बदल्न नसकिएको संस्कार र महिला हिंसा

बदल्न नसकिएको संस्कार र महिला हिंसा

कमल शिशिर  |  दृष्टिकोण  |  पुष २४, २०७६

‘यहाँ दिनभर काम गर्‍यो, थाक्यो, सेवाग्राहीहरूको कचकच, यसै पनि टाउको दुखेर फुट्ला जस्तो भइरहेको हुन्छ, त्यसमाथि घर जाँदावित्तिकै भाँडा माझ, अझ कहिलेकाहीँ त छोरीलाई पनि केही खुआएका हुँदैनन् । त्यसैत्यसै रुन मन लाग्छ, कहिले सरुवा होला सर ?’

सँगै काम गर्ने महिला सहकर्मीको यो भनाइले शहरिया बुहारीको प्रतिनिधित्व गर्छ । उनले एकै सासमा यो भनिरहँदा मैले एकाएक दूरदराजका थुप्रै महिला, जो छोरी, चेली, आमा, बुहारी या सासूकै रूपमा छन्, उनीहरूका अनुहार झल्झली सम्झेँ र अरू नै कुरा गरेर उनको कुरालाई विषयान्तर गरेँ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गतका कार्यक्रमहरू सरकारी तथा गैरसरकारी तवरबाट चलिरहेका छन् । अभियानको महत्त्व र सार्थकताको कुरा पछि नै गरौँला तर यो अभियान सुरु हुँदा नहुँदै उपत्यकाको मेडिसिटी अस्पतालमा होल बडी चेकअपका लागि पुगेकी कीर्तिपुरकी एक महिला झण्डै बलात्कृत भइन् ।

उक्त अस्पतालमा कार्यरत एक डाक्टरले उनको गोप्य संवेदनशील अंगमा हात पु¥याएको र जबर्जस्ती करणी उद्योग गरेकाले उनी पुर्पक्षका लागि थुनामा पुगे ।

माथि उल्लेख गरेको कुराले संस्कारको कुरा जनाउँछ । एकै सेवामा कार्यरत श्रीमतीले कार्यालय समयपछि घरको सबै धन्दा गर्नुपर्ने र श्रीमान् साथीभाइ भन्दै इभिनिङ वाकमा निस्कने, पार्टी भन्दै रेस्टुरेन्ट धाउने या मोबाइल, टीभी या ल्यापटपमा झुण्डिने प्रवृत्ति के हामीले नै हुर्काएको सामाजिक संस्कारको परिणाम होइन ?

के कुनै जागिरे श्रीमानलाई जति आरामको जरुरत पर्छ, त्यति नै जागिरे श्रीमतीलाई पर्दैन र ? के एक श्रीमानले आफूले खाएका भाँडा आफैँ माझ्दा उसको मर्दपन हराउँछ ? के उसले आफ्नी श्रीमतीलाई भान्सामा सहयोग गर्दा उसको आत्मस्वाभिमान गिर्छ ?

हामीले समानताका कुरा गरिरहँदा शिक्षित र सभ्य नागरिक भनिएकाहरूलाई हाम्रो यो व्यवहारले जिस्काइरहेको छैन ? यहाँ उल्लेख गरिएका दुई फरक घटना या विषयवस्तुले केही उदाहरणको मात्र प्रतिनिधित्व गर्छन् । अशिक्षा, गरिबी र पहुँचका आधारमा लुकेका लाखौँ घटनाहरूले महिला सशक्तीकरणका लागि भएका अभियान तथा कार्यक्रमहरूलाई गिज्याइरहेका छन् ।

शहरिया र शिक्षित भनिएका महिला नै रातदिन हिंसाको सिकार भएका छन् । तीमध्ये निकै कम मात्र हामीले थाहा पाउँछौँ । ग्रामीण क्षेत्रका महिलाको हालत के छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

हामी हरेक ठाउँमा महिला हक अधिकार र आरक्षणका कुरा त गर्छौं तर यी कुराहरूको नीतिगत व्यवस्थाले मात्र पुग्छ त ?

