देहरादूनमा अफगानी ‘तूफान’, टी–ट्वान्टी क्रिकेटमा रेकर्डै रेकर्ड

देहरादूनमा अफगानी ‘तूफान’, टी–ट्वान्टी क्रिकेटमा रेकर्डै रेकर्ड
अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा आफ्नो पहिलो सतक प्रहार गरेपछि ब्याट उठाउँदै अफगानिस्तानका ब्याट्सम्यान हजरतुल्लाह जजाई (दायाँ) । तस्बिर स्रोत : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन १२, २०७५

भारत । उत्तराखण्डको राजधानी देहरादूनमा आयरल्यान्ड र अफगानिस्तानबीच अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट सुरु हुनुअघि त्यति चर्चा थिएन । तर, शनिबार भएको दोस्रो खेल सकिएपछि यसको चर्चा सुरु भयो । यसको कारण हो– अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व रेकर्ड कायम हुनु । 

शनिबार भएको खेलमा यी विश्व रेकर्ड कायम भएका छन् । 

टी–ट्वान्टीमा कीर्तिमानी टिम टोटल 

अफगानिस्तानका ब्याट्सम्यान हजरतुल्लाह जजाईले आक्रामक ब्याटिङ गर्दा अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा थुप्रै रेकर्ड कायम भएका छन् । उनले ६२ बलमा २६१ भन्दा बढीको स्ट्राइक रेटमा अभिजित एक सय ६२ रनको आक्रामक पारी खेले । जसका कारण अफगानिस्तानले टी–ट्वान्टी क्रिकेटमा सबैभन्दा बढी २७८ रनको योगफल तयार पार्यो । 

यसअघि टी–ट्वान्टीमा सबैभन्दा धेरै रन बनाएको रेकर्ड अस्ट्रेलियाको नाममा थियो । अस्ट्रेलियाले सन् २०१६ मा श्रीलंकाविरुद्ध तीन विकेट गुमाएर २६३ रन बनाएको थियो । 

टी–ट्वान्टीमा सर्वाधिक छक्का 

यो खेलमा अफगानिस्तानका जजाईले अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा सबैभन्दा बढी १६ छक्का प्रहार गरे । यसअघि अस्टेलियाका आरोन फिन्चले सन् २०१३ मा इग्ल्याण्डविरुद्धको खेलमा १४ छक्का प्रहार गरेका थिए । 

टी–ट्वान्टीमा रन साझेदारीमा कीर्तिमान 

अफगानिस्तानका लागि ओपनिङमा आएका जजाई र उस्मान गनीले पहिलो विकेटका लागि २३६ रनको साझेदारी गरे । यो टी–ट्वान्टी क्रिकेटमा कुनै विकेटका लागि भएको सबैभन्दा ठूलो साझेदारी हो । यो साझेदारीमा उस्मानले ७३ रन जोडे । 

यी दुई जनाले सन् २०१६ को आइपिएल क्रिकेटमा विराट कोहली र एबी डिभिलियर्सले बनाएको २२९ रनको साझेदारी रेकर्डसमेत तोडिदिएका छन् । 

टी–ट्वान्टीमा दोस्रो सर्वाधिक व्यक्तिगत रन 

जजाईले बनाएको १६२ रन टी–ट्वान्टी क्रिकेटमा दोस्रो सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो । अन्तर्राट्रिय टी–ट्वान्टी क्रिकेटमा सबैभन्दा बढी रन बनाउनेको सूचीमा अस्टेलियाका आरोन फिन्च पहिलो छन् । उनले १७२ रन बनाएका छन् । 

यस्तो छ म्याच 

उत्तराञ्चलको राजधानी देहरादूनमा शनिबार भएको अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा अफगानिस्तानले आयरल्याण्डलाई ८४ रनले पराजित गरेको छ । 

टस जितेर पहिले ब्याटिङ गर्न आएको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा २७८ रनको योगफल तयार पारेको थियो । जसमा जजाईले सर्वाधिक अभिजित १६३ रन बनाएका थिए । यस्तै, उस्मान गनीले ७३ रनको योगदान दिएका थिए । आयरल्याण्डका तीन बलरले समान एक विकेट लिए । 

२७९ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९४ रन मात्रै बनाउन सक्यो । आयरल्याण्डका कप्तान पिआर स्टर्लिङले ५० रनमा ९१ रनको पारी खेले पनि टिमलाई जिताउन सकेनन् । आयरल्याण्डलाई रोक्न अफगानिस्तानका बलर रासिद खानले चार ओभरमा २५ रन खर्चेर चार विकेट लिए । यस्तै, मुजिर उर अहमान र फजिर अहमदले समान एक विकेट लिए ।