रीतिथितिमार्फत संस्थागत र निरन्तर कायम सन्तुलित भोजनको चिन्तन

हामी कृषिकर्मी हौँ । हाम्रो चिन्तनलाई तीन/चार वटा तरिकाबाट हेर्न सकिन्छ । पहिलो, बजारमुखी चिन्तन,दाश्रो गुजरामुखि चिन्तन र  तेस्रो बचतमुखी चिन्तन । हामी गुजरामुखि खेती प्रणालीमा बाँचेका हौँ । खाएर बचे बेच्ने भनेर बसेका मान्छे  । हाम्रो संस्कार व्यापारमुखी होइन । त्यसैले हामी गुजरामुखि कृषिमा विज्ञ छौँ । तदनुसारकै हाम्रो खाना छ । वैशाख आयो खट्टे खाने ! खट्टे भनेको चामललाई घिउमा भुटेर खाने । चैत वैशाखको खुरिखन्डमा खट्टेले शरीरलाई चाहिने पोषण दिन्छ । दूध क्याल्सियमको मात्रा भयो, घिउ प्रोटिनको मात्रा र चामल कार्वोहाडेडको । यो तीन वटैको मात्रा मिलाएर खायो भने मान्छेको शरीरलाई पोषण तत्त्व पुग्ने रहेछ । पुर्ख्यौली निष्कर्ष त्यही हो  । त्यसमा पनि सख्खर मिलाएर खाने चलन रहको छ ।  त्यस खालको खानेकुराले खट्टेले चैतबैशाखको मान्छे झन् झन् बलियो हुन्छ । त्यति बेलाको सिस्नुको तिहुनले पेटमा रौँ परे पनि बाहिर निकाल्छ । हाम्रो मान्यता यही हो । अहिले सिस्नुलाई मधुमेह र रक्तचापको औषधी मान्ने गरिएको छ ।

जेठ असार त कामको बेला हो । असार १५ मा दहिचिउरा खानु पर्छ भन्ने चिन्तन छ । किन दहिचिउरा खानु पर्छ ? दहीमा पाचन शक्ति बढी छ । चिउरामा कार्बाेहाइड्रेड । सुख्खा चिउरा र दहीले ताप दिन्छ । भिजाएको चिउरा र दहीले शीतलता दिन्छ । त्यसैले पहाडको मान्छेले चिउरा नभिजाई खायो । मधेसको मान्छेले चिउरा भिजाएर दही हालेर खायो । चिनी वा नुन मिसायो । गर्मीले बाहिरिएको चिनी र नुन पनि पुर्‍यायो । मधेसको मान्छेले बुझेको छ कि फुक्को चिउराले गर्मी गर्छ । पहाडको मान्छेले बुझेको छ कि भिजाएको चिउराले शीतल दिन्छ ।  दुवैतिरका मान्छेले बुझेको कुरा हो दही र चिउरा मिसायो भनेदेखि सन्तुलित खाना भयो । दहीको चिसोपना र चिउराको तातोपना । यो दुई वटै जोड्यो भने दहीमा चाहिने तत्त्व पचाउनको लागि काम लाग्छ । चिउराको तत्त्व शरीरलाई कार्बोहाइड्रेट दिन काम लाग्छ ।   पुर्खाले चलाएका हाम्रा चलनचल्तीमा यस्ता कुरा भेटिन्छन् ।

साउनमा खिर खाने चलन छ । त्यो बेलामा पर्याप्त मात्रामा घाँस हुन्छ । हरियो घाँसका कार गाईभैसीबाट दूध पर्‍याप्त मात्रामा बढाउँछ । हिजोआज खिरमा काजु, किसमिस, छोकडा राख्ने चलन छ । यो हावादारी काम हो । आयुर्वेद विज्ञ त्यसै भन्छन् । उनीहरू भन्छन् –खिरमा काजु, किसमिस, छोकडा राखेपछि खिरको परिकार विष बन्छ । त्यसले शरीरलाई झन् काम नलाग्ने तत्त्व दिन्छ । त्यसैले हाम्रा पुर्खाले दूधमा पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ भन्ने जाने । चामलमा कार्बोहाईडेड छ भन्ने जाने । यो दुवैको मिश्रणले गर्दा ग्यास्ट्रिक बढाउँछ भन्ने बुझे । शरीर मोटाउँछ भन्ने थाहा पाए । यो सबै रोक्नका लागि मेथी राख भने । मेथी भुटेर त्यसको धूलो राख्नु पर्छ भने । मरीच राख्नु भने । ग्यास कम गराउने उनीहरूको तर्किबा हो यो ।  