हामी हाम्रा सामाजिक संरचनाहरू, जस्तै : विद्यालय, कलेज, पार्क, सार्वजनिक शौचालय, अस्पताल, सिनेमा हल, यातायातका साधन, मठ मन्दिर, विभिन्न सञ्चारगृह, सरकारी तथा गैरसरकारी कार्यालयहरू, विभिन्न व्यापारिक प्रतिष्ठान तथा संघसंस्थाहरू महिलामैत्री भएनन् भन्छौं । त्यो सत्य पनि हो तर चुरो कुरो के हो भन्नेतिर हामी कहिल्यै लागेनौँ ।

बिमारको कारक के हो भन्ने कुरा निक्र्योल नगरी हामी बिरामीको बिमार दबाउनतर्फ लाग्छौँ । औषधिले एकछिन ज्वरो त दबाउँछ तर फेरि त्यो विकराल बनेर बल्झिन्छ । महिला हिंसाविरुद्धको अभियान जेजे प्रयोजनका लागि मनाए पनि अभियानकर्ताहरूले कतिको महिलामैत्री काम गरेका छन् ? सासूले बुहारीलाई गर्ने ज्यादती र बुहारीले वृद्धा सासुलाई गर्ने ज्यादतीको अन्त्य अभियन्ताले आफैँबाट सुरु गरेका छन् त ?

अपराध कर्म गरे पनि छोरो मान्छेको जयजयकार हुने र छोरी मान्छे अपहेलित भएको देखेर हुर्किन्छ र त बारम्बार पुरुष भएकै कारण महिला हिंसा गर्न उद्यत हुन्छ । त्यसैले हामीले हाम्रो आफ्नो परिवारबाटै समभावनाको विकास गर्नु जरुरी छ ।

हामी हाम्रा छोरा तथा भाइहरूलाई कति संस्कार सिकाइरहेका हुन्छौँ, त्यो नियाल्नु जरुरी छ । कुनै महिला हिंसामा परेको अवस्थामा हाम्रा सामाजिक परिपाटी र कानुनी उपचारका बाटाहरू कति फराकिला र सहज छन् ? बहस जरुरी छ । एउटी महिला बलात्कृत हुँदा उसले झेल्नुपर्ने शारीरिक र मानसिक समस्या त शब्दमा व्यक्त गर्न सकिन्न, त्यसपछि उसले उजुरी गर्दा झेल्ने सास्ती किन थोपरिएको छ ? समाजले उक्त महिलालाई नै सराप्ने या सामाजिक बहिष्करणमा पार्ने काम किन भएको छ ?

कलेजमा, जागिरमा, सेवा लिने ठाउँमा, अस्पतालमा, यातायातका साधनहरूमा यसरी महिलाहरूलाई यातना दिइएको हुन्छ कि उनीहरूलाई शारीरिक चोट नलागे पनि मानसिक आघात ज्यादा पीडादायी हुन्छ । उजुरी दर्ता गर्ने निकाय महिलामैत्री नहुँदा फेरि पीडित महिला नै प्रताडित बन्नुपरेको हुन्छ ।

अपराध र राजनीतिको अप्राकृतिक गठजोडले कति मुद्दाहरू दर्ता नै हुन पाउँदैनन् या दर्ता भइहाले पनि विभिन्न लोभ लालच या धम्कीका कारण मुद्दा फिर्ता लिन बाध्य बनाइन्छ । किन कुनै महिला रात परेपछि एक्लै हिँड्ने आँट गर्दिनन् यो समाजमा ? किन पितृसत्तात्मक नजरको तीरले छेडिनुपर्छ महिला ? किन आत्मसम्मानलाई हरेक ठाउँमा मार्नुपर्छ एक महिलाले ?

