प्रतिपक्षकाे शल्यक्रियाः के सदनमै छ कांग्रेस !

प्रतिपक्षकाे शल्यक्रियाः के सदनमै छ कांग्रेस !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २७, २०७६

एकपछि अर्को गर्दै विषयहरू यति धेरै उठेका छन् ।  एमाले पूर्वउपाध्यक्ष तथा सत्तारुढ नेकपाका नेता भीम रावललाई भ्याई नभ्याई छ । उनले सडकदेखि सदन मूलधारका मिडियादेखि सामाजिक सञ्जालसम्म सबै विषयमा आफ्नो 'प्रतिपक्ष' भूमिका निभाएका छन् ।

सरकारका कामलाई सूक्ष्म ढंगले हेर्ने पर्ने संसदको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेले भने सदनदेखि सडक, आन्तरिक बैठकदेखि सामाजिक सञ्जालसम्म कतै, गतिलो एजेण्डा पाएको छैन । त्यसैले कांग्रेस मौन सरह छ । खास मुद्दा उठाउन नसकेको कांग्रेस आन्तरिक राजनीति, अझ राजनीति पनि नभनौँ आपसी खिचातानीबाट बाहिर निस्कनै  सकेको छैन । त्यसम‌ै व्यस्त छ, बुढानीलकण्ठ, बोहोराटार र महाराजगन्ज । कहिलेकाहीँ पार्टी कार्यालयमा पनि भ्रातृसंगठनले माउ पार्टीको विरुद्धमा नारा लगाउँछन् र गुञ्जायमान बनाउँछन् ।

कांग्रेसलाई सक्रिय बनाउन उसका शुभेच्छुक मात्रै होइन, सत्तारुढ दलका शीर्ष नेता पनि लागेका छन् तर पूरा हुन सकेको छैन अपेक्षा ।

सन्दर्भ-  १

आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक भएपछि सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको क्यान्टिनमा सत्तारुढ दलकै सांसदहरूले सम्झाइरहेको देखिन्थ्यो । त्यतिबेला कांग्रेस क्यान्टिनमा भेटिएका अहिलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कांग्रेस नेतालाई प्रश्‍न गर्दै भनेका थिए- 'खै प्रतिपक्षको भूमिका ?'

बजेटमा प्रतिक्ष बेञ्चबाट उठाउने धेरै सवाल थियो तर कांग्रेसलाई विषय उठाउन पनि सत्तारुढ दलका सांसदले नै उक्स्याउनुपर्थ्यो । कहिले उक्सन्छ, कहिले सुनेको नसुन्यै गर्छ ।

सन्दर्भ- २

२०७५ सालको कोजाग्रत पूर्णिमा कांग्रेसले गरेको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको व्यङ्ग्य पनि  कम थिएन । उहाँको सुझाव पनि प्रतिपक्ष सक्रिय होस् भन्नेमा थियो । उनले भनेका थिए, 'कति खोज्दा नभेटिएको कांग्रेस कम्तीमा सानेपा आउँदा भेटियो, खुसी लाग्‍यो, नहराओस् कांग्रेस ।' 

सायद त्यही विषय सम्झिएर होला कांग्रेस नेता गगन थापाले संसदको शून्य समयमा रेकर्ड गराएका थिए । 'कांग्रेस देखिएन भनेको होइन, अब जहाँ खोज्यो त्यहीँ देखिन्छौँ ।' थापाले आफ्नो प्रतिवद्वता त सम्झिएका पनि होलान् तर आफ्नो पार्टीको तर्फबाट बोलिएको विषय कांग्रेसले भने बिर्सियो । सुशासनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने प्रमुख प्रतिपक्ष कांग्रेस आफैँ अशक्त देखियो ।

सन्दर्भ- ३

गत महिना संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक चलिरहेको थियो । विषय थियो भारतले जारी गरेको नक्सा र नेपाली भूमि पारिएको सन्दर्भ । सत्तारुढ दलका नेताहरूको दमदार प्रस्तुतिका सामु बुबा नेता भएका कारण पद हस्तान्तरित भएका जस्ता कांग्रेस सांसद निष्क्रिय देखिए । त्यो समितिमा कांग्रेस शीर्ष नेता प्रकाशमान सिंह पनि छन् ।

कांग्रेसको प्रभावकारी भूमिका नदेखिएपछि सत्तारुढ दलाका शीर्ष नेताले नै सम्झाई बुझाई गरेको दखिन्थ्यो । बीच बैठकमा नै हिँड्न थालेकी कांग्रेस सांसद उमा रेग्मीलाई नेकपा नेता भीम रावलले भनेका थिए, 'प्रमुख प्रतिपक्ष दलको नेता त म हुनुपर्ने ।' 

उहाँको आशाय कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन सकेन भन्ने नै थियो र प्रभावकारी प्रतिपक्ष बन्न सुझाव पनि ।

...

