आत्मा के हाे, प्राकृतिक प्रदार्थ अर्थात प्रभेद के हो ?

आत्मा के हाे, प्राकृतिक प्रदार्थ  अर्थात प्रभेद के हो ?

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  पुष २६, २०७६

 

नास्त्यश्नथस्तु योगोऽस्ति न चैकान्तमनश्नतः ।
न चाति स्वप्नशीलस्य जाग्रतो नैव चार्जुन ।। १६ ।।

अन्वय र अर्थ – अर्जुन = हे अर्जुन ? तु = किन्तु, अत्यश्नतः = अत्यधिक भोज गर्नेको, योगः = समाधि, नअस्ति = सिद्ध हुँदैन, न च एकान्तं = कत्ति पनि, अनश्नतः = भोजन नगर्नेको पनि, न च अति स्वप्नशीलस्य = न अति निद्राशील व्यक्तिको, न च एव = न अति, जाग्रतः = जाग्ने व्यक्तिको (योगो भवति) = योग हुन्छ ।

भावार्थ – परन्तु हे अर्जुन ? अति भोजन गर्ने व्यक्तिको, योगसिद्धि हुँदैन, त्यस्तै कत्ति पनि खांदै नखाने व्यक्तिको, त्यस्तै अति निद्रालुको पनि हुँदैन, त्यस्तै अति जाग्ने व्यक्तिको पनि योग सिद्धि हुँदैन । 

    युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
    युक्त स्वप्नावबोधस्य योगो भवनि दुःखहा ।। १७ ।।

अन्वय र अर्थ – युक्ताहार विहारस्य = नियमित भोजन तथा विहार गर्ने, कर्मसु = कर्महरूमा, युक्तचेष्टस्य = नियमानुसार चेष्टा गर्ने, युक्त स्वप्नाबवोधस्य = नियमित निद्राजागरणमा रहने व्यक्तिको, दुःखहा = सम्पूर्ण संसार रूप दुःखको नाश गर्ने, योगः = योग, भवति = सिद्ध हुन्छ ।

भावार्थ – नियमित आहार विहार गर्ने, कर्महरूमा नियमित चेष्टा राख्ने, नियमित निद्रा तथा जाग्रत रहने जो हो उसैको दुःखहारी योग सिद्धि हुन्छ ।

विशिष्टार्थ – योगीका लागि ज्यादा खानु, खाँदैनखानु  दुबै निषिद्ध छन्, नियमित (संतुलित)  आहार नै उनीहरूका लागि विधेय (अनुष्ठेय) हो । सात्विक आहार त्यो पनि परिमित परिमाण भएमा नै आहार नियमित हुन्छ । पेटको आधा भाग अन्नद्वारा, एक चतुर्थांश जलीय पदार्थद्वारा पूर्ण गरेर अवशिष्ट चतुर्थ अंश वायु चालनका लागि खाली राख्नुको नाम मिताहार हो । 'मिताहारं विनायस्तु योगारंभं करोति च । नाना रोगो भवेत्तस्य किञ्चित् योगो न सिद्धथति' । जस्तो ठीक चालचलनमा चल्नाले अङ्ग प्रत्यङ्ग परिचालन हेतु शरीर कर्मठ रहन्छ वढी श्रम हुँदैन । यसैको नाम नियमित विहार हो । क्रिया (साधना) आज अलिकति मात्र गरें, आज अरू भएन भोलि दुबै दिनको संगै गर्छु भन्ने यस प्रकारको क्रिया गर्नाले योगसिद्धि हुँदैन, साधनाको लागि नियम ठीक ठीक राख्नु पर्छ अर्थात् कुन वेला कति वेरसम्म गर्ने भन्ने समय निर्धारण हुनु पर्छ । यसमा कुनै प्रकारको व्यक्तिम नहुनु  नै युक्त चेष्ट हुनु हो । त्यस्तै निद्रा जागरण पनि नियमित हुनु पर्छ, किन कि अधिक निद्रा सेवनले शरीर अवसन्न (शिथिल) र वायु पथ समूह श्लेष्मायुक्त भैदिंदा योगानुष्ठानमा विध्न पुग्छ, त्यस्तै सुत्दै नसुते पनि शरीर ग्लानियुक्त भएर नाना थरीका विकारहरूले ग्रस्त हुन्छ, योग हुँदै हुँदैन । योगाभ्यासका लागि एक प्रहर निद्रा यथेष्ट हुन्छ । शुरू शुरूको योगाभ्यासको समय रातमा पुरा एक नीद लिएपछि उठेर शौचादि कार्यबाट निवृत्त भएर हात मुख धोएर पवित्र बनेर आसनमा बसेर क्रिया गर्नु पर्छ । योगमार्गमा केही अग्रसर भएपछि त्यो निद्रा दिनमा खाना खाएपछि लिएर रातको सम्पूर्ण समय योगानुष्ठानमा लगाउनु राम्रो हुन्छ । यी सबै बाह्य नियम हुन् ।

