देउवाको गलपासो
पुष २८, २०७६

अहिले नेपाली कांग्रेसभित्रको विवाद निकै ठूलो बन्दै सतहमा आइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बहुमतका आधारमा गरेका केही निर्णयका विरुद्ध संस्थापनइतर अर्थात् असन्तुष्ट पक्ष निकै आक्रोशित बनिरहेको छ ।

यसै क्रममा ४७ जिल्ला सभापति हरू राजधानीमा आएर विरोध गरिरहेका छन् । उनीहरू सभापतिले ‘जबर्जस्त’ गरेका निर्णयहरू सच्याउनुपर्ने बताइरहेका छन् ।

सभापति देउवाले गत ११ पुसमा पार्टी विधानका केही धारा संशोधन गर्ने निर्णय गराएपछि असन्तुष्ट पक्ष उनीप्रति आक्रामक र रुष्ट बनेको छ ।

जिल्ला सभापतिहरूको भेलालाई कांग्रेस संस्थापनइतरका नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतको साथले अझ द्वन्द्वमा मलजल गरेको छ ।

तथापि, केही दिनअघि देउवाले असन्तुष्ट भनिएका जिल्ला सभापतिहरूलाई आफ्नै निवासमा बोलाएर खुबै झाँटे । हारेकाहरूका कुरा नसुन्ने र उनीहरूलाई बाल नदिने उनको आशय बाहिर आयो । निकै कड्किएर जिल्ला सभापतिहरूलाई देउवाले थार्काए ।

यसले विवाद निरूपणको बाटोमा होइन, झन बल्झिने विश्लेषकहरू बताउँछन् ।

देउवा पहिल्यैदेखि आलोचित नेता हुन् । सहनशीलता र शालीनता उनमा कहिल्यै थिएन र छैन । यस कारण पनि उनीप्रति धेरै नेता, कार्यकर्त चिढिन्छन् तर उनलाई भने यसको कुनै वास्ता छैन ।

उनी हठी र एकलकाँटे स्वभावका भएका कारण पार्टीभित्र सधैँ आलोचित बन्दै आएका छन् ।

उनमा मध्यस्थकर्ताको स्वभाव पनि नरहेको र आफ्ना गल्ती कमजोरी महसुस गरेर सच्याउने साहस पनि नभएको उनी निकटकै कतिपय नेता कार्यकर्ताको गुनासो रहँदै आएको पनि छ ।

अहिले कांग्रेस स्पष्ट बहुमतप्राप्त सरकारको प्रमुख प्रतिपक्ष हो । उसका जिम्मेवारी र दायित्व निकै ठूला र गहन छन् । तर, यस्तो अवस्थामा आन्तरिक विवाद र लफडामा कांग्रेस फसिरहेको छ । यसले उसको दायित्व पूरा हुन सक्दैन ।

आफू इतिहासकै निरीह अवस्थामा पुग्दासमेत आन्तरिक किचलोमा अल्झिएको कांग्रेस अबको केही समयमै हुने आमनिर्वाचनका लागि के गरिरहेको छ ? संगठनको अवस्था के छ ? जनप्रिय कार्यक्रम कस्ता ल्याइरहेको छ ? आमजनमा उसको उपस्थिति के कस्तो छ ?

यस्ता सवालमा कांग्रेसको चिन्ता र चिन्तन नहुनु उसका लागि अवश्य दुर्भाग्य हो । र, देशका लागि पनि समस्याको पाटो हो किनभने लोकतन्त्रको प्रमुख प्रतिपक्ष यस्तो निकम्मा, निरीह र अन्यमनस्क हुनुहदैन । यसले न लोकतन्त्र बलियो बनाउँछ, न त देश र जनताकै हित गर्छ ।

कांग्रेसमा देखिएको यस्तो अराजकता, बेमेल र द्वन्द्वको नतिजा मुलुक र जनताले नकारात्मक व्यहोर्नुपर्ने अवस्था आएमा पक्कै पनि वर्तमान कांग्रेस नेतृत्व त्यसको दोषी हुनेछ । मुलुक संकट र संक्रमणमा रहेका बेला सरकारकै एक अंग प्रमुख प्रतिपक्ष आफूभित्रै रडाको मच्चाएर बस्छ भने त्यसको जिम्मेवारी कसले लिन्छ त ?

अहिले सभामुख पद रिक्त छ । लोकतन्त्रिक संसदको सभामुखविहीनता लाजमर्दो विषय हो । कति महत्त्वपूर्ण कामकारबाही सभामुखको अभावमा सम्पन्न हुन सकेका छैनन् । सत्तारुढ दल नेकपाभित्रकै किचलोका कारण पनि सभामुखको निर्णय हुन सकेको छैन ।

यसमा प्रमुख प्रतिपक्ष दह्रो भइदिएको भए आफ्नातर्फबाट सभामुखमा दाबी गर्ने हैसियत राख्थ्यो तर आफैँ विचरा छ, कसरी आँट गरोस् त्यसका लागि ।

कांग्रेसले आफ्नो १४औँ अधिवेशनको तयारी गरिरहँदा आफ्नो इतिहास र वर्तमानको नियति पनि थाहा पाउनुपर्छ । उसले कठिनभन्दा कठिन दिनमा लोकतन्त्रका लागि गरेको संघर्ष, त्याग र पाएको कष्टलाई पटक पटक मनन् गर्नु आवश्यक छ । यसो नगरे कांग्रेस भन्ने पार्टीलाई अब मुलुक र जनताको नेतृत्व गर्ने अवसर विरलै प्राप्त हुनेछ । आमजनको कांग्रेसप्रतिको विश्वास र साथ पक्कै गुम्नेछ र राप्रपा वा कुनै क्षेत्रीय दलको हैसियतमा कांग्रेस चाँडै पुग्नेछ ।

यो तथ्य त अब राष्ट्रियसभामा कांग्रेसले गमाइरहेको हैसियतबाट पनि पुष्टि हुन्छ ।

यसर्थ, मुलुकका अनेक राजनीतिक आन्दोलन, विद्रोह र आरोह अवरोहको नेतृत्व गरेको, साक्षी बनेको पुरानो राजनीतिक दल कांग्रेसले आफूलाई, आफ्नो घर (पार्टी)लाई बेलैमा व्यवस्थित गरेर अगाडि बढ्नु बुद्धिमानी ठहर्छ ।

लोकतान्त्रिक दाबी गर्ने दलभित्रको लोकतन्त्र अब खोजिनुपर्छ । व्यक्तिकेन्द्रित निर्णयहरूलाई प्राथमिकता दिने होइन कि सकेसम्म सर्वसहमतिमा गरिने निर्णयहरूलाई प्राथमिकता दिइनु जरुरी छ ।

इतिहासकै कठिन मोडमा उभिएको का‌ंग्रेसको नेतृत्व गरिरहेका शेरबहादुर देउवालाई यी विषय गलपासो बन्ने देखिँदै छ ।


शर्मा समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।