'ब्रोइलर' उपन्यासमा अल्झिएको नेपाली साहित्य
पुष २६, २०७६

नेपाली साहित्य यतिखेर आख्यानमा पुगेर थुप्रिएको छ । आख्यानका विविध रूपमध्ये उपन्यास लेखन नै यतिबेला साहित्य बनेर देखिएको छ । वर्तमान समयलाई आख्यानको समयका रूपमा लिइन्छ । साहित्यकार हुनु भनेकै उपन्यासकार हुनु हो र उपन्यासकार हुनु भनेकै  साहित्यकार हुनु हो भन्ने चिन्तन विकास हुँदै गएको छ ।

उपन्यासभन्दा अरू पनि साहित्य हुन्छ भन्ने कुरा न प्रकाशकलाई थाहा छ, न पाठकलाई नै । उपन्यासको चाङमा विचरा कथा, कविता, निबन्ध र नाटक यसरी चेपिएका छन् कि तिनलाई सास फेर्न पनि गाह्रो भएको अनुभूत हुन्छ । यसरी समसामयिक युगमा साहित्यको प्रतिनिधित्व उपन्यासले गरेको कुरा प्रस्ट छ । 

कुनैबेला उपन्यास त के साहित्य शब्द पनि प्रयोगमा थिएन । सिंगो साहित्यलाई काव्य शब्दले बोकेको पाइन्छ । पूर्वीय साहित्यको इतिहास हेर्ने हो भने साहित्यशास्त्रका नाममा काव्य शब्द जोडिएको पाइन्छ । जस्तै : काव्यालंकार, काव्यप्रकाश जस्ता शास्त्रीय ग्रन्थहरूमा साहित्य शब्द भेटिन्न ।

आचार्य विश्वनाथले साहित्यदर्पण नामक लक्षणग्रन्थको प्रणयन गरेपछि काव्यलाई विस्थापन गरेर साहित्य शब्द प्रयोगमा बढेको पाइन्छ । त्यसयता पनि धेरै शताब्दीसम्म साहित्यमा कविताले राज गरेको इतिहास तरोताजा छ । एकदमै सुसंगठित कथावस्तु भएको रामायण, महाभारत जस्ता ग्रन्थदेखि तिनमा उपजीव्य भएर रचित परवर्ती कृतिहरूसमेत काव्यकै प्रवाहमा सिर्जित छन् ।

वैदिक साहित्यदेखि नै अस्तित्वमा रहेका गद्याख्यानहरू कविताका सेपमा वर्षौंसम्म परिरहे । आधुनिककालको साहित्यसम्म आइपुग्दा पनि काव्यले आफ्नो स्थानलाई उत्तिकै दरिलो बनाएर राखेको पाइन्छ । आजसम्म पनि नेपाली साहित्यको ऐतिहासिक स्वरूप भनेको काव्य नै हो । नेपाली साहित्यमा काव्यले जसरी प्रभावपूर्ण गतिले पाँचौँ पुस्ताको यात्रा गरिरहेको छ, उपन्यास दोस्रो पुस्तामा मात्र पुगेको छ । त्यति हुँदाहुँदै पनि उपन्यास नै यतिबेला प्रभावशाली भएको तथ्य भने स्वीकार गनुपर्ने नै हुन्छ । 

हुनलाई त कविता, गजल, मुक्तक, खण्डकाव्य र महाकाव्य पनि प्रकाशन भइरहेका छन् । तिनीहरूको भव्य विमोचन पनि हुन्छ । ख्यातिप्राप्त समालोचकहरूले त्यस्ता कृतिहरूको निन्दा, प्रशंसा पनि गर्छन् । यो सुखद् कुरा हो ।


रमाइलो कुरा के भने धेरैभन्दा धेरै साहित्यिक जनशक्तिचाहिँ कावितामा नै खपत भएको छ । जनसहभागिताका हिसाबले कविता सर्वाधिक महत्त्वको विषय हो । यहाँ कवित भनेपछि त्यसभित्र प्रबन्धकाव्य, गीत, गजल, मुक्तक जस्ता कुरालाई छुट्टै सम्बोधन गर्नुपर्ला जस्तो लाग्दैन । यस किसिमका कृति प्रकाशनमा प्रायजसो कृतिकार आफैँले द्रव्य लगानी गर्नुपर्ने भएकाले आयव्ययको हिसाब किताब साहित्यको बजारलाई समेत थाहा छैन ।  तर त्यस्ता कृतिहरू साहित्यिक क्षेत्रसित चिनजान नभएका वा भनौँ विमोचन कार्यक्रममा नपुगेका मानिसका पहुँचमा पुग्न पाउँदैनन् । 'ल हजुर ! मेरो यस्तो किताब छापिएको छ, पढेर प्रतिक्रिया पाऊँ' भन्दा भेट भएका मानिसलाई दिँदै धन्यवाद गोजीमा हालेर हिँड्नुपर्ने अवस्था छ ।

उपन्यासको सम्बन्ध सिधै बजारसित छ र यतिबेलाको भुमण्डलीकृत बजारले बिष त सक्कली बेच्दैन भने साहित्य अर्गानिक बेच्ने कुरै भएन । प्रकाशन गृहसित पहिले सम्झौता गरेर, त्यसको पृष्ठसंख्या, कथा र पुस्तकको मूल्यसमेत पूर्वनिर्धारण गरेर उपन्यास लेख्ने अवस्था बनेको देखिन्छ ।

