गतिलो तावा र अगतिला कालीगढ
पुष २८, २०७६

रोटी सेक्ने तावा त्यसै महत्त्वपूर्ण, उसै महत्त्वपूर्ण ।

पृथ्वीनारायण शाह मुलुकका तावा हुन् । उनीमाथि सबै किसिमका रोटी सेक्नेहरूले आफ्नै तरिकाले रोटी सेकेको मजैले देखिन्छ ।

यी ताता छन् । जबसम्म तावा रहन्छ, रोटी सेक्न काम लाग्छ । क्यापुचिन पादरीलाई देश निकाला गरेको घाउ सेक्न आगो खोज्दै यतै आउँछन्, देशको माया नाउँका फुरौला डाम्न पनि मान्छे यतै आउँछन् ।

सबैलाई बाँच्नु छ, सबैलाई पेट पाल्नु छ, तावाको चासो सबैलाई हुन्छ ।

एकता दिवस, पुस २७ मा यसो शहरतिर निस्केको थिएँ, थापाथलीदेखि नै बडो उग्र जाम थियो । थापाथलीदेखि माइतीघर हुँदै सिंहदरबार कट्न २० देखि २५ मिनेट लाग्यो । अरू बेला दुई मिनेट लाग्ने बाटो त्यस्तो व्यस्त भएका कारण मलाई पहिला त थाहा भएन, पछि सिंहदरबार नजिक पुगेपछि पो थाहा भयो– त्यहाँ त सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमाथि उचालिएर हाँस्दै माला लगाउने, अबीर जात्रा गर्ने र सेल्फी खिच्ने दुई–तीन सय जनाको भीड रोटी सेक्दै रहेछ ।

ऋलिक भरे फेरि त्यही ठाउँको भिडियो युट्युबमा आइसकेछ । भीडको टुप्पोटुप्पो खिचेर युट्युबरले पनि सनसनीपूर्ण हेडिङ राखेर रोटी ठीकठीकै सेकेछ ।

बेलुका आमासँग फोनमा कुरो गरेँ ।

‘जाडो कतिको छ ?’ भनेर सामान्य आराम बिरामको कुरा गरिसकेपछि माघे संक्रान्तिको कुरो निस्कियो ।

‘के गर्छस् ? रोटी पकाउँछस् ?’, आमाले सोध्नुभयो ।

‘अस्ति तिहारमै कान समातेको ममी, सक्दिनँ पकाउन बरु गोडा आठ दशेक रोटी किनेर ल्याउँछु’, मैले भनेँ  ।

मुख्य कुरो तावा पनि गतिलो छैन, बेलाबेला मात्र काम आउने चिज भनेर गतिलो तावा नकिन्नुको पीडा हो– मजाले रोटी पकाउन नसक्नु । रोटी पकाउने हो भने तावा गतिलो हुनुपर्छ ।

मुलुकमा पनि त्यही हो, रोटी पकाउने तावा गतिलो चाहिन्छ । अहिले पृथ्वीनारायण शाहभन्दा अर्को गतिलो तावा कुनै हुन सक्दैन ।

रमाइलो कुरो के छ भने यो आधुनिककालमा करिब करिब १७ हजार मान्छेको हत्या गरेर नेतृत्वको शीर्ष स्थानमा पुगेका नेताहरूको हालीमुहाली छ । तिनैले करिब पाँच हजार मान्छेको रक्तपातमा बनेको विशाल नेपालका निर्मातालाई हत्यारा भनेर रोटी सेक्नुपरेको छ ।

त्यो बेला अहिलेका पश्चिमा थ्योरी थिएनन् । अहिलेको आलोचनात्मक चेत र अधिकारको राजनीति थिएन । अमेरिकामा दास प्रथा कायम थियो, माक्र्स जन्मेकै थिएनन् । ‘स्पेस’ र ‘टाइम’अनुसार त्यो बेलाका युद्ध कस्ता हुन्थे भन्ने सामान्य चेत पनि मान्छेमा देखिँदैन । तिनलाई बस्, चाहिएको तावा हो ।

एकता दिवसकै दिन राप्रपाको चियापान कार्यक्रममा पनि सामेल भएँ । निम्तो आएको भएर धेर ठूलो पनि के हुनु भन्ने पनि भयो । केही आत्मीय अग्रजहरू तथा साथीभाई भेट्ने लोभ पनि भयो ।

