इरानकी एक्ली महिला ओलम्पिक विजेताले किन देश छाडिन् ?

इरानकी एक्ली महिला ओलम्पिक विजेताले किन देश छाडिन् ?

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २८, २०७६

इरानकी एक्ली महिला ओलम्पिक पदक विजेता किमिया अलिदेहले देश छाड्ने निर्णय गरेकी छन् ।

२१ वर्षीया किमियाले यसबारे सामाजिक संजालमा लेखेकी छन् कि उनी इरानमा ‘पाखण्ड, झूठ, अन्याय र चाप्लुसी’को हिस्सा बन्न चाहन्नन् ।

उनले स्वयंलाई इरानका लाखौँ उत्पीडितमध्ये एक मानेकी छन् । किमिया यसबेला कहाँ छन् ? यसबारे उनले कुनै जानकारी दिएकी छैनन् तर इरानी मिडियाका अनुसार उनी तालिमका क्रममा नेदरल्याण्ड्समा हुन सक्छिन् ।

उनले सन् २०१६ को रियो ओलम्पिकमा तेक्वान्दोमा कास्य पदक जितेर इरानका लागि इतिहास रचेकी थिइन् ।

आफ्नो सामाजिक संजालमा उनले इरानी अधिकारीले उनको क्षमतालाई ‘प्रोपोगण्डा’का लागि प्रयोग गरेको गुनासो पनि गरेकी छन् ।

युक्रेनको यात्रुवाहक विमानलाई इरानले मिसाइल प्रहार गरेर झारेको गल्तीका निम्ति उनले माफी पनि मागेकी छन् ।

किमियाले इरान छाड्ने निर्णय तब लिइन्, जब इरानमा भारी विरोध प्रदर्शन भइरहेको छ । बुधबार युक्रेनको एउटा यात्रुवाहक विमान गल्तीका कारण मिसाइल हमलाद्वारा झारियो र पछिल्ला दुई दिनसम्म यसलाई अस्वीकार गर्दै इरानी जनता सडकमा आएर इरान सरकारको विरोध गरिरहेका छन् ।

यसका अलावा इरान र अमेरिकाबीच तनावको अवस्था बनेको छ ।

अधिकारीले गरे अपमान

किमियाले आफ्नो सामाजिक संजालमा भनेकी छन्, ‘म इरानका लाखौँ सताइएका महिलामध्ये एक हुँ, जो वर्षौंसम्म देशका लागि खेलिरहेकी छु । अधिकारीहरूले जे भने मैले त्यसलाई मानिरहेँ । हरेक आदेश पालना गरेँ तर उनीहरूले कुनै अर्थ र महत्त्व दिएनन् । म उनीहरूका निम्ति प्रयोग मात्र भइरहेँ ।’

किमियाले यो पनि लेखेकी छन् कि सरकारले उनको क्षमतालाई राजनीतिक फाइदाका लागि प्रयोग गरेको छ र अधिकारीहरूले उनको अपमान गरेका छन् ।

उनले युरोपमा आफूलाई आकर्षक प्रस्ताव प्राप्त् भएको भन्ने कुरालाई इन्कार गरेकी छन् र अब कहाँ जान्छिन् भन्ने पनि बताएकी छैनन् ।

अघिल्लो साता जब उनी हराएको खबर आयो, तब इरानीहरूले अचम्म मानेको प्रतिक्रिया दिएका थिए ।

इरानी नेता अब्दुल करिम हुसेन आजादले मानव जनशक्तिले देश छाड्नुमा अयोग्य अधिरकारीलाई जिम्मेवार बताएका छन् ।

ग्त बिहीबार इरानको समाचार संस्था इसनाको एउटा रिपोर्टमा भनिएको छ, ‘इरानी तेक्वान्दोलाई झट्का । किमिया अलिजादेह नेदरल्याण्ड्समै बसिन् ।’

यस रिपोर्टमा यो पनि भनिएको छ, किमियालाई आशा छ कि उनी सन् २०२० को टोकियो ओलम्पिकमा भाग लिनेछन् तर उनले इरानको ब्यानरमा भाग भने लिनेछैनन् ।

इरान छाड्नुको आफ्नो उद्देश्य घोषणा गर्दै किमियाले आफ्नो आगामी योजनाका बारेमा जानकारी त दिएकी छैनन् तर उनले आफू जहाँ रहे पनि इरानकै छोरी रहने बताएकी छन् ।