शरीरमा कुनै प्रकारको चञ्चलता वा उद्वेग  रहदैन, तब मन पनि पूर्ण रूपले पाँचै चक्रको सम्बन्धलाई त्यागेर माथि उठेर  आज्ञामा स्थित हुन्छ, यसैलाई नै चित्तको  निरुद्ध अवस्था भन्दछन् । यस अवस्थामा आइसके पछि तल तिरको आकर्षण शक्ति निस्तेज हुनाले स्वभाव वश मन स्वतः ऊध्र्व दिशामा  आकर्षित हुन्छ, अनि सहस्रारमा पुग्दछ ।

बाह्य आहार विहार सम्बन्धमा एक निश्चित नियम पालना गर्नु पर्दछ, क्रियाकाल अन्तर्गत यस्तै आन्तरिक नियमहरू पनि पालना गर्नु पर्दछ । शरीर पोषणका लागि कुनै खाद्य पदार्थ उदरमा पुर्‍याउने क्रिया आहार हो ।, क्रियाको वेला केवल वायुको मात्र आहार हुछ । त्यो वायु आहार अत्यधिक अथवा सास फेर्दा जोडले वायु तान्दा सारा शरीरमा कम्पन हुन्छ, यस्तो हुँदा योग हुँदैन रोग हुन्छ । त्यस्तै सासलाई नतान्दा अथवा सासलाई बाहिर नफालेर एकदम बन्द गरिरहँदा पनि रोग हुन्छ । निश्वास प्रश्वासको सहज प्राण चालनद्वारा गुरूपदिष्ट कौशल प्रयोग गरेर रहनु पर्दछ, यसो गर्दामा नै योग हुन्छ, यसैको नाम  'युक्ताहार' हो अनि यो श्वासको क्रिया यथासमयमा यथानियममा अनुष्ठान गर्नाले नै अर्थात् श्वासलाई कहिले लामो कहिले छोटो,कहिले मन्द कहिले तीव्र नगरेर मन्त्र समन्वयद्वारा  समानरूपले श्वास प्रश्वास लिनाले नै युक्त विहार तथा युक्तचेष्ट भइन्छ । अव श्वप्न र जागरणको बारेमा बताइन्छ । हामीहरू साधारण अवस्थामा दिन र रात भरमा जति प्रकारको अवस्था पाउँछौं त्यो सबै नै योगशास्त्रको मतमा स्वप्न हो, त्यसैले भनिन्छ – यो जगत् स्वप्न जस्तै छ, अर्थात् आन्त्मचिन्ता वा ईश्वर चिन्ता त्याग गरेर जुन विषय संस्रव हुन्छ त्यही स्वप्न हो । अनि साधनामा माथि उठेर अन्तरतम प्रदेशमा प्रवेश गरेर जुन अवस्थामा संसारकोअनित्यत्व, अकिञ्चितकरत्व र आत्माको नित्यानन्दत्व अपरोक्ष ज्ञानद्वारा अनुभव गरिन्छ त्यसैलाई जागरण या प्रबोध समय भन्दछन् । यो स्वप्नावस्थामा अर्थात् विषय संसर्गमा अधिक समय रहनाका लागि मन त्यसैमा आसक्त भैदिनाले भित्र प्रवेश गर्न सक्दैन । योगानुष्ठानमा जुन जाग्रत अवस्था प्राप्त हुन्छ पहिले पहिले अधिक समय रहने चेष्टा गर्नाले शरीरको उपादान (सांसारिक वस्तुबाट अफ्ना  इन्द्रियहरू तथा मनलाई हटाउने शक्ति) क्षय हुन्छ , स्वस्थ शरीर पनि रोग ग्रस्त हुन जान्छ । अतः प्रथमतः नियम बांधेर यथा समयमा योगानुष्ठान गर्नु पर्दछ पछि पछि अभ्यास दृढ हुँदै जाँदा क्रियाको स्थिति काल स्वतः बढ्दै जान्छ, तब अरू कुनै विध्न वाधाको डर हुँदैन । गुरूपदेश माथि निर्भर गरेर अत्यन्त सावधानी पूर्वक अतियत्नका साथ यी सबै उपायहरूका अनुसार क्रियाको अनुष्ठान गर्नाले समाधि लाभ हुन्छ, समस्त दुःखको पनि क्षय हुन्छ ।

    यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते ।
    निस्पृहः सर्वकामेभ्यो युक्त इत्युच्यते तदा ।। १८ ।।

अन्वय र अर्थ – यदा = जुनबेला, चित्तं = चित्त, विनियतं = विशेष रूपले एकाग्रतामा प्राप्त भएको छँदो, आत्मनि एव = केवल आत्मामा नै, अवतिष्ठते = स्थिति लाभ गर्छ, तदा = त्यस बेला, सर्वकामेभ्यः = दृष्ट तथा अदृष्ट सम्पूर्ण विषयहरुबाट, निस्पृहः = तृष्णा रहित योगी, युक्तः = समाधिस्थ, इति = यस्तो, उच्यते = कहिन्छ ।

भावार्थ – जब यचित्तले विशेष भावले नियत भएर आत्मामा नै स्थिति लाभ गर्दछ, तब मात्र योगी सम्पूर्ण कामबाट स्पृहाशून्य भएर युक्त नामले अभिकित हुन्छ ।

विशिष्टार्थ – १७ औं श्लोकमा नियमबद्ध भएर कर्म गर्नाले नै योग (समाधि) हुन्छ भनिएको छ ।अव कर्मको अनुष्ठान गर्नाले कुनबेला युक्त भइन्छ भन्ने कुरा यस श्लोकमा बताइएको छ । जब चित्त एकाग्र भएर एकमात्र आत्मामा स्थिर हुन्छ, आत्मा विना अरू कसैको चिन्ता गर्दैन, आफू आफैमा रहन्छ, त्यसै समयलाई सर्व चिन्ता विवर्जित अवस्था भनिन्छ, अर्थात् पृथ्वी, जल, जेत, वायु, आकाश यी जुन सर्व हुनु यिनीहरूसंग सम्बन्ध नरहनाले यिनीहरूप्रति कुनै स्पृहा रहदैन, एक मात्र आत्मा नै अवलम्बन हुन्छ, यही हो युक्त अवस्था ।

    यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता ।
    योगिनो यतचित्तस्य युञ्जतो योगमात्मनः ।। १९ ।।

अन्वय र अर्थ – यथा = जस्तै, निवातस्थः = वायु रहित स्थानमा रहेको, दीपः = बत्ती, न इङ्गते = विचलित हुँदैन, आत्मनः = आत्मालाई, योगं = योगमा, युञ्जतः = निरन्तर संलग्न (अनुष्ठान गर्ने), योगिनः = योगीको, यतचित्तस्य = संयत अन्तःकरणको, सः = त्यो बत्ती, उपमा = द्दष्टान्त, स्मृता = भनिन्छ ।

भावार्थ – जस्तै वायु विहीन स्थानमा दीप शिखाको कम्पन हुँदैन, आत्म योगानुष्ठानमा रत योगीको संयत चित्तलाई त्यस्तो उपमा दिइएको छ ।