मान्छेमा सन्तुलित खानाको चिन्तन नभएको होईन रहेछ । बरु त्यसलाई संस्थागत गरेर राख्ने अचम्मको तागत पनि रहेछ । त्यहाँ कुनै एनजीओ छैन, सरकारी संस्था छैन र सरकार कहिं कतै छैन । तर त्यसको उपयोगितालाई भने पहाड, मधेश तथा हिमालका मान्छले असाध्य राम्रोसंग संस्थागत गरेका छन् ।

भदौ असोज तिर दसैँ मनाउने चलन छ ।  दसैँमा पनि सन्तुलित खाना खाने चलन छ । मासुले पर्याप्त प्रोटिन दिन्छ । फ्याट दिन्छ । भिटामिन दिन्छ । खसी बोका आफैँ पाल्ने भएकाले त्यही खाए । मलको निम्ति खसी पाले । इको सिस्टमको निम्ति पनि जरुरी भयो ।

मङ्सिर आएपछि अमलाको बोट मुनि गएर वनभोज खाने नियम बनाए । बन भात खान अमलाकै बोट मुनि गए । किनभने अमला भनेको साइट्रिक एसिड हो । शरीरको निम्ति चाहिने तीन वटा फलमध्येको एउटा फल । हर्रो, बर्रो र अमलाको संयुक्त नामा त्रिफला हो ! ‘तीन चारवटा सुन्तला बराबर एउटा अमला हो’ भन्ने आयुर्वेदीय ज्ञान नै छ । वैज्ञानिक तथ्य । त्यही कारणले बन भात खानका लागि अमलाकै बोटको मुनि गए ।  अमला पनि खान पाउने र भात पनि खाने । त्यसैलाई हिजोआज ‘पिकनिक’ भन्ने चलन छ । कार्तिकको एकादशीमा तरुल, सखरखण्ड, फर्सी, पिँडालु खाने गरिन्छ । खाद्य सन्तुलनको अर्को तरिका हो यो । पेट गडबड भएको बेलामा तरुल खाँदा फाइदा हुन्छ ।

माघमा घिउ चाकु, तिलको लड्डु, मासको बारा, तरुल, योमरी, चाकु, घिउ जस्ता खानेकुराहरू खाने चलन छ । शरीरलाई तातो बनाउनको लागि यी खाना खाने गरेको देखिन्छ ।

फागुन चैत आए पछि उनीहरूले पुनः त्यही चलन चल्ती दोहोर्‍याए । यसबाट बुझिन्छ कि मान्छेहरूले सन्तुलित खाना भन्ने भाषा नजान्दा पनि मिलाएर खाना खाए । नेवारको समयाबजि अर्को उदाहरण हो – समयाबजी ! त्यसमा चिउरा हुने रहेछ । ‘बजी’ भनेको त्यही हो । अलिकति भट्टमास,आलुको तरकारी, छोयला र अदुवा र लसुनको उमालेर बनाएको तरकारी । समग्र मिलाएर बनाएको खानाको परिकारको नाम ‘समयाबजी’ हो ।

मेरो निष्कर्ष हो सन्तुलित खाना भनेको भिटामिन, कार्बोहाइड्रेट र र प्रोटिन हुन्छ भनेर हाम्रा पुर्खाले भनेका रहेछन् । कार्बोहाइड्रेट चिउरासँग छ । प्रोटिन भट्टमाससँग छ । चिल्लो पदार्थ मासुसँग छ । यो सबै खानाले एसिड बढाउन सक्छ । त्यसलाई पचाउने पदार्थ लसुन र अदुवामा हुने रहेछ । अर्थात् नेवारहरूको ‘समयबजी’ सन्तुलित खाना रहेछ ।

मधेस, पहाड तथा हिमालका सबै जातीमा सन्तुलित खानाको सोच छ । मधेसमा मधेसको हिसाबबाट होला । पहाडमा पहाडकै हिसाबबाट होला ।  हिमालमा हिमालको हिसाबबाट । ठेकुवा, भुसुवा खुवाउने चलन मधेसमा छ । छठ पर्वमा त्यस्तो चलन छ ।  जिमुतवानको पूजामा त्यस्तै सन्तुलित खानेकुराहरू राखिन्छन् । मुस्लिमहरूको इद र बक्रईदमा पनि सन्तुलित खाना खाने गरेको देखिन्छ । त्यसको अर्थ हो– मान्छेमा सन्तुलित खानाको चिन्तन नभएको होइन रहेछ । बरु त्यसलाई संस्थागत गरेर राख्ने अचम्मको तागत पनि रहेछ । त्यहाँ कुनै एनजिओ  छैन, सरकारी संस्था छैन र सरकार कहीँ कतै छैन । तर त्यसको उपयोगितालाई भने पहाड, मधेस तथा हिमालका मान्छेले असाध्य राम्रोसँग संस्थागत गरेका छन् । एउटा सानो उदाहरण दिऊँ –