अहिले झन् सूचना र प्रविधिको द्रुततर विकासमा महिला नै पीडित बनेका छन् । सामाजिक संजालको दुरूपयोगले महिलामाथि झन् प्रहार गरिरहेको छ । के हाम्रा कानुनले मात्र यी सम्पूर्ण समस्याको निदान गर्छ ? अहँ, पटक्कै गर्दैन ।

यदि गर्दो हो त दिन प्रति दिन किन हामीले क्रूर समाचार हेर्न, सुन्न र पढ्न बाध्य हुन्थ्यौँ ? हामीले हामीमा सामाजिक जागरण नल्याउँदासम्म यी र यस्ता घटना जति नै प्रभावकारी कानुन बनाए या कार्यान्वयनमा ल्याए पनि रहिरहन्छन् । हामीले हाम्रै आमा, छोरी, चेलीहरूलाई जोगाउनका लागि पारिवारिक संरचनाबाट सचेतनाको थालनी गर्नुपर्छ ।
हामीले हाम्रा सामाजिक मूल्य र मान्यताहरूलाई अलिक फराकिलो बनाउँदै लैजानुपर्छ । सानै उमेरबाट छोराहरूलाई छोरी, चेलीको सम्मान गर्नु हाम्रो दायित्व र उनीहरूको रक्षा गर्नु हाम्रो सामाजिक तथा मानवीय कर्तव्य हो भनेर सिकाउनुपर्छ ।

पुरुष र महिलामा प्रजनन भेदबाहेक अरू केही फरक छैन र उनीहरू पनि सक्षम छन् भनेर सिकाउनुपर्छ । समभावको विकास गर्नका लागि हाम्रा सामाजिक संरचनाहरू पनि परिष्कृत बनाउँदै लैजानुपर्छ ।

महिला मुक्तिका कुरा गर्नेले नै महिलालाई दास बनाएका कारण हाम्रा सामाजिक नियमहरू खुकुला भएर मात्र होइन, हाम्रो पुरातनवादी सोचको उपज र संस्कारको कमी हो यो । जबसम्म हामीले महिला भनेका साधन मात्र हुन् भन्ने सोच राख्छौँ, तबसम्म महिला नै महिलाबाट अनेक रूपमा पीडित बनिरहने अवस्था आउँछ । किनकि हिजोकी बुहारी आज सासू बनिरहन्छिन् । अपराध गर्ने बेला किन कुनै पुरुषले आफ्नै आमा, दिदीबहिनी सम्झँदैन ? किन आफू त्यस्तै महिलाले जन्माएको हो भन्ने बिर्सन्छ ?

एउटै कारण हो, उसले महिलालाई सधैँ दोस्रो दर्जाको सम्झिन्छ किनकि उसले सिकेको संस्कार नै त्यही हो । बाबुले आमालाई रक्सी खाएर पिटेको देखेर हुर्किन्छ । बाटोमा पछाडिबाट सिठ्ठी फुक्दै या अन्य तरिकाले केटी मान्छेलाई जिस्क्याएको देखेर हुर्किन्छ । स्कुलमा सरहरूले मिसहरूलाई अवमूल्यन गरेको देखेर हुर्किन्छ ।

बसमा यात्रा गर्दा महिलालाई जिस्क्याएको, भीडभाडको मौका पारेर संवेदनशील अंगहरूमा हात पुर्‍याएको देखेर हुर्किन्छ । छोरो मान्छे अबेर घर आए पनि छोरी मान्छे उज्यालोमै घर आउनुपर्ने नियम देखेर हुर्किन्छ । स्वतन्त्रताको नाममा छोरो मान्छे छाडा भएको र छोरी मान्छे संकुचित भएर बाँचेको देखेर हुर्किन्छ ।

अपराध कर्म गरे पनि छोरो मान्छेको जयजयकार हुने र छोरी मान्छे अपहेलित भएको देखेर हुर्किन्छ र त बारम्बार पुरुष भएकै कारण महिला हिंसा गर्न उद्यत हुन्छ । त्यसैले हामीले हाम्रो आफ्नो परिवारबाटै समभावनाको विकास गर्नु जरुरी छ । साना बाबूहरूलाई महिलाको सम्मान गर्न सिकाउनु आवश्यक छ । एक वाक्यमा भन्दा हामीले हाम्रो संस्कार बदल्नु जरुरी छ । संस्कार सिकाउनु जरुरी छ ।