विशिष्टार्थ – वायु विहीन स्थानमा दीप शिखा क्रमशः झिनो हुँदै सियोको टुपो जस्तो हुन्छ, यो सूक्ष्म शिखा अङ्कित चित्र जस्तै स्थिर हुन्छ, त्यसमा ऊध्र्व प्रवाह विद्यमान छ । बत्तीदेखि लिएर शिखाको अग्रभागसम्म नै प्रकाश हुन्छ त्यसपछि माथि देखि नै अप्रकाश (निराकार) हुन्छ । चित्त संयत गरेपछि ठीक त्यस्तै प्रकारले समुदय वृत्ति एकाग्र भएर एक अतीव सूक्ष्म विन्दुमा स्थिर प्रवाह आकारद्वारा प्रवेश गरे मेटिन्छ, अर्थात् त्यो सबै वृत्ति आफ्नो आफ्नाे उत्थान पतन रूप साकारत्व परित्याग गरेर निराकारत्व (साम्यत्व) मा परिणत हुन्छ ।

    यत्रोपरमते चित्तं निरुद्धं योग सेवया ।
    यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यति ।। २० ।।
    
    सुखमात्यन्तिकं यत्तद् बुद्धिग्राह्यमतीन्द्रियम् ।
    वेत्तियत्र न चैवायं स्थितश्चलति तत्वतः ।। २१ ।।

    यं लब्ध्वाचापरं लाभं मन्यते नाधिकं ततः ।
    यस्मिन् स्थितो न दुःखेन गुरुणापि विचाल्यते ।। २२ ।।

    तं विद्याद् दुःखसंयोगवियोगं योगसंज्ञितम् ।
    स निश्चयेन योक्तव्यो योगोऽनिर्विण्णचेतसा ।। २३ ।।

अन्वय र अर्थ – योगसेवया = योगानुष्ठानद्वारा, विरुद्धं = हावा रहित बत्ती जस्तो एकाग्र भएको, चित्तं = चित्त, यत्र = जुन अवस्था विशेषमा, उपरमते = निवृत्त हुन्छ, यत्र च एव = जुन अवस्था विशेषमा, आत्मना = समाधिद्वारा परिशुद्ध अन्तःकरणद्वारा, आत्मानं = परम ज्योतिस्वरूप  आत्मालाई, पश्यन् = साक्षात्कार गर्दै, आत्मनि = आपैmमा, तुष्यति = तृप्ति लाभ गर्दछ । यत्र = जुन अवस्था विशेषमा, स्थितः (सन्) = रहेको छँदो, अयं = यो योगी, आत्यन्तिकं = अनन्त,बुद्धिग्राह्यं = बुद्धिद्वारा ग्रहण गर्न योग्य, अतीन्द्रियं = इन्द्रियजनित सुखभन्दा परको, यत् = जुन, सुखं = सुख हो, तत् = त्यो सुख, बेत्ति = अनुभव गर्दछ, यत्र च एव = जुन अवस्था विशेषमा, स्थितः = रहेको छँदो, अयं = यो योगी, तत्वतः = आत्मा स्वरूपबाट, न चलति = विचलित हुँदैन । यं = जुन  आत्म लाभलाई, लब्ध्वा = पाएर, च = पनि, अपरं = अरु कुनै दोस्रो, लाभं = लाभ, ततः = त्यसभन्दा, अधिकं = अधिक, नमन्यते = मान्दैन, यस्मिन् = जुन आत्मतत्वमा, स्थितः (सन्) = रहेको छँदो, गुरुणा = महान्, दुःखेन अपि = दुःखद्वारा पनि, न विचाल्यते = विचलित हुँदैन । तं = पूर्वोक्त प्रकारको अवस्था विशेषलाई, दुःख संयोग वियोगं = विषयेन्द्रिय संस्पर्शबाट उत्पन्न सम्पूर्ण मनोवृत्ति नै दुःख हो र त्यसको संयोगको वियोग जसमा छ त्यो अर्थात् दुःख रहित, योग संज्ञितं = योग शब्द वाच्य (योग), विद्यात् = जानोस् । सः = त्यो योग, अनिर्विण्णचेतसा = अविचलित मनले (निर्वेद रहित मनले) निश्चयेन = निश्चयपूर्वक, योक्तव्य = योगको अभ्यास गर्नु पर्छ ।