आमजनतामा मुलुकको अखण्डता र नेपालको सिंगो भूगोलप्रति श्रद्धा छ, पृथ्वीनारायण शाहप्रतिको सम्मान छ । त्यो उक्त चियापानमा भएको मान्छेको उपस्थितिले पनि बताइरहेको थियो । तर, त्यहाँको उपस्थिति हेर्दा राप्रपाले पृथ्वीनारायण शाहको तावामा राम्रोसँग रोटी सेक्न र भनेजस्तो भोट ल्याउन चुकिरहेको प्रष्ट देखिन्थ्यो ।

तावामा राम्रो रोटी सेक्न सक्नु वा नसक्नुमा पनि भान्सेकै दोष हुन्छ । भान्से कतै चुकिरहेको पो छ कि ? भन्ने कुरा मुख्य हुन्छ । नत्र त तावा गतिलो देखाएपछि रोटी मजाले नसेकिनु अलिक अजीव कुरै ठहर हुन्छ ।

सोसियल साइन्स वहाबाट सन् २०१२ मा प्रचारित जोह्न व्हेल्पटन भन्ने एक पादरीले सन् २०१० मा दिएको नेपालमा क्रिस्चियानिटीको विकाससम्बन्धी लेक्चरमा पृथ्वीनारायण शाहअघि काठमाडौंका शासकले क्रिस्चियन तथा विदेशीलाई गर्ने व्यवहारका बारेमा उल्लेख छ ।

मैले आमाको सीप गुमाएँ, पुर्खाको ज्ञान गुमाएँ, मलाई थकथकी लाग्यो तर आमाले त्यसरी सोच्नुभएन होला । त्यसरी नसोच्नु र दुखी नहुनु, हरेक कुराका असरका बारेमा ज्ञान नहुनु पनि जिन्दगी सुखी राख्ने मेलो हो ।

फादर ग्रुबर र डर्विल सन् १६६२ मा नेपाल (काठमाडौँ उपत्यका) आएका थिए, तिनीहरू दूरबिन लिएर आएका र राजा प्रताप मल्लले दूरबिन कहिल्यै नदेखेको र त्यसमा मोहित भएका कारण तिनलाई सँगै राखेर उनले तिनलाई नेपालमा धर्म प्रचार गर्न दिने गरेका रहेछन् ।

पछि उनीहरूले नेपाल छाडेर जान्छौँ भन्दा पनि प्रताप मल्लले जान नदिएर घर बनाएर त्यसको भाडा पनि तिनैले असुल्न पाउने गरेर यतै राखेका रहेछन् ।

यस्तो मजाको विदेशी मेजमानी थियो पृथ्वीनारायण शाहअघि ।

धर्म प्रचारक पादरीहरूको यो मेजमानी स्वाहा गरिदिने त्यही पृथ्वीनारायण शाह हो । विदेशीहरूमा विश्वास नगरेर क्यापुचिन पादरीहरूलाई खेद्ने त्यही पृथ्वीनारायण शाह हो । नाक, कान काटेको, ज्यादती गरेको भन्ने कथन त्यही मेजमानीको अपमानपूर्ण अन्त्यको रिस हो भन्ने मैले मात्र होइन, जो कोहीले भन्न सक्ने कुरा हो ।

हामीमा प्रेस र किताब छाप्ने प्रचलन निकै पछि आयो । त्यो युरोपमा पहिले नै आइसकेको भएर पृथ्वीनारायण शाहका बारेमा नकारात्मक कुरा लेखिएका किताबहरू ऊबेलै उपलब्ध भए, यो जो कोहीले बुझ्न सक्छ ।

तावा भनेको तावा नै हो, यसले रोटी मात्र डाम्ने नभएर कहिलेकाहीँ हात पनि डाम्छ । तर, मजाको कुरा, यसले आगोमा बसालेको बेला मात्र हात डाम्छ । तावा आगोमा बसालेको बेला नै पादरीहरूलाई पोलेको हो । ऐले पनि त्यही पुरानो तावाले हात पोलेको रिस निकैलाई छ । त्यस तावामा आफ्नै किसिमका रोटी तिनले अनेक प्रयत्न गरेर सेक्छन् । सबैलाई पेट भर्नु र बाँच्नु छ ।