खानामा पनि पश्चिमाहरुले शरीर र दिमागको सन्तुलन मात्र हेरे । हाम्रा पूर्खाले चाहिं तातो र चिसोको अनुपात पनि हेरे । मासको दाल र दही एकसाथ नखाउ भनेर भने । दूध र मासु एकसाथ नखाउ भनेर । खिर र पानी एकसाथ नखाउ भनेर । मह र पानी एकसाथ नखाउ भनेर । त्यसको अर्थ हो –एकसाथ जिउ तताउने र चिस्याउने खाना नखाने सन्देश दिए । उनीहरुले केबल अनिष्ट हुन्छ भनिदिए ।

आलुको तरकारी पकाउनु पर्‍योभने तेल तताइसके पछि के मेथी फुराउँछन् । किन जिरा फुराएनन् वा किन ज्वानो फुराइएन ? तर मेथी फुराए । त्यसो गर्न तिनलाई कसले सिकायो होला ? जे होस यसरी ज्ञान तथा सीपलाई संस्थागत गर्ने तागत हाम्रा मान्छेहरूसँग रहेछ छ । अहिलेबाट होइन पहिलेदेखि नै छ । हर कुरालाई संस्थागत गरिदिने तागत छ । त्यसलाई रीतिथितिमा बदल्ने तागत छ । रीतिथितिमा बदली दिए पछि त्यो निरन्तर चल्छ भन्ने सोच पनि छ । अहिलेको भाषामा दिगो विकास भनेको त्यही न हो । यसको अर्थ हो –  दिगो विकासको भाषा त उनले बुझेनन् होला । तर हामीलाई भने फलानो बेलामा यो खाने, फलानो बेलामा यो नखाने भनेर बुझ्ने बनाए । यो हिसाबबाट हेर्दा हाम्रा पुर्खाहरूको ज्ञान भनेको अचम्मको रहेछ । अमोघ रहेछ । अहिलेका सन्ततिले त्यसलाई बुझेनौँ कि ? खोजेनौँ कि ? तिनको शोध गरेनौ. कि ? आधुनिकीकरण तथा बजारीकरण गरेनौँ कि ?  

कोदोको मम पाइन्छ । फापरको मम पाइन्छ । कोदो र फापरको मिश्रित मम पाइन्छ । सहरमा यो चलन बढ्दै गएको छ । अर्ग्यानिक स्वादका लागि । आधुनिकीकरणका लागि । पहिचानका लागि । खानामा पनि पश्चिमाहरूले शरीर र दिमागको सन्तुलन मात्र हेरे । हाम्रा पुर्खाले चाहिँ तातो र चिसोको अनुपात पनि हेरे । मासको दाल र दही एकसाथ नखाऊ भनेर भने । दूध र मासु एकसाथ नखाऊ भनेर । खिर र पानी एकसाथ नखाऊ भनेर । मह र पानी एकसाथ नखाऊ भनेर । त्यसको अर्थ हो –एकसाथ जिउ तताउने र चिस्याउने खाना नखाने सन्देश दिए । उनीहरूले केबल अनिष्ट हुन्छ भनिदिए । अनिष्टको अर्थ हो – एकसाथ खाएको तातो र चिसो खानाले मान्छेमा असन्तुलन सिर्जना गर्छ । शरीरले हानिकारक बस्तु उत्पादन गर्छ । पश्चिमाहरूले चाहिँ त्यसलाई स्वाद मात्र हो भन्ने बुझे ।

होटेलमा बेलुकीको खानामा पनि सलाद भनेर मुला ल्याइदिन्छ । यो त नेपालीको बुद्धि होइन । हाम्रो बुद्धिमा बेलुका खाएको मुलाले पेटमा एसिड बढाउँछ । दिउसो खाएको मूलाले पाचन क्रिया बढाउँछ । त्यसैले पुर्खाले भनिदिए दिउसोको मूला अमृत । रातको मूला छेद । अर्थात् छेद पस्न नदिने उनको चिन्तन रहेछ ।

त्यसैले अहिलेको पुस्ताले हाम्रा रैथाने खानाको खोजी गर्नुपर्छ । पश्चिमाले बुझ्ने गरी तिनमा के के तत्त्व छ भनी लेख्नु पर्छ । कुन कुन खाना एक अर्काका मित्र हुन भनी लेख्दिनुपर्छ । कुन कुन खाना एक अर्काका विरोधी हुन भनी उल्लेख गर्दिनुपर्छ । अर्को शब्दमा भन्दा के के खाना खाने रहेछन्? केके नखाने रहेछन् ? र त्यो नखानुको पछाडि के के कारणहरू रहेछन् ? त्यसको विज्ञान के रहेछ ? त्यसको अर्थ शास्त्र के रहेछ ? भोग के रहेछ । तातो र चिसो खानाको कुरा के रहेछ भनेर खोजी गरिदिनु पर्छ । भोलिको खाद्य संसारमा यो ठुलो काम हुनेछ ।