अन्तरहिमाली भूराजनीति र  पृथ्वी पृथ्वीनारायण शाहमाथि चर्चा

अन्तरहिमाली भूराजनीति र  पृथ्वी पृथ्वीनारायण शाहमाथि चर्चा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २७, २०७६

काठमाडौँ । २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रज्ञा भवनमा ‘अन्तरहिमाली भूराजनीति’बारे विचार गोष्ठी सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजन एवम् व्यवस्थापनमा सम्पन्न विचार गोष्ठीका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नुहने विचार व्यक्त गर्नुभयो । उहाँले पृथ्वीनारायण शाहका कारण नै आज नेपालका नागरिकले नेपाली भएर गर्वका साथ हिँड्न पाएको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका सभाध्यक्ष डा। जगमान गुरुङले नेपाल एकीकरण तथा राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाह जीवनको अन्तिमतिर स्वास्थ्य खराब हुँदै गएर घाटमा रहेका बेला नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा मननीय उपदेश दिएको उल्लेख गर्दै आजको सन्दर्भमा पनि उनका सन्देशहरू उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरिदिएका भए आज हामी कहाँ हुने थियौँ यसै भन्न सकिन्नँ । नेपाल सबै जातिको साझा फूलबारी हो भन्ने पृथ्वीनारायण शाहको उपदशेलाई हामीले मनन् गरी आत्मसात ग¥यौँ भने राष्ट्रियता आफँै बलियो हुन्छ ।”
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्नु राष्ट्रप्रतिकै सम्मान हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– 'घुस दिने र लिने दुवै अपराधी हुन् भनेर घुस र भ्रष्टचारप्रति कडा नीति लिने पृथ्वीनारायणले  दुनियाँले जसलाई रुचाउँछ उसलाई कजाइदिनू भनेर लोकसम्मतिलाई पनि उत्तिकै महत्वका साथ आत्मसात गरेको पाइन्छ ।'

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरले ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. मानन्धरले पृथ्वीनारायण शाहको ‘नेपाल दुई ढुङ्गाबिचको तरुल रहेछ’ भन्ने भनाइले नै त्यसबेलाको नेपालको अन्तरहिमाली भूराजनीति र त्यसमा नेपालले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारेको बताउनुभयो । दुई ठुला मुलुकबिच अवस्थित एउटा सानो देशले आफ्नो अस्तित्व जोगाउन सामना गर्नुपर्ने चुनौती एकातर्फ छ भने अर्कातर्फ दुवै मुलुकसँग राम्रो सम्बन्ध कायम गरी अगाडि बढ्नुपर्ने तथ्य उल्लिखित वाक्यबाट स्पष्ट हुने उहाँले प्रस्ट्याउनुभयो । उहाँले इसाको अठारौँ शताब्दीको दक्षिण र पूर्वी एसियाको इतिहास अन्तरहिमाली भूराजनीतिबाट प्रभावित भएता पनि पृथ्वीनारायणको विजय अभियानमा यसले व्यवधान ल्याउन नसकेको बताउनुभयो ।

उहाँको कार्यपत्रमाथि परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, इतिहासविद् प्रा।डा। टेकबहादुर श्रेष्ठ, डा। शेषराज आचार्य र पत्रकार जितेन्द्र रसिकले कार्यपत्र केन्द्रित विचार राख्नुभएको थियो ।  

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सामाजिकशास्त्र विभाग प्रमुख एवम् इतिहासविद् प्रा. दिनेशराज पन्तले राष्ट्रियक एकताका प्रतीक पृथ्वीनारायण शाहको संक्षिप्त परिचयसहित प्राक्कथन कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा लक्ष्मी गौतम, पुराणवाचिका भगिनीद्वय सरस्वती  र  गार्गी चौलागाईं र प्रज्ञा–प्रतिष्ठानका कलाकारहरूले राष्ट्रिय मङ्गलगान ‘नेपालजननीं वन्दे’ गाउनुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी एवम् नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. शिवहरि मरहट्टा, नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका कुलपति के. के. कर्माचार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार एवम् सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति र सदस्य सचिव क्रमशः हरिहर शर्मा र श्यामप्रकाश तमोट, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका साथै सबै प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् र सभा सदस्यहरू एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व पदाधिकारीहरू, आजीवन सदस्यहरू लगायत विशिष्ट विद्वान् विदुषीहरूको सहभागिता रहेको थियो ।