामपाले अहिले तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका आठ ठूला होर्डिङबोर्ड हटाइसकेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मौलिकता बचाउनु कामपाको जिम्मेवारी रहेको भन्दै शहरलाई कुरूप बनाउने गरी चोकचोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिलासुस्ती नगर्न विभागीय प्रमुखलाई निर्देशन दिन्भएको छ । प्रमुख शाक्यले जथाभावी राखिएको प्रचार सामग्रीका कारण कामपाले धेरै गुनासो सुन्नुपरेको भन्दै हटाउने कार्यमा ढिलासुस्ती नगर्न निर्देशन समेत दिनुभयो ।