तर, साहित्यको अत्यन्त प्रभावशाली विधा नाटक हो भन्ने कुुरालाई भने नकार्न सकिन्न । पूर्वीय तथा पाश्चात्य दुवैतिर नाटक रचना र नाट्यसिद्धान्तका गहन ग्रन्थहरू रचना हुनुले यस कुरालाई पुष्टि पनि गर्छ । पूर्वीय साहित्यको सबैभन्दा पहिलो साहित्यशास्त्र नाट्यशास्त्र हो । इसापूर्व तेस्रो शताब्दीमा आचार्य भरतद्वारा रचना गरिएको यस ग्रन्थले नाटकलाई सैद्धान्तीकरण गर्नुका साथै विभिन्न मान्यताहरू अगाडि सारेको छ । रस सिद्धान्त जस्तो अत्यन्त वैज्ञानिक अवधारणा पनि यसै ग्रन्थबाट निःसृत भएको छ ।

यसरी परापूर्वकालबाट नै साहित्यमा उपस्थिति जनाएको नाटकले पनि प्रकाशनका हिसाबमा यतिखेर संकटकाल ब्यहोर्नुपरेको छ । बीसौँ शताब्दीबाट साहित्यमा आख्यानले शाक्तिशाली हस्तक्षेप गरेको कुरालाई स्वीकार गर्नुपर्ने हुन्छ । त्यस किसिमको अन्तर्राष्ट्रिय हस्तक्षेपबाट नेपाली साहित्य पनि विस्तारै संक्रमित भएको हो भने यतिखेरचाहिँ उपन्यासकै दबदबा छ । नेपाली साहित्यमा साँच्चै प्रशंसा गर्नलायक उपन्यासहरू पनि रचना भएका छन् । तिनीहरूको सूची बनाउँदा धेरै लामो पनि हुन्छ ।

नेपाली उपन्यासको आधुनिककालदेखि पाचासका दशकसम्मका उपन्यासले आफ्नो धार र प्रवृत्तिलाई सकेसम्म उचाइ दिने प्रयत्न गरेका छन् र त्यस प्रयत्नमा धेरैजसे उपन्यासकार सफल पनि भएका छन् तर साठीको दशकपछि भने नेपाली उपन्यासलाई पुँजीवादी बजारशास्त्रले आफ्नो चंगुलमा पारेको स्थिति जग जाहेर छ । यसका कारण उपन्यासको कलेवर, भाषा र विषय उपन्यासकारको नियन्त्रणमा छैन ।

उपन्यासको सम्बन्ध सिधै बजारसित छ र यतिबेलाको भुमण्डलीकृत बजारले बिष त सक्कली बेच्दैन भने साहित्य अर्गानिक बेच्ने कुरै भएन । प्रकाशन गृहसित पहिले सम्झौता गरेर, त्यसको पृष्ठसंख्या, कथा र पुस्तकको मूल्यसमेत पूर्वनिर्धारण गरेर उपन्यास लेख्ने अवस्था बनेको देखिन्छ ।

यस किसिमको साहित्यलबाट पाठकमा पर्ने दूरगामी असर र निर्माण हुने संस्कृति कस्तो हालतको हुन्छ त्यो अनुमेय नै छ । हिजो युधिर थापाका उपन्यास लुकाएर पढ्नुपर्ने अवस्था थियो आज युधिर थापालाई धेरै पछि पार्न सक्ने उपन्यासहरू 'वेस्ट सेलर' छन् । एकातिर यौनलाई उपन्यासले सबैभन्दा बिक्री हुने वस्तु बनाएको छ भने हार्दिक सम्बन्धलाई संकटापन्न बनाएको छ । गम्भीरता, आदर्श र विचार जस्ता कुराहरू उपन्यासमा अपाच्य बन्दै गएका छन् । 

जसरी आजकालका बच्चाहरू चपाउन गाह्रो भएर खसीको मासु नखाई ब्रोइलर मनपराउँछन्, त्यसरी नै पाठकलाई पनि ब्ररोइलर उपन्यास मजा लाग्न थालेको छ । हालसालै ब्रोइलर कुखुरा सस्तो भएका कारण व्यवसायी संघले भाउ बढाउन अण्डा र चल्ला नष्ट गरेको समाचार पढ्न पाइयो । भोलि उपन्यासमा पनि अण्डा र चल्ला नष्ट गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । 

पुरस्कारको पासो र प्रकाशकको पैसाले उपन्यासलाई दिशानिर्देश गरुन्जेलसम्म उपन्यासको हालत सुध्रिन गाह्रो हुने देखिन्छ । 

साहित्य समाजको दर्पण हो भन्ने कुरामा हामी विश्वास गर्छाैं । साहित्य अतियथार्थवादी होस्, स्वैरकाल्पनिक होस् या यथार्थवादी, जस्तोसुकै होस्, त्यसमा समाजको चित्र देख्न सकिन्छ । चित्र देखाउने तरिका मात्र भिन्न हो । कल्पना पनि वास्तविकताको जगमा उभिएर गरिने नवसिर्जना भएका कारण काल्पनिकता साहित्यको गतिलो अभिव्यक्तिको माध्यम हो । अभिव्यक्तिले यथस्थितिको मात्र चित्रण गर्छ या त्यसबाट प्रगतिको उद्बोधन पनि गर्छ, त्यो महत्त्वपूर्ण प्रश्न हो ।

निश्चय पनि साहित्य समाजको पुनरुक्ति भएकाले त्यसमा पहिले देखिएको भन्दा नवीनता हुनु जरुरी छ, अन्यथा त्यो सिर्जना हुन सक्दैन । त्यो नवीनता नै स्रष्टाको स्वत्व वा परिचय हो । अन्यत्र देखिएभन्दा फरक स्वाद दिन सक्नु नै सिर्जनाको मानक हो । उपन्यास पनि साहित्यकै अंग भएकाले उसमा पनि यी अभिलक्षणहरू देखिनु आवश्यक छ ।  


वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।