'हाम्रो बाजा हाम्रो धुन' कार्यक्रममा १६ भन्दा बढि धुनहरु प्रस्तुत गरिँदै

'हाम्रो बाजा हाम्रो धुन' कार्यक्रममा  १६ भन्दा बढि धुनहरु प्रस्तुत गरिँदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष २५, २०७६

काठमाडौं । नेपाली लोक बाजा सहनाई र डम्फु अचेलका अधिकांश विवाह,व्रतबन्ध जस्ता शुभकार्यहरुमा गुञ्जिन छोडेको छ ।

बरु यिनको स्थान पश्चिमा व्याण्डबाजाले लिन थाल्यो । डिजिटल प्रविधिसँगै स्थापित आधुनिक संगीतहरुमा अधिकांश युवा रम्न थाले, यसकारण हाम्रो मौलिक पहिचान लोप हुदै गएकोमा बुढापाकाहरु चिन्ता व्यक्त गर्छन् । यिनै सन्दर्भमा मौलिक संगीत संस्कृतिको प्रवद्र्धनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान,काठमाडौंले यो पटक एकसाथ दर्जनौं लोकधुनहरु कार्यक्रम 'हाम्रो बाजा हाम्रो धुन' प्रस्तुत गर्ने भएको छ ।
२०७६ पुस  २७ गते  आइतबार दिउँसो राजधानीको कामलादिस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेपाली लोक बाजा सारङ्गी,सहनाई,डम्फु,टुङ्ना,बाँसुरी,खिं,धिमे लगायत बाजाका साथमा सोरठी धुन, मङ्गल धुन,मैथिली धुन,पालाम जस्ता १६ भन्दा बढि धुनहरु प्रस्तुत गर्ने भएको हो ।

‘राष्ट्रिय एकता दिवस एवम् नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हामीले हाम्रो उद्धेश्य अन्तरगतनै यो कार्यक्रम गर्दैछौं’–विहीबार आयोजित पत्रकार सम्मेलनमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले भने–‘नेपाली लोक बाजा सहनाई आज भारतको भन्न थालियो,मुर्चुङ्गा हाम्रो विशुद्ध नेपाली बाजा हो तर पनि यसलाई नेदरल्याण्डले आफ्नो बाजा भन्न थाले,यसरी हाम्रा बाजाहरु नेपाली जीवनबाट टाढिदैछन्,त्यसैले हामीले लोप हुन लागेका बाजाहरुलाई युवा पुस्तामा पुर्नस्थापित गर्न जरुरी ठानेका छौं ।’

नेपाललाई विश्व सामु चिनाउने बाजाहरुमध्ये सारङ्गी बाजा संरक्षणमा गन्धर्व समुदायबाटनै केहि प्रयासहरु भएको जानकारी पाएको उल्लेख गर्दै कुलपति रायनले राज्यको तर्फबाट खोज,अनुसन्धान,प्रवद्र्धन जस्ता कामहरु प्रतिष्ठानबाट भईरहेको बताए ।  

प्रतिष्ठानका सदस्यसचिव श्यामप्रकाश तमोटले पनि नेपाली जीवनसँगै विकास भएका मौलिक संगीतको प्रवद्र्धनका लागि यो कार्यक्रम गर्न लागेको स्पष्ट पार्नुभयो । उनले भने–‘संविधान दिवसको सन्दर्भमा गत असोजमा सारङ्गीलाई प्रतिकात्मक बनाएर पूर्वदेखी पश्चिमसम्मका नेपाली भावना 'सारङ्गीमा देश' मार्फत पस्केका थियौं, नेपालमै पहिलो पटक यसरी मौलिक धुनहरु पस्केका थियौं,यो पटक अझ हामीले अझ व्यवस्थित र वृहत बनाउने तयारी गरेका हौं,यसले हाम्रा लोक धुनहरु एकै थलोमा एकै दिन सुन्ने अवसर फेरि प्रदान गर्नेछ ।’  

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विदेशी दुतावसका प्रतिनिधि,विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई समेत सहभागि गराईने उनले बताए ।  

प्राज्ञ एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत विभाग संयोजक अशोककुमार राईको संयोजनमा हुने कार्यक्रममा सारङ्गी बादनको संयोजन भरत नेपाली र ताल वादनको संयोजन भरत बुढाथोकी र नरेश महर्जनले गर्नेछन् ।

सदस्यसचिव तमोटले यो पटक २९८ औं पृथ्वी जयन्तीका साथै नेपाल भ्रमण वर्षको समेत प्रवद्र्धन हुनेगरी नेपाल प्रज्ञा प्रतिष्ठान,ललितकला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानसँग मिलेर यस्ता विविध कार्यक्रमहरु गर्न लागेको जानकारी दिए ।  

उनका अनुसार पुस २५ गते प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय सभा हलमा ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भू–राजनीति’ विषयक विचार गोष्ठी नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गर्नेछ । ललितकलाको आयोजनामा २६ गते नक्सालमा कला प्रदर्शनी हुनेछ । पुस २७ गते दिउँसो २ बजे प्रतिष्ठानमा 'हाम्रो बाजा हाम्रो धुन' कार्यक्रम गरिनेछ । सोही साँझ सांस्कृतिक संस्थानद्वारा नाचघरमा ‘सांस्कृतिक उत्सव’ आयोजना गरिनेछ ।