भावार्थ – योग सेवा (योगानुष्ठान) द्वारा निरुद्ध (नियन्त्रित) चित्त जुन अवस्था विशेषमा उपरत (निवृत्त हुन्छ र जुन अवस्था विशेषमा आत्माद्वारा आत्माको दर्शन गरेर आत्मामा नै तुष्टि लाभ गरिन्छ, जुन अवस्था विशेषमा रहेर योगी बुद्धिग्राह्य अतीन्द्रिय अनन्त सुख अनुभव गर्दछन्, यसरी नै आत्मा स्वरूपबाट विचलित हुँदैनन्, जुन अवस्था लाभ गरेपछि अर्को कुनै लाभलाई त्यस भन्दा अधिक लाभको रूपमा मान्दैनन्, अनि जसमा स्थित भएपछि आधिव्याधिरूप महत दुःखबाट पनि विचलित हुँदैनन्, त्यही दुःख संस्रवविहीन अवस्थालाई नै योग शब्द वाच्य जान्नु पर्छ । त्यस योगलाई अध्यवसाय (दृढ श्चिय, प्रण, दृढ संकल्प) को सहायताले निर्वेद रहित चित्तले अभ्यास गर्नु पर्दछ ।

विशिष्टार्थ – चित्तवृत्तिको निरोध अवस्थाको नाम योग हो । मनलाई एकाग्र गरेर क्रिया गर्दा गर्दा जब शिरा प्रशिरा आदि सबै वायु पूर्ण हुन्छन्, मन्द मन्द श्वास प्रश्वासको क्रिया धीर भावले सम्पन्न भइरहन्छ, शरीरमा कुनै प्रकारको चञ्चलता वा उद्वेग  रहदैन, तब मन पनि पूर्ण रूपले पाँचै चक्रको सम्बन्धलाई त्यागेर माथि उठेर  आज्ञामा स्थित हुन्छ, यसैलाई नै चित्तको  निरुद्ध अवस्था भन्दछन् । यस अवस्थामा आइसके पछि तल तिरको आकर्षण शक्ति निस्तेज हुनाले स्वभाव वश मन स्वतः ऊध्र्व दिशामा  आकर्षित हुन्छ, अनि सहस्रारमा पुग्दछ । निरुद्ध (बहिर्विषय व्यापार परिशून्य) चित्त सहस्रारमा पुगेर निर्वापित (शान्त) नहुँदासम्म भिन्न भिन्न क्रममा  उठिरहन्छ, त्यही एक एक क्रम योगको वा समाधिको एक एक अवस्था हो । यी सबै अवस्थाहरु नै २० – २२ श्लोकमा व्यक्त गरिएका छन् ।

योगसेवाद्वारा (क्रिया गर्दा गर्दा) चित्त निरुद्ध हुनु भन्दा पहिले नै विषयाकर्षणको आकर्षण मेटिएर स्थिर हुन्छ, त्यो स्थिर अवस्था कायम राख्नका लागि अरूकुनै प्रकारको नवीन चेष्टा गर्नु पर्दैन, परन्तु  मनको संकल्प क्रिया अहिलेसम्म पनि नमेटिएकोले एक आकांक्षा रहिरहन्छ । त्यो आकांक्षा नमेटिनाले त्यो के हो भन्ने कुरा जान्न एक विशेष प्रकारको तर्क उपस्थित हुन्छ । त्यसकारण यस उपरम अवस्थालाई योगशास्त्रमा वितर्क अवस्था भनिएको छ । यो वितर्क नै सम्प्रज्ञात समाधिको प्रथम स्तर हो । त्यसपछि चित्त अरूकेही अग्रसर हुनाले संकल्प क्रिया अभिमूत हुन्छ, अनि आत्माद्वारा आत्मालाई साक्षात्कार गरेर चित्तमा तुष्टि प्राप्त हुन्छ । यस अवस्थामा आत्मा के हाे, प्राकृतिक प्रदार्थ भन्दा उसको प्रभेद के हो ?  यो अपरोक्ष स्वरूप ज्ञानद्वारा विचार गर्नाले आकांक्षा मेटिन्छ । अतः यस  अवस्थालाई विचार अवस्था भन्दछन्, यो विचार नै सम्प्रज्ञात समाधिको द्वितीय स्तर हो । यसपछि एक प्रकारको सुखको उदय हुन्छ, त्यो सुख अतीन्द्रिय अर्थात् ज्ञानेन्द्रिय र मनबाट अतीत छ, यी सबैबाट त्यो सुख अनुभवमा आउन सक्दैन अर्थात् संकल्पात्मक मनको क्रिया रहनाले त्यस सुखको उदय नै  हुँदैन, अतः त्यस सुखलाई वाणीद्वारा व्यक्त गरेर संझाउने वुझाउने कुनै उपाय छैन, अव्यक्त छ । यो सुख बुद्धि ग्राह्य हो, अर्थात् संकल्प विहीन  निश्चयात्मिका वृत्तिद्वारानै अनुभव हुन्छ, अनि यो सुख आत्यन्तिक हो, अर्थात् अनन्त भोगबाट शेष हुँदैन, फेरि भोग गर्नाले आत्मतत्वदेखि विचलित पनि हुनु पर्दैन, यो सुखावस्था नै योग शास्त्रको आनन्दावस्था, सम्प्रज्ञात समाधिको तृतीय स्तर हो ।