सौभाग्य शाहले सन् १९९३ को सेप्टेम्बर–अक्टोबर अंकमा ‘गोस्पेल कम्स टु हिमालय’ भन्ने लेख लेखेका रहेछन्, जसमा प्रष्ट भनिएको छ– बाहुनहरू हतपत धर्म परिवर्तन गर्दैनन् र गरिहाले भने ती कट्टर क्रिस्चियन बन्छन् ।

क्रिस्चियन धर्म प्रचारको सबैभन्दा ठूलो निशाना भनेका आदिवासी जनजाति हुन् । आदिवासी जनजाति भन्ने शब्द त्यसबेला उस्तो चर्चामा थिएन । उक्त लेखमा साैभाग्य शाहले मतवाली शब्द प्रयोग गरेका छन् । राई, लिम्बू, तामाङ र चेपाङहरूमा क्रिस्चियन धर्म मजाले फैलिएको कुरा गरेका छन् ।

धर्म परिवर्तन सहजै नगर्ने भएकाले बाहुनलाई पनि तावा बनाएर बाहुनवादी र अनेक भनेर रोटी सेक्ने कार्य भएको प्रष्ट देखिन्छ किनभने माओवादीले उठाएको पहिचानको राजनीति छाडिसकेँ भनेर प्रचण्डले भर्खरै भनेका छन् । उनले रोटी सेकेपछि त्यो तावाको उनलाई खास काम रहेन । बाहुनवादको तावामा राजनीतिको रोटी सेक्नु प्रचण्डकर्म थियो भने धर्म प्रचारको रोटी सेक्नु क्रिस्चियन कर्म थियो ।

सन् १९९० अर्थात् वि. सं. २०४६ नै यस्तो विन्दु हो, त्यहाँबाट भान्सेले तावालाई फरक हिसाबले चलाउन थाले । ती अलिक बाठा भए र तावाको साइज र आकार हेर्न थाले । पहिला अलिक पातला तावा छान्ने भान्से अब बाक्लो पिँध भएको निकै लामो समय तातो रहने तावा हेर्न थाले ।

तावा गतिलो नभए गतिलो रोटी सेकिन्न । समयअनुसार कतिको बाक्लो तावा प्रयोग गर्ने, त्यसमा कति तेल राख्ने भन्ने कुरो भान्सेको कुरा हो । भान्से बाठो भयो भने राम्रो तावा छानेर अनेक किसिमका रोटी घुमाईघुमाई सेक्छ, पातलो तावा परेमा भने रोटी राम्रो हुँदैन ।

राम्रो रोटी सेक्न दाउन अर्थात् पिठोमा हाल्ने कुरा पनि मिलेको हुनुपर्छ । पिठोमा खाने सोडा र अनेकथरी पिठोलाई लेस्याइलो पार्ने दाउन नमिलेसम्म रोटी राम्रो फुल्दैन । चिनीको मात्रा पनि मिल्नुपर्छ । राम्रो भान्सेले यो कुरो बुझ्छ ।

म राम्रो भान्से होइन भन्ने मैले अस्ति तिहारमै भोगेको हुँ । रोटी पकाउन थालेको अनेक खण्ड उपाय लगाउँदा पनि अदुवा जस्तो आकारको रोटी पकाएको पीडा मसँग छ ।

हिजो मैले यो कुरो आमालाई सुनाएँ । आमा हाँस्नुभयो बरु माघे संक्रान्ति मान्न किनेर नै गोडा दशेक रोटी ल्याउनु ठीक भन्ने आमा–छोराको ठहर भयो । मैले आमाको सीप गुमाएँ, पुर्खाको ज्ञान गुमाएँ, मलाई थकथकी लाग्यो तर आमाले त्यसरी सोच्नुभएन होला । त्यसरी नसोच्नु र दुखी नहुनु, हरेक कुराका असरका बारेमा ज्ञान नहुनु पनि जिन्दगी सुखी राख्ने मेलो हो ।

अँ, म गिट्टी कुटेर भेला गरेको अलिकति पैसा नजिकैकी होटलवाल्नीलाई दिन्छु, उसको तावा पनि राम्रो छ, सीप पनि ठीक छ, रोटी किनेरै माघे संक्रान्ति मनाउँछु ।


अंग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएका प्रसाईंको नेपाली साहित्य र अनुवादमा रुचि छ ।