प्रतिनिधlसभा वा राष्ट्रियसभामा मात्रै होइन, संसदीय समितिहरूमा पनि का‌ंग्रेस सांसदहरू निष्क्रिय रहन्छन् । देशमा भएका बेथिति उठाएर संसद हुँदै मिडिया र मिडिया हुँदै सरकारबाट सम्बोधन गराइनुपर्नेमा यस्तो देखिँदैन । मिडिया उठेका केही आक्कलझुक्कल विषय त कांग्रेसले उठाउँछ तर सरकारले सुन्ने कुरै भएन ।

बरु रत्नपार्कमा घाम ताप्दै भलाकुसारी गर्ने सर्वसाधरण स्वर सरकारको कानसम्म पुग्छ होला । रुञ्चे शैलीमा भएन, भएन भनेको कांग्रेसको स्वर सरकारले सुनेको छैन भन्दा अनर्थ नलाग्ला । यदि सदनमा उठेका विषय कहीँ कतै सरकारले सम्बोधन गरेको छ भने त्यो सत्तारुढ दलकै सांसदहरूकाे कारण  हो भन्दा पनि फरक नपर्ने स्थिति देखिएको छ ।

सक्रिय हुनुपर्ने दुई संसदीय समितिमा कांग्रेस निष्क्रिय देखिन्छ । संसदको अर्थ समितिमा कांग्रेस सांसदहरूको उपस्थिति नै अपवादबाहेक हुँदैन । अर्थ मन्त्रालयलाई हेर्ने यो समितिले सरकारको काम कारबाहीमा छलफल उठाइरहेको हुन्छ । बरु नेकपाकी सांसद जुली महतोले सरकारको ध्यानाकर्षण गराउलिन् तर कांग्रेस सांसद मौनप्राय: हुन्छन् । यही समितिमा छन् कांग्रेस महामन्त्री शशांक कोइराला, उपसभापति विजय गच्छदार, नेता ज्ञानेन्द्रबहादुर कार्कीलगायत ।

आफ्नै पार्टीको नेतृत्व रहेको लेखा समितिमा पनि कांग्रेसको भन्दा बढी भूमिका सत्तारुढ सांसदहरूकै देखिन्छ । त्यसो त संसदीय समितिमा पक्ष प्रतिपक्ष भन्दा पनि विषयको गम्भीरता बुझेर पारदर्शी ढंगले सरकार सञ्चालनमा सहयोग गर्ने हो । यसै पनि प्रतिपक्ष सांसदको विषय उठान खोजतलासमा बढी भूमिका हुनुपर्छ यो समितिमा रहेका नेकपा सांसद विरोध खतिवडा, प्रेम आले, धर्मशिला चापागाईं सामु कांग्रेस सांसदको आवाज कमजोर सुनिन्छ ?

पार्टी सभापति रहेको विकास तथा प्रविधि समितिमा पनि कांग्रेस सांसदको बोली कमै मात्रै फुट्ने गरेको छ । अहिलेसम्म एक दिन मात्रै उपस्थित भएका पार्टी सभापति देउवाले आफ्नै पार्टीका सांसदलाई थर्काएर फर्किएका थिए । पार्टी कोषाध्यक्ष सीतादेवी यादव रहेको कृषि समितिमा पनि कांग्रेस सांसदको उपस्थिति अक्कलझुक्कल मात्र हुने गर्छ, आफ्नो धारणा त परैको कुरा भयो ।

यस हिसाबले कांग्रेस सदनमा छ त ? खोज्नुपर्ने समय आएको छ । कांग्रेस सक्रिय नुहँदा आफैँ कमजोर होला त्यो त फरक परेन तर प्रमुख प्रतिपक्ष पनि कमजोर हुँदा भने जनताले पनि दु:ख पाउँछन् । कम्तीमा प्रतिपक्षको गरिमा सम्झने कि !