यसपछि अर्को एक अवस्था आउँछ ।  त्यो प्राप्त भएपछि त्यसपछि प्राप्त हुन अरू केही वाँकी रहदैन । यही प्राप्तिको प्राप्ति पराकाष्ठा स्थिति हो ।  यही आफैमा आफु रहने अवस्था, योग शास्त्रको अस्मिता अवस्था, संप्रज्ञात समाधिको चतुर्थ अनि शेष स्तर हो । यो चतुर्थ अवस्था पछि वृत्ति विस्मरण अवस्था–परिपूर्ण ज्ञानको परिपाकको लागि अज्ञान अवस्था कैवल्य वा निर्वाण अवस्था आउँछ । त्यस अवस्थामा गुरुतम दुःखबाट पनि विचलित हुनु पर्दैन ।  अर्थात् त्यसपछि अरू माया विकारले स्पर्श गर्न सक्दैन, कुनै प्रकारको अनुभव गर्ने व्यापार नै रहदैन, अन्तः कारण नै छैन भने जान्ने कसले ? अतः यसलाई असम्प्रज्ञात समाधि भन्दछन् । यस अवस्थामा पुगिसके पछि साधकले आफ्नाे  अन्तिम निश्वासलाई फेर्नाले नै अपुनरावृत्ति गति लाभ गर्दछ । अतः एक संसारको हर्ष विपाादरूप जुन दुःख हो त्यसको संयोगमा अरू उसलाई आउनु पर्दैन । त्यसैले  योगलाई  'दुःख संयोग वियोंग' भनिएको हो ।   अतः यो योग योक्तव्य अर्थात् अभ्यासद्वारा आयत्त गर्नु सबैको लागि उचित छ । अभ्यासको प्रथममा आयास (कष्ट)  छ भनेर त्याग गर्नु उचित हुन्न, निर्वेद रहित चित्तले अर्थात् वेदविहित उत्साह उद्यमको सहायताले, अनि निश्चयद्वारा अर्थात् 'गर्छ गर्छु' यस्तो दृढ अध्यवसाय (प्रण) द्वारा यत्न गर्नु पर्दछ, चेष्टा गर्नु पर्छ, यसो गर्नाले नै  आयत्त (अधीन) पनि हुन्छ ।

  संकल्प प्रभवान् कामांस्त्यवत्वा सर्वानशेषतः ।
    मनसैवेन्द्रियंग्रामं विनियम्य समन्ततः ।। २४ ।।

क्रमशः

याे पिन

आत्मा सुख: जसले जान्यो, सम्झ्यो त्यो भाषामा व्यक्त गर्न कठीन

ज्ञान बिनाकाे प्राणायामको फल क्षणिकमात्र

कर्मयोग र संन्यासयोगका सूत्रः साधना र अभ्यास कसरी ?

ज्ञान र विज्ञानकाे अन्तरात्माः  ब्रम्हज्ञान अर्थात् आत्मज्ञान

तारकब्रम्ह कूटस्थ पुरुषको पूजा र 'सर्वदा' समयकाे सन्दर्भ